गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी छनोटका लागि दलहरूले छलफल तीव्र पारेका छन् ।
जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कास्की जिल्लाका तीन वटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी छनोट गरिसकेको छभने अन्य दलहरूले उम्मेदवारीका लागि आन्तरिक छलफललाई तीव्र बनाएका हुन् ।
एमालेका तर्फबाट कास्की क्षेत्र नं १ मा बैनबहादुर अधिकारी क्षेत्री, कास्की क्षेत्र नं २ मा कृष्ण थापा र कास्की क्षेत्र नं ३ मा दामोदर बैरागीको उम्मेदवारी हुने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
जिल्लामा अन्य राजनीतिक दलका तर्फबाट पनि उम्मेदवारी छनोटका लागि छलफललाई तीव्र बनाइएको छ । नेपाली कांग्रेसले उम्मेदवारी चयनका लागि आन्तरिक छलफललाई अघि बढाएको नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारीका लागि आन्तरिक छलफल गरिरहेको र आज दिउँसोसम्म टुङ्गो लाग्ने पार्टीका जिल्ला सचिव दीपेन्द्र पोखरेलले जानकारी दिए । जिल्लामा पार्टीका तर्फबाट उम्मेदवारीका लागि २१ जनाले आकाङ्क्षा देखाएको उनले बताए ।
नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारीका लागि कास्कीका तीन वटै क्षेत्रबाट एक जना नवयुवा र एक जना महिलासहित पाँच–पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार आज दिउँसोसम्म तीन वटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी तय हुनेछ ।
जिल्लामा अन्य राजनीतिक दलले पनि आफ्नो उम्मेदवारी तयका लागि छलफललाई तीव्र बनाएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन माघ ६ गतेका लागि निर्धारण भएका कारण दलहरूले सक्रियता बढाएका हुन् ।
कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन् भने क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेका छन् । रासस













प्रतिक्रिया