नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् ।
कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले पर्यटकीय प्रयोजनका लागि सञ्चालन गर्न लागिएको क्रुज गैँडाकोट पुलचोकबाट देवघाटसम्म सञ्चालन गर्ने तयारी गरिएको बताए ।
यही माघमा सञ्चालनमा ल्याउने तयारीस्वरुप राइनो क्रुटलाई पुनर्निर्माण गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक ढुङ्गेलले प्राविधिक परीक्षणपछि नियमित सञ्चलनको तयारी भइरहेको बताए ।
दुईवटा तला र एउटा ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको क्षमता दुई सय जना यात्रुको भए पनि एक सय ५० जनालाई सेवा दिनेगरी सञ्चालन गर्न लागिएको उनको भनाइ छ । क्रुजभित्रै रेष्टुराँको सुविधा रहने भन्दै उनले क्रुजमा मनोञ्जन हुनेगरी लाइभ म्युजिक (गीत, सङ्गीत) प्रस्तुत हुने बताए ।
राइने क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू सञ्चालन गरिने उनले बताए । क्रुज यात्राका लागि प्याकेजमा क्रुजभित्रै खाना तथा नास्ताको व्यवस्था रहने भन्दै ढुङ्गेलले टिकटमात्र काटेर क्रुज यात्रा गर्दा पनि थप शुल्क तिरेर रेष्टुराँबाट खाना तथा खाजा खान सकिने जानकारी दिए ।
होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट सञ्चालन गरी होटललाई तारे (स्टार) होटलको स्तरमा पुर्याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ ।
राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको ढुङ्गेलले जानकारी दिए । (रासस)













प्रतिक्रिया