काठमाडौं– दुईबुँदे माग राख्दै पाँच वटा स्वास्थ्य व्यवसायी संगठनका प्रतिनिधिहरूले सुरु गरेको आमरण अनसन आज पनि जारी छ ।
नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको नेतृत्वमा उनीहरू ३० पुसदेखि काठमाडौँको सिफल चौरमा आमरण अनसनमा बसिरहेका छन् ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालले गठन गरेको संयुक्त संघर्ष समितिको तर्फबाट उपाध्याय अनसनमा बसेका हुन् ।
अनसन सुरु भएको पाँच दिन बितिसक्दा पनि सरकारी पक्षबाट मागका विषयमा कुनै औपचारिक प्रतिक्रिया नआएको संयुक्त संघर्ष समितिले जनाएको छ । समितिका अनुसार, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लामो समयदेखि कानुनी, संरचनागत र प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यामा अल्झिँदै आएको छ ।
स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ जारी भएको झण्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४(२)अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको समितिको गुनासो छ ।
परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा स्वास्थ्यकर्मीको दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कार्य प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ । त्यसैगरी, विगतमा भएको सहमति अनुसार स्वास्थ्यकर्मी तथा नर्सहरूको तलब–भत्ता तत्काल लागू गर्नुपर्ने माग पनि संयुक्त संघर्ष समितिले अघि सारेको छ ।
मागहरू पूरा नभएसम्म आमरण अनसन जारी रहने चेतावनी समितिले दिएको छ । यसैबीच, नेपाल चिकित्सक संघले पनि संयुक्त संघर्ष समितिले अघि सारेका मागहरू र सुरु गरिएको आमरण अनसनप्रति ऐक्यबद्धता जनाएको छ ।













प्रतिक्रिया