मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा « Khabarhub

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा



चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे दाइको गाडी कृष्णभोग पार्टी प्यालेसको दैलोमा तैनाथ थियो । झोलाझ्याम्टाको तारतम्य मिलाउँदा सवा पाँच भइहाल्यो । त्यो बिहान हाम्रो परिवार महिन्द्राको स्कार्पियो चढेर यात्रामा निस्कियो । सहरको चहलपहल छाड्दै अघि बढ्दा मनमा उत्साह र कौतूहल दुवै मिसिएका थिए ।

पवित्र भूमि मुक्तिनाथ पुग्ने उत्कट चाहना पहिल्यै थियो । यसपालि भने आमा–बुवाको योजनामा हाम्रो साथ रह्यो । भगवान्ले नबोलाई धार्मिक यात्रा सम्पन्न हुन्न भन्ने मिथक छ, सम्भवतः त्यो संयोग यसपालि मिलेको हुनुपर्छ । काठमाडौँबाट हिँडेको केही घण्टापछि मलेखुमा खाजा खाएर हाम्रो टोली ऐना पहरा पुग्यो । त्यहाँको शान्त वातावरण र हरियालीले थकान मेटाइदियो । केही समयको विश्रामपछि हामी पोखरातर्फ लाग्यौँ ।

पोखरामा खाना खाएर यात्रा पुनः अघि बढ्यो । बाटोले हामीलाई पर्वत हुँदै बागलुङ कालिका मन्दिरसम्म पुर्‍यायो । त्यहाँ पुग्दा मनमा अजीव शान्ति र श्रद्धाको अनुभूति भयो, मानौँ कुनै अदृश्य शक्तिले ऊर्जा भरिदिएको छ । कालिकाको रमणीय वातावरण साँच्चै सम्मोहक थियो । त्यसपछि कुश्माको लामो पुल अवलोकन गर्दा त्यो साहसिक संरचनाले मन जित्यो ।

यात्राकै क्रममा म्याग्दीको तातोपानी कुण्ड र रुप्से झरना पुग्दा प्रकृतिको अनुपम सौन्दर्यले सबैलाई मन्त्रमुग्ध बनायो । साना नानीदेखि वृद्धवृद्धासम्मले ती दृश्यलाई मोबाइलमा कैद गरे । धुलाम्मे बाटो छिचोल्दै हाम्रो टोली अन्ततः जोमसोम पुग्यो, जहाँ थकाली आतिथ्यले स्वागत गर्‍यो । जोमसोमको बजारमा सरर हावा चल्दाको बेग्लै रौनकता थियो । भोलिपल्ट हामी कागबेनी लाग्यौँ । त्यहाँको चिसो सिरेटोले स्वागत गर्‍यो । कालीगण्डकी किनारमा पितृ सम्झेर तर्पण गर्दा एउटा कर्तव्य पूरा गरेको सन्तोष जाग्यो ।

त्यसपछि हाम्रो गन्तव्य थियो– मुक्तिनाथ मन्दिर । बाटोमा सिमसिम पानीसँगै परेको हिउँले यात्रालाई झन् रोमाञ्चक बनायो । चारैतिर सेताम्मे हिमाल र झर्दै गरेको हिउँले बालबालिका मात्र होइन, हामीलाई पनि रोमान्चित बनायो । दुई नानीलाई घोडामा पठाएर हामी भने पैदल सिँढी चढ्न थाल्यौँ । अक्सिजनको कमी भए पनि श्रद्धा र उत्साहले त्यो कठिनाइ भुलाइदियो ।

मुक्तिनाथ क्षेत्रमा भारतीय धर्मावलम्बीको ठूलो उपस्थिति देखियो । कतिपयले चिसोमा पनि साष्टाङ्ग दण्डवत् गरेको दृश्यले आस्था कति बलियो हुन्छ भन्ने देखायो । १०८ धारामा स्नान गरेपछि शरीर मात्र होइन, मन पनि प्रफुल्लित भयो । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको साझा धाम मात्र नभई अनुपम प्राकृतिक सौन्दर्यले भरिएको पर्यटकीय स्थल पनि रहेछ ।

त्यहाँबाट फर्कँदै गर्दा ओरालो बाटोका दृश्य झन् मनमोहक लागे । फेरि जोमसोम झरेर खाना खाएपछि हामी पोखरा फर्कियौँ । बेलुका पोखरा पुगेर आराम गर्दा शरीरको सम्पूर्ण थकान मेटिएको अनुभव भयो । अर्को दिन बिहान फेवाताल, तालबाराही, विन्ध्यवासिनी र पुम्दीकोटको भ्रमण गरियो । त्यसपछि मनकामना मन्दिर पुगियो । त्यहाँको शान्त वातावरण र सिरसिरे हावाले थकित शरीरलाई पुनः ताजगी प्रदान गर्‍यो ।

शरीर सञ्चो नभए पनि यात्रामा हौसला दिने बुवा–आमा र नानीहरूको सुसारेको भूमिका निर्वाह गर्ने काका–काकी हाम्रो यात्राका मूल खम्बा हुन् । उहाँहरूको उत्साहले नै यो यात्रा सफल भयो । गोरखा दरबारको अवलोकनपछि हाम्रो टोली काठमाडौँ फर्कियो । यो यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र थिएन, परिवारसँग बिताएका अमूल्य क्षण, प्रकृतिको निकटता र आस्थाको एउटा अविस्मरणीय अनुभव बन्यो ।

मुक्तिदाता मुक्तिनाथ
गण्डकी माहात्म्यमा ब्रह्माजी मुक्ति क्षेत्रमा भगवान् विष्णुको नजिक बसेको उल्लेख छ । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल रहेछ । मन्दिरको भित्री भागमा बौद्धमार्गी पुजारी र सँगै ब्राह्मण पुजारी पनि देखिन्छन् । पूजा भने वैदिक सनातन धर्मअनुसार नै हुने गरेको पाइयो ।

हिन्दू र बौद्ध धर्मावलम्बी एक पटक मुक्तिनाथ पुगेमा जीवनबाट मुक्ति पाइन्छ भन्ने विश्वासका साथ संसारभरबाट यहाँ आउँछन् । मन्दिर नजिकै बौद्ध गुरु रिम्पोछेको विशाल मूर्ति छ । त्यसको वरिपरि बुद्ध र विष्णुस्वरूप मिश्रित स–साना मूर्तिहरू छन् । ती मूर्तिमा कतिपयले आ–आफ्नो नाम नै लेखाएर टाँसेका छन् ।

भगवान् विष्णुलाई हिन्दू धर्मावलम्बीले मुक्तिदाताका रूपमा पुज्छन् । विष्णुको अत्यन्त प्रिय क्षेत्र भएकाले यसलाई मुक्तिक्षेत्र भनिएको र यहाँ गरिने कर्मद्वारा पितृले मुक्ति पाउँछन् भन्ने अवधारणा छ । वैष्णव र शिवभक्त दुवैको यहाँ उत्तिकै आस्था देखियो । त्यहाँका गुरुका अनुसार मुक्तिनाथको प्रतिमा लक्षण र ‘षडाक्षरी लोकेश्वर’ को प्रतिमा लक्षणमा समानता हुनाले पनि हिन्दू र बौद्ध दुवैको तादात्म्य स्थापित भएको हो ।

मुक्तिनाथलाई हिन्दूहरू भगवान् विष्णु मान्छन् भने बौद्धमार्गीहरू ‘आर्यावलोकितेश्वर’ भन्छन् । नाम र रूप अलग भए पनि जगतको पालन र जीवको मुक्तिको दार्शनिक चिन्तन एउटै भएकाले यो सम्बन्ध अझ बलियो भएको गुरु रिम्पोछेका शिष्यले बताए । यहाँको पुजारी परम्परा, वास्तुशैली र विभिन्न वर्ग, जात र रङका तीर्थयात्रीबीचको आपसी सहिष्णुता उदाहरणीय छ । अनेक संस्कृति, भेषभूषा र भाषाका श्रद्धालु एकै ठाउँमा भेटिनु नै मुक्तिनाथको साझा महत्त्वको प्रमाण हो ।

पुजारीका अनुसार यहाँ विसं १९६१ देखि बाहुन पुजारी राख्न थालिएको हो । रणबहादुर शाहको मृत्युको एक महिना पनि नपुग्दै विसं १८६३ मा महारानी सुवर्णप्रभाले यहाँ आउने तीर्थालुको भोजनका लागि धर्मशाला बनाएर २ हजार ५ सय ३० मुरी माटोको गुठी राखिदिएकी थिइन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : १९ बजे

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा