विश्वकपअघि इरानी टोली टर्की प्रस्थान « Khabarhub

विश्वकपअघि इरानी टोली टर्की प्रस्थान


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेहरान- सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र बनाउँदै इरानको राष्ट्रिय फुटबल टोली सोमबार टर्की प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिका जानुअघि मैत्रीपूर्ण खेल खेल्नुका साथै अमेरिकी भिसा प्रक्रियासमेत पूरा गर्ने उद्देश्यले टोली अन्टालिया पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी समाचार संस्था तस्निमका अनुसार राष्ट्रिय टोली सोमबार बिहान टर्कीको अन्टालियातर्फ प्रस्थान गरेको हो ।

टोलीमा प्रशिक्षक समूहसहित घरेलु लिगमा खेलिरहेका २२ खेलाडी समावेश छन् । विश्वकपअघि अन्तिम तयारीलाई व्यवस्थित बनाउने योजनाअनुसार टोलीले टर्कीमा प्रशिक्षण र मैत्रीपूर्ण खेल दुवै कार्यक्रम सञ्चालन गर्नेछ । मुख्य प्रशिक्षक अमिर घालेनोईले शनिबार टोली टर्कीमा रहँदा अमेरिकी भिसाका लागि आवश्यक प्रक्रिया पनि पूरा गरिने जानकारी दिएका थिए ।

इरान र अमेरिकाबीचको जटिल राजनीतिक सम्बन्धका कारण भिसा प्रक्रिया टोलीका लागि विशेष चासोको विषय बनेको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ विश्वकपमा इरानको सहभागिता दुई देशबीचको संवेदनशील राजनीतिक परिस्थितिबीच हुँदैछ । फेब्रुअरी २८ बाट सुरु भएको ४० दिन लामो युद्धपछि इरान र अमेरिकाबीच हाल नाजुक युद्धविराम कायम छ ।

इस्लामिक क्रान्तिपछि अमेरिकी दूतावासमा भएको बन्धक सङ्कटका कारण अमेरिकाले सन् १९८० मा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ, जसको प्रभाव खेलकुद गतिविधिमा समेत देखिने गरेको छ । इरानले टर्कीको अन्टालियामा कम्तीमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।

टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल व्यवस्थापन गर्ने कम्पनीका प्रमुख इरानी–क्यानेडियन साम मेहदिजादेहका अनुसार इरानले मे २९ मा गाम्बियाविरुद्ध खेल्ने खेल निश्चित भइसकेको छ ।

अर्को मैत्रीपूर्ण खेलबारे भने छलफल जारी रहेको बताइएको छ । इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले बिहीबारसम्म खेलाडीहरूको अमेरिकी भिसा जारी नभएको जानकारी दिएका थिए । उन अनुसार भिसा प्रक्रियाअन्तर्गत खेलाडीहरूले टर्कीमा औँठाछाप दिनुपर्ने व्यवस्था गरिएको छ । तर टोलीले अन्टालियाबाट अङ्कारासम्म करिब ३८० किलोमिटरभन्दा बढी यात्रा गर्न नपरोस् भन्ने चाहना राखिएको ताजले उल्लेख गरे ।

त्यसैले प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए । यसैबीच अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले शनिबार टर्कीमा इरानी फुटबल महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई उनले ‘उत्कृष्ट र रचनात्मक’ भएको प्रतिक्रिया दिए । इरानी फुटबल महासङ्घका अध्यक्ष ताजले पनि बैठक सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको बताए ।

यद्यपि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन । विश्वकपका लागि अमेरिका पुगेपछि इरानी टोलीले एरिजोनाको टक्सनमा आफ्नो आधार शिविर स्थापना गर्नेछ । समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ ।

त्यसपछि इरानले सोही सहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सिएटलमा इजिप्टविरुद्ध खेल्नेछ । विश्वकपअघि भइरहेको टर्की भ्रमणलाई इरानी टोलीले खेल तयारी मात्र नभई, राजनीतिक तथा प्रशासनिक चुनौती व्यवस्थापनसँग पनि जोडेर हेरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ५ : ३७ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय