२४ दिनका शिशु न्याय माग्दै माइतीघरमा « Khabarhub

२४ दिनका शिशु न्याय माग्दै माइतीघरमा



काठमाडौं- न्याय माग्दै २४ दिनका नवजात शिशु माइतीघर मण्डलामा छन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ । तर, उपचारका क्रममा आमाको मृत्यु भएपछि २४ दिने शिशु न्याय माग्नुपर्ने अवस्थामा पुगेका हुन् । नवजातलाई साथ लिएर उनका पिता सुजन विक पनि माइतीघर मण्डलामै अनसन बसिरहेका छन् ।

घटना चितवनको रत्ननगरस्थित एक अस्पतालमा भएको घटनाबाट सुरु भएको हो । गत वैशाख १० गते रत्ननगरको रत्ननगर बकुलहर हस्पिटलमा उपचारका क्रममा २७ वर्षीया सुत्केरी अस्मिता तामाङको मृत्यु भयो । अस्पतालको लापरवाहीका कारण तामाङको मृत्यु भएको सुजनको भनाइ छ ।

गर्भ रहेदेखि नै अस्मितालाई सोही अस्पतालमा नै निरन्तर जाँच गराउँदै आएकी थिइन् । परिवारका अनुसार डाक्टरले वैशाख २८ गतेको डेट दिएका थिए । तर वैशाख ८ गते फलोअपमा जाँदा डाक्टरले बच्चा निकाल्नुपर्ने कुरा गरे । अस्मितालाई त्यही दिन अस्पतालमा दिन भर्ना गरेर राखियो ।

सुजन भन्छन्, ‘मेरो श्रीमतीलाई अरु कुनै रोग थिएन । अप्रेसन गरेर बच्चा जन्माएको २४ घण्टासम्म ठिकै थिइन् । पछि सास फेर्न गाह्रो भयो । हामीले नर्स र डाक्टर गुहार्‍यौँ । तर उनीहरुले सबै सामान्य हो भनेर बेवास्ता गरे । हेर्दाहेर्दै श्रीमतीले प्राण त्यागिन् ।

सुत्केरी श्रीमती बचाउन आफ्नो कोसिस असफल भएकामा सुजनलाई निकै पछुतो लागेको छ । २०६९ सालमा अन्तरजातीय प्रेम विवाह गरेका सुजनलाई श्रीमती बिनाको संसार शून्य लागेको छ । त्यसमाथि ११ वर्षको जेठो छोरो र दोस्रो नवजात शिशुले आमाको काख नपाएको सम्झिँदा सुजनलाई झनै पीडा हुन्छ ।

माइतीघरमा स्लाइनपानी चढाएर अनसन बसिरहेका सुजन भन्छन्, ‘सानो बच्चाले जन्मेर एक पटक पनि आमाको दूध चुस्न पाएन । अप्रेसन गरेर बच्चा निकालेर हामीलाई दिए । आमालाई आईसीयूभित्रै राखियो । भोलिपल्ट मात्रै क्याबिनमा सारियो । दिनभर त ठिकै थिइन् । तर बेलुका ७ बजेपछि उनलाई गाह्रो हुँदै गयो । पहिले सास फेर्न गाह्रो भयो । पछि रगत नै वान्ता गरिन् । बिरामी मर्नेजस्तो भयो, आईसीयूमा लैजान भन्यौँ । तर, डाक्टरले खाली छैन भने । रिफर गर्दिनु भन्दा पनि नआत्तिनू भने । नर्सहरुले झुलाएर राखिदिए ।’

सुत्केरीले रगत नै वान्ता गर्दा पनि नर्सहरुले सामान्य भनेर आलटाल गर्नु अपराध भएको सुजनको आरोप छ । ‘इमर्जेन्सी भनेर बोलाएको डाक्टर ३५ मिनेटपछि बल्ल आइपुगे । अस्मितालाई बचाउन सकिन्थ्यो । तर अस्पतालले ख्यालठट्टा गर्दा ज्यानै गयो । अहिलेको जमानामा सुत्केरीको मृत्यु हुनु भनेको सामान्य होइन । त्यसमाथि चितवनजस्तो अस्पतालै अस्पताल भएको ठाउँमा पनि श्रीमतीलाई बचाउन सकिनँ,’ उनले भने ।

एनआईसीयुबाट बाहिर क्याबिनमा सरेपछि दिनभरि ठिकै भएपनि बेलुकातिर अप्रेसन गरेको घाउँ समाउँदै गाह्रो भयो भन्दै अस्मिताले खोक्न थालेको सुजनकी आमा पुनम विकले सुनाइन् । ‘तुरुन्तै नर्स बोलाए । नर्सले प्रेसर नापिन् । त्यत्तिकैमा अस्मिताले रगतैरगत बान्ता गरिन् । तर, नर्सले केही हुँदैन, अप्रेसन गर्दा घाँटीबाट पाइप हालेको थियो भनिन् । सुई लगाएर स्लाइन पनि दिइन् । तर समस्या रोकिएन । अप्रेसन गर्ने डाक्टर बोलाउन भने । तर, डाक्टर अस्पतालमा हुनुहुन्न भन्ने कुरा आयो । राउण्डिङको डाक्टर बोलाउन भने,’ उनले भनिन् ।

त्यसपछि डाक्टर बोलाउन आफ्नै अगाडि नर्सले फोन गरेको पुनमले स्मरण गरिन् । ‘नर्सले हाम्रैअगाडि फोन गरिन् । डाक्टरले इमर्जेन्सी हो कि नर्मल हो भनेर सोधे । नर्सले इमर्जेन्सी भनिन् । इमर्जेन्सी भनिसकेपछि पनि डाक्टर ३५ मिनेटपछि आइपुगे । त्यो पनि हिरो बनेर । अस्पतालमा डाक्टर हिरो बनेर आउनुपर्छ ? मान्छे जीवन र मरणको अवस्थामा पुग्यो । डाक्टर हिरो बन्न समय खर्चिने हो ? डाक्टरलाई सबैले भगवानको दर्जा दिएका छन् । त्यो डाक्टर पाँचमिनेटमा आउनुपर्दैन ?’ उनी डाक्टरलाई प्रश्न गर्छिन् ।

आमा पुनमले मोटो मान्छेको अप्रेसन गर्दा फोक्सोमा रगत जाने, हृदयघात हुने सम्भावना हुनेबारे डाक्टरले पछि मात्रै जानकारी दिएको बताइन् । ‘डाक्टरले त्यो रिस्कको बारेमा पहिले किन जानकारी गराएनन् ? अस्मिता गर्भवती हुदाँ १०९ केजी थिइन् । त्यत्रो मोटो मान्छेको रिस्क लिएर अप्रेसन गरेपछि एउटा आइसीयु राख्दिनुपर्दैन ? हामीले माग गर्दा समेत छैन भनियो । आफूले हेरेको सुत्केरी के भयो कसो भयो ? डाक्टर आफै राउण्डमा आउनुपर्छ ।’ उनले भनिन् ।

अनसनमा बसेको छौटौं दिन बित्दासमेत सरकारका तर्फबाट कुनै पहल नभएकोमा सुजनलाई चिन्ताले पिरोलेको छ । न्याय माग्दै उनको परिवार वडादेखि नगरपालिका पुगे । तर, कसैले पनि उनीहरुको उजुरी लिन मानेनन् । आफूहरुलाई रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले पनि कुनै सहयोग नगरेको सुजनको आरोप छ । त्यसपछि अस्मिताको परिवार भरतपुरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी गर्न पुगे । त्यहाँबाट पनि केही सहयोग हात लागेन । यसबारे आवाज उठाउन खोज्दा आफूहरुलाई निरुत्साहित पारिएको सुजनको आरोप छ ।

कतैबाट केही नहुने देखेपछि शिशु बोकेर काठमाडौं आएको सुजन सुनाउँछन् । श्रीमती गुमाएको पीडामाथि सुजनलाई अनसनले झनै गल्दै लगेको छ । राम्रोसँग बस्न पनि नसकेर उनी भुइँमा लम्पसार परेर सुतेका छन् । उनको छेउमै एउटा सानो टेन्टमा शिशुलाई सुताइएको छ ।

बोतलको दूध खाएर सडकबीच टेन्टमा सुतिरहेको शिशु देखाउदै सुजनले भने, ‘भोलि ठूलो भएर आमाका बारेमा सोध्यो भने मैले यसलाई के जवाफ दिनु ? हेलचेक्र्याइँका कारण आमा मरेको थाहा पायो भने मलाई माफ गर्ला ? रगतै वान्ता गर्दा किन अर्को अस्पताल लैजानुभएन भनेर सोध्ला । मैले के जवाफ दिउँला ? डरैडरले कमजोर भएको छु । लाख कोसिस गरेपनि मैले आमाको काख दिन सक्दिनँ ।’

टेन्टमा नातिको डाइपर फेर्दै गरेकी पुनमले नक्कली डाक्टरको कारणले बुहारी गुमाउनु परेको बताइन् । पुनमले रत्ननगर वकुलर अस्पतालका डाक्टर पढेर नभइ सर्टिफिकेट किनेर डाक्टर बनेको आरोप लगाएकी छिन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘बकुलहर अस्पतालका मान्छेको छानबिन होस् । डाक्टर, नर्सको छानबिन होस् । उनीहरुले नक्कली सर्टिफिकेट लिएका छन् । लाइसेन्स किनेर काम गरिरहेका छन् ।’

‘अस्पताल खराब भन्न खोजेको होइन । तर, डाक्टरको लापरवाहीको कारण नवजातले आमा गुमायो । छोरोले श्रीमती गुमायो । हामीले बुहारी गुमायौँ । अस्पताल पुगेका सबै बिरामी फर्किएर आउछन् भन्ने होइन । तर सुत्करी हुन गएकी हो । कुनैपनि रोग नभएकी सुत्केरीको कसरी मृत्यु भयो ?’ उनी प्रश्न गर्छिन् ।

तीन सन्तानमध्ये जेठो छोराकी श्रीमतीको अकाल मृत्युले पुनमका आँखा पनि निदाएका छैनन् । बुहारीको मृत्युले छोरा कोमामा पुगेको भन्दै उनी भक्कानिइन् । ‘लब गरेर बिहे गरेको थियो । दुई बच्चा छोडेर गई । मेरो छोरो सम्हालिएला कि नसम्हालिएला भन्ने चिन्ताले निन्द्रा परेको छैन । नवजात शिशुले आमाको दूधसम्म खान पाएन । तर सरकारले किन वेवास्ता गरिरहेको छ ? स्लाइनपानी चढाएर धर्ना बस्नुपर्ने ? अनसनमै छोरालाई केही भयो भने के हुन्छ ?’ उनले भनिन् ।

सुजनको भाइले अनसनमै बसिरहेका बेला अपरचित नम्बरबाट फोनमा धम्की आएको सुनाउँछन् । राति १२ बजे अपरिचित नम्बरबाट तिमीहरुको सडकमै बास होला भनेर धम्काएको उनले बताए ।

दुई बच्चा पढाउने, निशुल्क उपचार गर्ने र घरको एक सदस्यलाई २०/२५ हजारको जागिरको व्यवस्था गर्ने प्रलोभन देखाएर सहमतिमा ल्याएको उनीहरुको दाबी छ । पुनमका अनुसार जेठाजुले अस्पतालको फाइल मागेर लिएर गएको र आफुहरुसँग छलफल नगरी उनीसँग मात्रै सहमति गरेका थिए । ‘कुरै नबुझी बुहारीको चितवनमा अत्येष्टि गरियो । गल्ती गरियो । गल्ती नभएको भए यो क्षतिपूर्ति भरणपोषण किन गर्थे ?’ विक परिवारको प्रश्न छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ५ : ३७ बजे

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे