काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै गएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो एक साताको निगरानी बुलेटिनअनुसार देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ८१५ बिरामी दर्ता भएका छन् ।
महाशाखाका अनुसार उक्त अवधिमा तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी सबैभन्दा बढी भेटिएका छन् । एक सातामै ८६१ जना झाडापखालाबाट प्रभावित भएका छन् । त्यसपछि इन्फ्लुएन्जा जस्तो लक्षण देखिने रोग (इन्फ्लुएन्जा लाइक इलनेस) का ४४२ जना तथा गम्भीर श्वासप्रश्वास संक्रमण (सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन) का ४१३ जना बिरामी रिपोर्ट भएका छन् ।
बुलेटिनअनुसार डेंगुका ५५, र्याससहितको ज्वरोका १६, स्क्रब टाइफसका ११, इन्फ्लुएन्जाका ७, पीलियासहितको ज्वरोका ६ तथा कालाजारका ४ बिरामी फेला परेका छन् । झाडापखालाका बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४६५ जना दर्ता भएका छन् । लुम्बिनीमा १२७, मधेशमा ७३, सुदूरपश्चिममा ६८, गण्डकीमा ५९, कोशीमा ४२ र कर्णालीमा २७ जना बिरामी भेटिएका छन् ।
त्यस्तै, इन्फ्लुएन्जा जस्तो लक्षण भएका बिरामीमध्ये सुदूरपश्चिम प्रदेशमा २२२ जना फेला परेका छन्, जुन सबैभन्दा धेरै हो । बागमतीमा ११७, कोशीमा २८, लुम्बिनीमा २५, कर्णालीमा २४, गण्डकीमा १४ र मधेशमा १२ जना बिरामी रिपोर्ट भएका छन् । डेंगु संक्रमण पनि निरन्तर देखिइरहेको छ । साताभरि ५५ डेंगु संक्रमित भेटिएकामध्ये कोशी प्रदेशमा १७, लुम्बिनीमा १५, बागमतीमा १०, गण्डकीमा ६, मधेशमा ४ र सुदूरपश्चिममा ३ जना रहेका छन् । कर्णाली प्रदेशमा भने डेंगुको कुनै बिरामी रिपोर्ट भएको छैन ।
महाशाखाको तथ्यांकले वर्षायाम सुरु भएसँगै पानीजन्य तथा सरुवा रोगको जोखिम बढिरहेको संकेत गरेको छ। विशेषगरी झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण र डेंगुका घटना निरन्तर देखिएकाले सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र लामखुट्टेको नियन्त्रणमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
महाशाखाले कुनै पनि असामान्य जनस्वास्थ्य घटना, एकैपटक धेरै व्यक्ति बिरामी परेको अवस्था वा पशुपन्छीमा अस्वाभाविक रोग तथा मृत्यु देखिएमा निःशुल्क हेल्लो स्वास्थ्य १११५ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।












प्रतिक्रिया