पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा « Khabarhub

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा



काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला सरकारमा छ । जेन–जी आन्दोलनपछि नयाँले मात्रै देश बनाउनसक्ने भन्दै पुरानालाई पाखा लगाएर बहुमतसहित रास्वपा सरकारमा पुग्यो ।

पुरानालाई पन्छाउने नारा लिएर सत्तामा पुगेका रास्वपाका धेरै नेता तथा कार्यकर्ताहरु पुरानै दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतबाटै खारिएका अनुहार हुन् । अझ भनौँ, नयाँको आवरणमा संसद् छिरेपनि रास्वपाका कतिपय नेताको राजनीतिक स्कूलिङ पुराना दलबाटै भएको देखिन्छ ।

के पुरानालाई असक्षम भन्दैमा नयाँ दल सक्षम स्थापित हुने हो ? वा ती पुराना कुनै नेतामा देश बनाउने भावना थिएन ? उनीहरू साँच्चै देशलाई धराशायी बनाउनकै लागि राजनीतिमा आएका थिए ? देशका लागि उनीहरूको कुनै योगदान छैन ? रास्वपा सांसद तथा कार्यकर्ताले दोहोर्‍याइरहेको ‘३५ वर्षे बेथिति अब सुल्झाउनेछौँ’ भन्ने अभिव्यक्तिले माथि उल्लेखित प्रश्न उब्जाइरहेको छ ।

सांसद समीक्षा बास्कोटा 

२७ जेठ बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दलको नेता तथा सांसद भीष्मराज आङ्देम्बे मन्तव्यका लागि रोष्टममा उभिए । सीमा विवाद लगायत राष्ट्रिय सवालमा कडा रुपमा प्रस्तुत भएका उनले करिब ४० मिनेट समय लिए ।

विशेषगरी उनले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई राष्ट्रिय मुद्दामा गम्भीर हुन खबरदारी गरे । सो क्रममा कांग्रेस सांसद आङ्देम्बेले प्रयोग गरेका केही शब्दलाई लिएर रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति गरिन् ।

संसद्मा बोल्दै गर्दा सभाको मर्यादामा आँच आउने शब्दावली कोही सांसदले प्रयोग गरेमा प्रतिनिधि सभा नियमावलीको नियम २१ (घ) अन्तर्गत नियमापत्ति गर्न सकिने व्यवस्था छ । 

सोही नियममा टेक्दै सत्तापक्षीय सांसद बास्कोटाले भनिन्, ‘हामी यहाँ मुर्दा लास बन्न आएका होइनौँ, न त मुर्दा शान्ति रोज्न आएका हौँ । हामी कुन विषय बोल्ने र कुन नबोल्ने भन्नेमा सचेत छौँ र जिम्मेवार छौँ,’ उनले भनिन् ।

सांसद बास्कोटाको आपत्ति यतिमै सीमित रहेन । उनले आफूहरू सदनको चीरहरण भएको हेर्न नभई ३५ वर्षदेखि बेथितिका बोझ बोकेर नागरिकमाथि भएको चीरहरण मेटाउन आएको भन्दै २०५५ यताका नेता कसैले थिति कायम गर्न नसकेको दोहोर्‍याइन् ।

२५ चैतमा पनि उनले सदनमा आफ्नो कुरा राख्दै ३५ वर्षदेखि सबै नेताले देशलाई बेथितिमा लगेको बताएकी थिइन् । बैठकमा विपक्षी सांसदहरूको अनुपस्थितलाई लिएर उनले लोकतन्त्रमाथि प्रहार भएको दाबी गरेकी थिइन् । 

‘विगत ३५ वर्षदेखि यो देशमा लोकतन्त्रमाथि निरन्तर प्रहार हुँदै आएको छ । लोकतन्त्रलाई सिद्ध्याउन राज्यका संस्थालाई कमजोर बनाए पुग्छ । आज अग्रभागमा देखिएका खाली कुर्सीहरू देख्दा यो सम्मानित सदन र लोकतन्त्रमाथि नै प्रहार हुन लागेको जस्तो भान भइरहेको छ ।’ 

२१ फागुनको निर्वाचनमा सांसद बास्कोटालाई रास्वपाले समानुपातिक प्रणालीबाट सांसद चुनेको हो । तर, उनको राजनैतिक यात्रा भने २०६९ सालदेखिको हो  । वैकल्पिक राजनीतिको रुपमा उदाएको विवेकशील साझा अभियानबाट उनले समाजसेवासँगै राजनीति सुरु गरेकी थिइन् । अभियान हुँदै पार्टीका रुपमा उदाएको उक्त संस्थामा उनी २०७४ सालमा प्रमुख नेतृत्व तहमा पुगिन् । 

पार्टी अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरेपछि आन्तरिक संकटका बेला उनले नेतृत्व सम्हालेकी थिइन् । विभिन्न धारमा विभाजित कार्यकर्तालाई एक ठाउँमा ल्याउँदै उनी नेपालका राजनीतिक दलहरूमा अध्यक्ष हुने पहिलो महिला नेतृ समेत बनिन् । उनले बाग्मती प्रदेशसभा सदस्यदेखि काठमाडौँ महानगरपालिका प्रमुखसम्ममा प्रतिस्पर्धा गरे पनि उनी पराजित बनिन् ।

अमेरिकाको सेन्ट जोन्स युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेर स्वदेश फर्केकी उनको राजनैतिक पृष्ठभूमि यतिमै सीमित छैन । पारिवारिक पृष्ठभूमिका कारण नेपाली कांग्रेसको सानिध्यमा हुर्केकी बास्कोटा पारिवारिक रुपमा दोस्रो पुस्ताकी राजनीतिज्ञ हुन् । उनका बुबा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा हुन् । उनी २०३६ सालदेखि लामो समयसम्म नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय थिए । यसबाहेक बास्कोटा  सहकारी आन्दोलनका अग्रणी नेता मानिन्छन् । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले 

विश्व प्रतिष्ठित हावर्ड युनिभर्सिटी, अष्ट्रेलियन नेसनल युनिभर्सिटी, बेलायतको लण्डन स्कूल अफ इकोनमिक्सबाट शिक्षा हासिल गरेका अर्थमन्त्री वाग्ले २०४६ देखि कांग्रेसमा जोडिएका थिए ।

विश्व बैंकको बरिष्ठ अर्थशास्त्री समेत रहेका वाग्ले  काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस) का अध्यक्ष समेत बने । राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) विभिन्न अन्तर्राष्ट्रिय स्तरका संस्थासहित राष्ट्रिय योजना आयोगसम्मको अनुभव उनले कांग्रेसमै सक्रिय हुँदा हासिल गरे ।

तीन दशक बढी समय कांग्रेसमा खर्चिएका उनलाई २०७९ को निर्वाचनमा तत्कालीन महामन्त्री गगनकुमार थापाले आफू मधेस झरेर आफ्नै कार्यक्षेत्र काठमाडौँ–४ मा प्रतिनिधि सभा सांसदका उम्मेदवार बनाउन खोजेका थिए । तर, तत्कालीन सभापति शेरबहादुर देउवाले थापाको प्रस्ताव मानेनन् ।

त्यसलगत्तै २०८० मा सरकारले प्रतिनिधि सभा सदस्यको रिक्त रहेका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने भयो । कांग्रेसका तर्फबाट तनहुँ–१ मा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्र रिक्त थियो । जीवनको उर्जाशील समय खर्चिएको पार्टीले विश्वास नगरेपछि असन्तुष्ट रहेका वाग्ले रास्वपाबाट उक्त क्षेत्रमा चुनाव लड्ने भए । उनी अत्याधिक मतसहित सोही क्षेत्रबाट २०८० र २०८२ फाल्गुन २१ गरी दुईपटकसम्म निर्वाचित पनि बने । 

अहिले अर्थमन्त्री बनेका उनै वाग्लेले पुराना दल र नेताको उछितो काढिरहेका छन् । ३१ जेठमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले ‘एक खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबीसहितको मुद्दा न्यायिक प्रक्रियामा छ । हामीले अहिले अर्थतन्त्र र प्रशासनमा देखिएका तमाम गडबडी सफा गर्ने अभियान (क्लिन अप दी मेस) सुरु गरेका छौँ,’ उनले भने ‘विगत १५ वर्षदेखि राज्यका विभिन्न अङ्ग स्वार्थ समूहको प्रभावमा छ । सरकार त्यसको अन्त्य गर्न सक्रिय रुपमा लागेको छ,’ उनले भने । 

सांसद लिमा अधिकारी 

सांसद बास्कोटा र वाग्लेलेजस्तै वैकल्पिक राजनीतिमा उदाएकी अधिकारीले पनि पुराना नेतृत्वलाई खराब नै ठहर्‍याइन् । २७ जेठमा राजस्व र व्यय सम्बन्धमा बोल्दै उनले भनिन्, ‘दशकौँदेखिको परम्परागत शैली र यथास्थितिवादको जन्जिरमा जगडिएको हाम्रो अर्थतन्त्रलाई मुक्त गर्ने, ऐतिहासिक र साहसिक प्रस्तानविन्दुको रूपमा यो बजेट आएको छ । अर्थतन्त्रको समग्र समस्या समाधान गर्दै गहिरो सर्जिकल अप्रेसनको रूपमा बजेट आएको छ,’ उनले भनिन् ।

हुन त पुराना नेता र नेतृत्वलाई दोषी देख्ने सांसद लिमा राजनीति सिक्दै गरेकी नयाँ सिकारु भने होइनन् । दशकौंदेखि परम्परागत शैलीको राजनीति गरिरहेका दिग्गजहरूकै चेत, संस्कार र अनुभवको बलियो प्रभाव उनीमाथि छ ।

तत्कालीन नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी हुन् । सोहीकारण उनले बाल्यकालदेखि नै राजनीतिको संघर्ष र कम्युनिस्ट आन्दोलनको विरासत नजिकबाट नियाल्न पाइन् । 

बुबा र ठूलोबुबा मनमोहन अधिकारीको राजनीतिक यात्राबाट प्रेरित हुँदै हुर्किएकी लिमाले राजनीतिका आधारभूत मूल्य, निष्ठा र जनउत्तरदायित्वका पाठ त्यही परिवेशबाट सिकेको बताउँदै आएकी छन् । उनले आफ्नो राजनीतिक चेतनाको जग परिवारकै संघर्ष, त्याग र आदर्शले निर्माण गरेको उल्लेख गर्ने गरेकी छन् । 

‘अहिलेका कम्युनिस्ट नेता कमाउने मोहमा जनताप्रति उत्तरदायी बनेनन् । मैले बाल्यकालमा देखेको निष्ठाको त्यो राजनीति र आजको नेतृत्वबीच धेरै फरक छ,’ उनले खबरहबसँगको कुराकानीमा भनेकी छिन् । सो समयमा उनले तत्कालीन इमानदारी, जनउत्तरदायित्व र निष्ठाको विरासतलाई भने सधैँ जोगाइराख्ने उनले प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ

ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ पनि सोही अभिव्यक्तिका कारण विवादमा छन् । पूर्व मन्त्री बनेका शरदसिंह भण्डारीका ज्वाइँ समेत रहेका उनलाई नागरिकले सोही नातासँग जोडेर टिप्पणी गरिरहेका छन् । 

‘बीस पटक मन्त्री भएर रेकर्ड कायम गरेका शरतसिंह भण्डारीका ज्वाइँ विराज भक्त श्रेष्ठ वर्तमान मन्त्री, रास्वपा नेता विराज अहिले तेस्रोपटक सांसद छन् । अहिले नयाँ बर्को ओडेर फुई लगाइए पनि, पैँतीस वर्ष देश लुटेर खाने पुराना मुख यिनै हुन्,’ अमृत सागर सामाजिक सञ्जालमा लेख्छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ६ : ०३ बजे

एमालेको ‘मिसन पार्टी जागरण २०८३’ देशभर सुरु

काठमाडौं– नेकपा (एमाले) लाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको

बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक, सामाजिक तथा मानवीय विकासमा

‘युद्ध सुरु भएयता मस्कोमाथि युक्रेनको सबैभन्दा शक्तिशाली हमला’

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा गरिएको हालैको आक्रमण

सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैन : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम