काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग बन्द भएपछि हजारौँको संख्यामा कामदार र किसान बेरोजगार बन्ने स्थितिमा पुगेका छन् ।
टि बोर्ड अफ इन्डियाले आयात हुने चियाको परीक्षणमा कडाइ गरेपछि नेपालको चिया निर्यात प्रभावित हुँदा नेपालको चिया उत्पादन र उद्योग क्षेत्र प्रभावित बन्न पुगेको हो ।
असार १ गते उद्योगीहरूले इलाम जिल्लाभित्र सञ्चालनमा रहेका ५६ उद्योग बन्द गर्ने घोषणा थिए भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग बन्द भएको घोषणा गरेका छन् ।
सयौँ उद्योग बन्द हुने अवस्था सिर्जना हुँदा चियाको क्षेत्रमा काम गर्ने हजारौँ किसानदेखि मजदुर बेरोजगार हुने अवस्था सिर्जना भएको हो ।
केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष हर्कबहादुर तामाङका अनुसार झण्डै एक सय उद्योग बन्द हुँदा ६०÷७० हजार किसान मजदुर प्रभावित हुन पुगेका छन् । सरकारले समयमा कूटनीतिक पहल गर्न नसकेमा अहिलेको सिजनको चिया उत्पादन र निकासी नै प्रभावित हुने उनले बताए ।
‘फागुन चैत महिनादेखि नै चियाको उत्पादन सुरु हुन्छ, असार साउन मुख्य पिक आवर हो, अब एक हप्ता मात्र चिया टिप्न पाइएन भने त्यसपछि मुना टिप्न मिल्दैन, काट्नुपर्ने हुन्छ, जसले गर्दा फेरि मुना पलाउन एक महिना लाग्छ, जसले यो मुख्य सिजनलाई नै असर गर्छ’, उनले भने ।
अध्यक्ष तामाङले एक दुई महिना अघि देखि नै भारतमा चियाको निकासीमा समस्या आएकोमा सरकारले कूटनीतिक पहल गर्न नसकेको बताए ।
‘चिया निकासीमा मापदण्ड लगाउने कुरा राम्रो हो, तर, नियत राम्रो देखिएन’, उनले भने, ‘नेपालमा भारतबाट आउने फलफूल तरकारीको जाँचपास केही घण्टामा हुन्छ, तर, चिया परीक्षणको नाममा १५ दिन लगाउने काम भएको छ ।’
भारत बाहेकका देशमा पयिन चियाको निकासीको विषयमा सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सरकारले चियाको निकासी रोकिएकोमा पहल गर्न खोजीरहेको र सो विषय वाणिज्यको दृष्टिकोणले मात्रै भन्दा पनि कूटनीतिक पहल गर्नुपर्ने भएकाले प्रधानमन्त्री कार्यालयकै नेतृत्वमा छलफल भइरहेको आफूले जानकारी पाएको बताए ।
तर, सो छलफल र पहल कुनै निष्कर्षमा पुगेको आफूले जानकारी नपाएको पनि उनको भनाइ छ ।











प्रतिक्रिया