एक्लिँदै ओली : देशभरबाट नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको उठ्यो माग « Khabarhub

एक्लिँदै ओली : देशभरबाट नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको उठ्यो माग

केन्द्रीय समितिको बैठकसम्म मात्रै पर्खने नेताहरूको तयारी



काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली एक्लिन थालेका छन् । गत फागुन २१ गतेको निर्वाचनमा एमालेले हालसम्मकै सबैभन्दा लज्जास्पद हार व्यहोरेपछि अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने माग उठ्न थालेको छ ।

यसैको समीक्षाका लागि प्रदेशगत रुपमा सुझाव संकलन गरिरहेको एमालेलाई जिल्लाका नेताहरुले पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताइरहेका छन् । ओलीको गृहप्रदेश कोशीसँगै, बागमती, लुम्बिनी लगायत प्रदेशका जिल्ला र प्रदेश कमिटीका नेताहरूले एमाले पुनर्गठन हुनुपर्ने पक्षमा आवाज उठाउन थालेका छन् ।

यसअघि निर्वाचनपछि पहिलो पटक जेठ ९ गते बसेको एमाले सचिवालय बैठकमा पनि अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका थिए । १९ पदाधिकारीमध्ये १४ जना पदाधिकारीले ओलीले राजीनामा दिनुपर्ने माग राखेका थिए । उनीहरुले एमालेलाई पुनर्गठन गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको एजेण्डामा अघि बढ्नुपर्ने मत राखे ।

त्यसबेला ओलीको पक्षमा जम्मा चार पदाधिकारी बोलेका थिए त्यसमा सबैभन्दा बढी ओलीको बचाउमा भानुभक्त ढकाल र महेश बस्नेत उत्रिएका थिए । १४ जना नेतामध्ये सात आठ जना नेताले त ओलीले सीधै सोझो भाषामा बुझेर मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाए । केही नेताले भने ओली मात्रै यो सम्पूर्ण कुराको भागीदार नभएकाले पहिलो पुस्ता सबैले सम्मानजनक बिदा हुनुपर्ने मत राखे ।

ओलीसँग विकल्प केन्द्रीय कमिटी बैठक

सचिवालयमा अल्पमतमा परेपनि ओली हारेका छैनन् । उनले बोल्ने क्रममा केन्द्रीय कमिटी बैठकपछि यो कुराहरूको विषयमा निर्णय लिने जानकारी गराए । आफू विधि र प्रक्रियाबाट अध्यक्ष भएको बताउँदै बाटामा हिँड्दै गर्दा ओली आफूलाई कसैले अध्यक्ष नबनाएको अभिव्यक्ति दिएका थिए । केन्द्रीय कमिटी बैठकबाट ओलीले आफ्नो संकट टार्ने योजना बनाएपनि अहिलेसम्म केन्द्रीय कमिटी बैठक डाकिएको छैन ।

महासचिव शंकर पोखरेल र निर्वाचन समीक्षा कार्यदलका संयोजक रामबहादुर थापा बादल बसेर केन्द्रीय कमिटी बैठकको टुङ्गो लगाउने भनिएको छ । तर, अहिलेसम्म असार तेस्रो साता बस्ने भनिएको केन्द्रीय कमिटी बैठक फिक्स भएको छैन । युवा नेता नरेश रोकाया भने केन्द्रीय कमिटीमा रहेका ३०१ केन्द्रीय सदस्यमध्ये ओलीको पक्षमा १०० पनि नखुल्ने दाबी गर्छन् ।

आफूले ओलीलाई अन्तिम अवस्थासम्म साथ दिए पनि पछिल्लो परिस्थिति अनुसार पार्टी नेतृत्व चल्न नसकेपछि साथ दिने अवस्थामा नरहेको रोकायाको प्रष्टोक्ति छ । रोकायासँगै महेश बर्तौला, पदम गिरी लगायतका नेताहरू पनि केन्द्रीय कमिटीको बैठकपछि एमाले कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुने बताउँछन् । एमाले युवा नेता रोकाय, सुहाङ नेम्वाङ उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरू भने चाँडै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग राख्छन् ।

‘केन्द्रीय कमिटीको बैठकले के गर्ने र कसरी एमाले अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन्छ । अब केन्द्रीय कमिटी बैठक चाँडो बोलाउनुको विकल्प छैन’, विगतमा ओली समूहमा रहेका एमाले केन्द्रीय सदस्य पदम गिरीले भने, ‘पार्टी पुनर्गठन, रूपान्तरण र पुस्तान्तरण हुनुपर्ने आवाज सबैले उठाउनुभएको छ । तर नेतृत्वको मात्रै रूपान्तरण पुस्तान्तरण भन्दा पनि पहिलो पुस्ता नै बिदा हुनुपर्ने हो कि भन्ने आवाज पनि उठेका छन् । यी सबै कुराहरू केन्द्रीय कमिटी बैठकले टुङ्ग्याएर जान्छ ।’

केन्द्रीय कमिटी बैठकमा बलियो हुने विषयमा विभिन्न षड्यन्त्र रचिरहेका ओलीलाई भने यस पटक केन्द्रीय कमिटी बैठकबाट बिदा गर्ने तयारीमा नेताहरु खुल्न थालेको देखिन्छ । तर विधि र प्रक्रियाबाट एमालेको अध्यक्ष ओली बनेकाले कसैले पनि हटाउँदैमा हट्ने अवस्था नरहेको दाबी उनी समर्थक नेता महेश बस्नेत गर्छन् ।

‘विधि र प्रक्रियाबाट बनेको अध्यक्ष हट्ने कुरा छैन । सडकबाट कराएर कसैले ओली बिदा हौ भन्दैमा उहाँ बिदा हुने व्यक्ति होइन नेतृत्वमाथि प्रहार कहाँ र कसरी हुँदैछ भन्ने कुराको विश्लेषण गर्नुपर्छ,’ बस्नेत भन्छन्, ‘फागुन २१ गतेको निर्वाचनको हार र भदौ २३ र २४ गतेको घटनाको दोषी अध्यक्ष मात्रैलाई दिएर पुग्दैन । सबैले आ-आफ्नो भाग लिनुपर्छ ।’

गृह प्रदेशमै एक्लिए ओली

असार २ गते ओलीको प्रदेश कोशीमा एमालेले फागुन २१ को निर्वाचनको लज्जास्पद हारबारे सुझाव संकलन गर्न निस्किएको थियो । सुझाव सङ्कलनका लागि कार्यदल संयोजक रामबहादुर थापा बादलसहित सचिवालयका नेताहरू मंगलबार लर्को लागेर विराटनगर झरेका थिए । महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा लगायतका नेताहरु विराटनगर उत्रेर सुझाव लिएका थिए . सुझाव लिने क्रममा ग्राउन्ड लेभलका जिल्ला अध्यक्ष र अरु नेताहरुले एमाले पुनर्गठनको माग राखे ।

एक सयभन्दा बढी नेताहरू बोलेको बैठकमा एमाले पुनर्गठन हुँदै पहिलो पुस्ता बिदा हुनुपर्ने आवाज पनि उठेको थियो भने धेरै जना नेताले अध्यक्ष ओलीलाई नै दोषी देखाएका थिए । ओलीको गृहजिल्ला झापाका अध्यक्ष प्रेम गिरीसहित क्षेत्र नम्बर १ बाट फागुन २१ को निर्वाचनमा उठेका रामचन्द्र उप्रेती, क्षेत्र नम्बर ३ बाट पराजित भएका हरि राजवंशी लगायतले पनि एमाले पुनर्गठनको आवाज उठाए ।

पुनर्गठन हुँदा ओली मात्र होइन, पहिलो पुस्ताले नै बिदा हुनुपर्ने आवाज उनीहरूको थियो । तर, एमाले पुस्तान्तरण, हस्तान्तरण र समीक्षासहित अगाडि नबढेको खण्डमा आगामी दिनमा पार्टी नै नरहने स्थिति आउने विश्लेषण झापाली नेताहरुले सुनाएका थिए । आफ्नै जिल्लाका नेताले पनि एमाले पुनर्गठन हुनु जरुरी छ भन्ने आवाज उठाएपछि ओलीलाई अब आफ्नैको भरोसा नभएको टिप्पणी वाम विश्लेषक श्याम श्रेष्ठको छ ।

श्रेष्ठ भन्छन्, ‘ओलिसँग अबको विकल्प केन्द्रीय कमिटी बैठक मात्रै छ । केन्द्रीय कमिटी बैठकमा पनि बहुसंख्यक नेताहरुले पार्टी पुनर्गठन नेतृत्व हस्तान्तरण पुस्तान्तरण हुनुपर्ने कुरा उठाउनु भयो भने उहाँहरुको विधान अनुरुप अर्ली अथवा विशेष महाधिवेशनमा जानुपर्ने अवस्था देख्दैछु ।’ श्रेष्ठले अगाडि भने, ‘ओलीसहित पुराना पार्टीका पहिलो पुस्ताहरू बिदा हुनुपर्ने आवाज त जनस्तरले व्यापक रुपमा उठाएको छ । उहाँ किन पदमा बस्न लोभी हुनुभयो हामी अचम्ममा छौँ ।’

आज लुम्बिनी प्रदेशको बैठकमा पनि बहुमत नेताहरूले एमाले पुनर्गठनको माग उठाएको बैठकमा उपस्थित नेताहरूको भनाइ छ । तर ओलीले भने आफूले तल्लो तहको कुराहरू सुन्न नेता पठाएकाले आफ्ना कुराहरु राख्न आग्रह गरे । उनले नेतृत्व परिवर्तनको बहस उपयुक्त नहुने भन्दै यो बहस बेमौसमी बाजा भएको टिप्पणी समेत गरेका छन् ।

विद्या फ्याक्टरले काम गर्ला ?

केन्द्रीय समितिको बैठकपछि सबै कमिटीहरू भङ्ग गरेर महाधिवेशन कमिटी बनाउने र अर्ली महाधिवेशन गर्ने विषयमा पनि नेताहरू छलफल गर्न थालेका छन् । केन्द्रीय कमिटी सहित जिल्ला र वडासम्मको कमिटी भङ्ग गरेर नयाँ जनादेशमा जाने र त्यस अवस्थासम्मको नेतृत्व केन्द्रमा विद्या भण्डारीले लिनुपर्ने आवाज पनि पार्टीमा उठ्न थालेको छ ।

एमाले नेता गोकुल बास्कोटाका अनुसार यो आवाज पार्टीमा तीखो रूपमा उठे पनि कार्यान्वयन भइहाल्ने अवस्था फितलो छ । ‘पार्टीमा यदाकदा आवाज उठेको होला तर केन्द्रीय कमिटीको बैठक अगाडि यही हो भनेर किटान गर्न सक्ने अवस्था छैन । केन्द्रीय कमिटीको बैठकमा नेताहरुले आफ्नो धारणा राख्नुहोला, त्यसपछाडि एमाले पुनर्गठन, पुस्तान्तरण,हस्तान्तरण र रूपान्तरण सबै हुनु जरुरी छ । यथास्थितिमा एमाले अगाडि बढ्न सक्दैन,’ बास्कोटाले भने, ‘एमाले अहिलेको परिस्थितिमा आउनुको मुख्य कारण केपी शर्मा ओली हुन । उनीले सबै कमिटी भङ्ग गरेर केन्द्रीय कमिटीको बैठक पछाडि आयोजक कमिटी बनाएर अगाडि बढ्नुपर्छ ।’

केही समयका लागि पूर्व राष्ट्रपति भण्डारीले नेतृत्व गरेर अगाडि बढ्न सक्ने अवस्था भएपनि अहिलेको विकल्प त तेस्रो पुस्ता रहेको युवा नेता रोकायाको भनाइ छ । एमालेमा अहिले उपाध्यक्षहरू विष्णु पौडेल, रघुजी पन्त, पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, उपाध्यक्ष गोकर्ण बिष्ट लगायतका नेताहरू केन्द्रीय कमिटीको बैठकपछि सबै कमिटीहरु भङ्ग गरेर तदर्थ समिति बनाएर जरैदेखि एमाले पुनर्गठन गर्ने पक्षमा देखिन्छन् । उनीहरूले थप गृहकार्य अगाडि

बढाएर सातै प्रदेशमा सुझाव संकलनका लागि निस्किएको दाबी एमाले सचिवालयका एक नेताको छ । एमाले नेता प्रदीप ज्ञवालीले कुनै दस्तावेज अथवा नेतृत्वलाई गलहत्याएर निकाल्ने पक्षमा नरहेको बताए । ‘एमाले पुनर्गठन गर्न सबैको एकमत छ । तर, यो होइन कि नेतृत्वलाई गलहत्याएर नपर्छ भन्ने विषयमा नेताहरु हुनुहुन्न । हामी सबै कोणबाट छलफल गरिरहेका छौँ ।’ ज्ञवालीले भने, ‘केन्द्रीय कमिटीको नेताहरुले आफ्नो विचारहरू राख्नुहोला त्यसपश्चात एमले कसरी अगाडि बढ्छ भन्ने एउटा निचोड निस्किन्छरी त हुँदैन ।’

यही प्रश्न एमाले उपाध्यक्ष रघुजी पन्त र पृथ्वी सुब्बा गुरुङलाई सोध्दा उनीहरू केन्द्रीय कमिटी बैठकपछि एमाले कसरी अगाडि बढ्छ भन्ने निर्णयमा पुग्ने बताउँछन् । अहिले उनी केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गर्छन् । एमाले उपाध्यक्ष रघुजी पन्त पनि केन्द्रीय कमिटी बैठक पछाडि एमाले वृहतरुपमा पुनर्गठन हुँदै अगाडि बढ्ने विषयमा विश्वास व्यक्त गर्छन् ।

पार्टी फुट्छ ?

नेताहरूलाई पार्टी फुट्छ भन्ने विषयमा सोध्दा उनीहरू पार्टी फुटाउने पक्षमा नभएको पुनर्गठन गर्दै एकीकृत पार्टी बनाउने पक्षमा रहेको बताउँछन् । केन्द्रीय कमिटीको निर्णय कुनै पनि नेतृत्वले नमान्नुपर्ने अवस्था नआउने बताउँदै केन्द्रीय कमिटीका बहुसंख्यक नेताले बोलेको कुरालाई एमालेले मान्ने उनीहरूको मत छ । ‘पार्टी फुट्ने कुरा हल्ला मात्रै हो, पार्टी फुटको पक्षमा कुनै नेताहरु हुनुहुन्न । एकीकृत गर्दै पुनर्गठनकै पक्षमा हुनुहुन्छ । एमाले फुटेर कति चिरा भइसक्यो तर उपलब्धि कहाँ पुग्यो ? अब फुटाएर काम छैन । केन्द्रीय कमिटीका नेताहरुले बोलेको कुरालाई सबैले आत्मसात गर्दै अगाडि बढ्नुपर्छ,’ नेता पृथ्वीसुब्बा भन्छन्, ‘हामी त सबै जुटाएर एमाले जुरुक्कै उठाउने योजनामा छौँ । तल्लो तहसम्म सुझाव संकलन गरिरहेका छौँ ।’

यही प्रश्न ओली निकट नेता मानिने भानुभक्त ढकाललाई गर्दा उनी कुनै पनि हिसाबमा पार्टी फुट्ने अवस्था नरहेको बताउँछन् । पार्टीलाई जनअपेक्षा केन्द्रित बनाउनका लागि नै आफूहरू विभिन्न जिल्लामा सुझाव संकलन गर्न र प्रदेशगत सुझावका लागि निस्किएको ढकालको भनाइ छ ।

सबै हिसाबले केलाउँदा केन्द्रीय कमिटीको बैठकपछि ओलीले स्वेच्छिक रूपमा नेतृत्व छाड्नुपर्ने पक्षमा छन् । त्यसपछि कुनै एक व्यक्ति या पूर्वराष्ट्रपति भण्डारीलाई नै केही समय नेतृत्वमा राखेर अर्ली महाधिवेशनपछि एमाले पुनर्जागृत र पुनर्गठित बनाउने पक्षमा नेताहरूको गृहकार्य देखिन्छ । पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्वमा अगाडि नसारेको खण्डमा उपाध्यक्ष विष्णु पौडेल या अरु कुनै नेताले केही समयका लागि केन्द्रीय नेतृत्व सम्हाल्ने विषयमा पनि छलफल भइरहेको छ । धेरै नेताले केन्द्रीय कमिटी लगायत तल्लो तहसम्मका कमिटी भङ्ग गरेर अर्ली महाधिवेशन पछाडि अगाडि बढ्नुपर्ने पक्षमा आवाज उठाएका छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ७ : ३६ बजे

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको