विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस? « Khabarhub

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 
काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो चर्चा पाउँछ। यसपटक त्यस्तै भयो । इङ्ल्यान्डविरुद्धको जितपछि अर्जेन्टिनाका खेलाडीले प्रदर्शन गरेको एउटा ब्यानरले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म बहसको आँधी ल्याइदिएको छ । 

त्यसपछि सबैको एउटै प्रश्न छ- आखिर त्यस्तो के लेखिएको थियो? खेल सकिएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेज र मिडफिल्डर जियोभानी लो सेल्सोले  ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हुन्) लेखिएको ब्यानर समातेर समर्थकतर्फ अभिवादन गरे । 

विश्वकपको सबैभन्दा ठूलो मञ्चमा देखिएको यो दृश्य केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो। तर, धेरैका लागि यो केवल एउटा ब्यानर थिएन। यो त दशकौँदेखि अर्जेन्टिना र बेलायतबीच चलिरहेको संवेदनशील भू–राजनीतिक विवादको प्रतीक थियो।
 
के हो ‘माल्भिनास’ विवाद?
 
दक्षिण एटलान्टिक महासागरमा रहेका यी टापुलाई बेलायतले फकल्यान्ड आइल्यान्ड्स भन्छ भने अर्जेन्टिनाले इस्लास माल्भिनास का नामले चिन्ने गर्छ । दुवै देशले यी टापुमाथि आफ्नो सार्वभौमिक अधिकार रहेको दाबी गर्दै आएका छन्। यो विवाद सन् १९८२ मा युद्धमै परिणत भएको थियो । 

७४ दिनसम्म चलेको युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिक मारिएका थिए। अन्ततः बेलायतले युद्ध जित्दै टापुमाथिको नियन्त्रण कायम राख्यो ।

यद्यपि अर्जेन्टिनाले भने ती टापु सन् १८१६ मा स्पेनबाट स्वतन्त्र भएपछि आफ्नो भूभाग बनेको र बेलायतले १८३३ मा अवैध रूपमा कब्जा गरेको दाबी गर्दै आएको छ। अर्कोतर्फ, टापुका अधिकांश बासिन्दाले बेलायतकै हिस्सा भएर बस्न चाहेको मत बारम्बार व्यक्त गर्दै आएका छन्। यही ऐतिहासिक विवादसँग जोडिएको सन्देश विश्वकप मैदानमा देखिएपछि त्यसले नयाँ बहस जन्माएको हो ।

फिफाको नियम के भन्छ?

फिफाको स्टेडियम आचारसंहिताअनुसार खेल मैदानभित्र राजनीतिक, धार्मिक, आपत्तिजनक वा विभेदकारी सन्देश भएका ब्यानर, झन्डा, पर्चा वा अन्य सामग्री प्रदर्शन गर्न निषेध छ । यही कारण अर्जेन्टिनी खेलाडीले समातेको ब्यानरलाई लिएर अहिले विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् । 

ब्यानर रंगशालाभित्र कसरी पुग्यो भन्ने अझै खुलेको छैन। यस विषयमा प्रतिक्रिया मागिए पनि फिफाले हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । त्यसैले अर्जेन्टिनामाथि कुनै अनुशासनात्मक कारबाही हुन्छ वा हुँदैन भन्ने विषय पनि अन्योलमै छ ।

विश्वकपमा राजनीतिक सन्देशको यो पहिलो घटना होइन

विश्वकप २०२६ मा राजनीतिक सन्देशले विवाद सिर्जना गरेको यो पहिलो घटना भने होइन । यसअघि गत महिना लस एन्जलसमा भएको इरानको खेलका क्रममा केही इरानी–अमेरिकी समर्थकले तेहरान सरकारविरुद्धको विरोधको प्रतीक मानिने इरानको पूर्व–क्रान्तिकालीन झन्डा प्रदर्शन गरेका थिए । 

त्यतिबेला कुनै अप्रिय घटना नभए पनि त्यसले विश्वकपमा राजनीतिक अभिव्यक्तिको सीमाबारे प्रश्न उठाएको थियो। अब अर्जेन्टिनाका खेलाडीले देखाएको ‘माल्भिनास’ ब्यानरले त्यो बहसलाई अझ चर्काएको छ ।
 
फाइनलअघि नयाँ दबाब
 
अर्जेन्टिना अहिले लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छ। जुलाई १९ मा हुने फाइनलमा उसले स्पेनको सामना गर्नेछ । तर उपाधि भिडन्तअघि टोली खेलभन्दा बाहिरको विवादमा तानिएको छ । 

एकातिर अर्जेन्टिनाका समर्थकले यो ब्यानरलाई राष्ट्रिय गौरव र ऐतिहासिक दाबीको अभिव्यक्ति भनेका छन् भने अर्कोतर्फ आलोचकहरूले विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितालाई राजनीतिक सन्देश दिने मञ्च बनाउनु फिफाको मर्म विपरीत भएको बताएका छन् ।
 
अब सबैको नजर फिफातर्फ छ । विश्व फुटबलको सर्वोच्च निकायले यस घटनालाई सामान्य रूपमा लिन्छ कि अनुशासनको प्रश्न बनाएर कदम चाल्छ, त्यो आगामी दिनमा स्पष्ट हुनेछ। तर एउटा कुरा निश्चित छ । 

इङ्ल्यान्डमाथिको अर्जेन्टिनाको पुनरागमन जित जति चर्चित बन्यो, त्यसपछि मैदानमा देखिएको एउटा ब्यानरले त्यसभन्दा ठूलो बहस विश्वभर छेडिदिएको छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ५ : ४१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार