काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा प्रियंका पनि थपिएकी छिन् । उनको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अब उनी नायिकासँगै निर्माता पनि भएकी छिन् ।
डिमान्डको ग्राफ ओरोलो लागेपछि नायिकाहरू निर्माणमा होमिने ट्रेन्डलाई प्रियंकाले पनि निरन्तरता दिएकी हुन् । पछिल्लो समय प्रियंकाले फिल्म नै पाएकी छैनन् भन्दा पनि हुन्छ । वर्षमा एकाध फिल्म गरेकी हुन्छिन्, त्यो पनि फ्रेस मेकरहरूको ।
सन् २०१४ देखि ०१९ सम्म उनको प्राइम समय हो । सन् २०१८ मा उनका ११ वटा फिल्म प्रदर्शनमा आए । त्यस वर्षको अप्रिलमा उनका तीन फिल्मसम्म प्रदर्शनमा आए । यही वर्षको लगातर फ्लपले उनको प्राइम सकिएको विश्लेषण हुने गर्छ ।
प्राइमबाट छायामा रहेको करिअर फेरि चम्काउने कोशिषको उपज हो– मास्टर्नी । प्रियंका स्वयं यो टिप्पणी गर्न छुट दिन्छिन् । ‘होइन’ भनेर खण्डन गर्ने आधार पनि छैन । कुनै समय प्रियंकाको वर्षमा ११ वटा फिल्म रिलिज हुन्थे । सन् २०२० पछिका ६ वर्षमा उनका ११ वटा फिल्म पनि रिलिज भएका छैनन् । केही फिल्ममा त उनी सहायक भूमिकामा सीमित भएकी छिन् ।
रिक्स जनराबाट डेब्यू
पछिल्लो समय हेर्ने हो भने बक्स अफिसमा फिल्म हिट हुनै सकस छ । फ्लपदर ९५ प्रतिशतभन्दा माथि छ । यो अवस्थामा फिल्म निर्माण आफैँमा जोखिम हो ।
अहिले जुन फिल्म हिट बनेका छन्, ती पारिवारिक कथामा बनेका छन् । दर्शकलाई रुवाउने फिल्म नै हिट बनेका छन् ।
हलमा ‘रोनाधोना’ चलिरहेको बेला प्रियंका क्राइम थिल्लर जनराको फिल्म लिएर आएकी छिन् । यो जनरामा बनेका फिल्म नेपालमा व्यापारिक रुपमा सफल नै भएका छैनन् ।
प्रियंका भन्छिन्, ‘नेपालमा सबै किसिमको जनरामा फिल्म बन्नुपर्छ । अहिले धेरैले फरक जनरामा फिल्म बनाउने आँट नै गर्नु हुँदैन । किनकि, अहिले अर्कै किसिमका फिल्म चलिरहेका छन् ।’
अर्थात्, हलमा के बिकिरहेको छ भन्ने प्रियंकालाई थाहा छ । तर, उनले रिक्स नै लिएकी हुन् । यो फिल्म हिट भएको अवस्थामा प्रियंका बजारलाई फरक धारमा ढाल्ने नायिकाको उदाहरणमा बन्न सक्छिन् । तर, यो सहज छैन । जुन कुरा उनी आफैँ स्वीकार गर्छिन् ।
कन्फिडेन्ट प्रियंका
‘मास्टर्नी’को शीर्ष नायिका प्रियंका नै हुन् । मुख्य निर्माता पनि उनै हुन् । यो फिल्मको व्यापार उनको प्रतिष्ठासँग मात्रै सीमिति छैन, आर्थिक पक्षसँग पनि जोडिन्छ । हिट भए– दुवै हातमा लड्डु । फ्लप भए– चिल्लै ।
नेपालमा पारिवारिक फिल्म मात्रै सुपरहिट छन् । यस अर्थमा ‘मास्टर्नी’लाई सेन्सरमै झट्का लागेको छ, एडल्ट सर्टिफिकेट पाएको छ । अर्थात्, १६ वर्षभन्दा कम उमेरका दर्शकले यो फिल्म हेर्न पाउने छैनन् । यसले पनि ठूलो संख्यामा दर्शक कटौती हुने देखिन्छ ।
तर, प्रियंका फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा झन् कन्फिडेन्ट देखिएकी छिन् । सेन्सरप्रति उनको कुनै आपत्ति छैन ।
उनी भन्छिन्, ‘फिल्मले पाएको सर्टिफिकेटबाट खुसी छु । म आफैँले पनि त्यही चाहेको थिएँ । फिल्ममा धेरै हत्या र हिंसाका दृश्य छन् । त्यसका लागि एडल्ट सर्टिफिकेट नै चाहिन्थ्यो । इच्छा त लाग्छ नि, बच्चाबच्चीलाई पनि लगेर देखाऊँ भन्ने । तर, सबै कुरा सबैका लागि हुँदैन । यो जुन जनरामा बनेको छ, त्यसमा प्रायः फिल्मले एडल्ट सर्टिफिकेट नै पाउँछन् ।’
प्रियंकाको यो अभिव्यक्तिबाट पनि उनलै बुझेरै क्राइम थिल्लर जनरा रोजेको प्रष्ट हुन्छ । अर्थात्, उनी राम्रो कथाको खोजी गर्दा गर्दा यो जनरामा फसेकी होइनन् ।
तथापि, क्राइम थिल्लर प्रियंकाको प्रिय जनारा भने हो । आफूलाई मन पर्ने जनारबाट डेब्यू गर्नु व्यवसायसिक रुपमा घातक पनि हुन सक्छ ।
नेपाली बजारमा थप अर्को जनारमा स्थापित गर्ने उद्देश्यले आफूले ‘मास्टर्नी’ बनाएको प्रियंकाको तर्क छ । अर्थात्, उनले यस फिल्मबाट आर्थिक र प्रतिष्ठाको लाभ मात्रै होइन बजारको धार परिवर्तन गर्ने महत्वकांक्षा पनि लिएकी छिन् ।
उनी भन्छिन्, ‘हामी अलिकति भए पनि फिल्म बुझेको मान्छेले यो रिक्स लियौँ भने अरु धेरैलाई फरक जनरामा फिल्म बनाउन आँट आउँछ भनेर पनि हो ।’
‘के बिक्छ’ भनेर थाहा पाएकी नायिका प्रियंकाले ‘क्राइम थिल्लर’ जनारमा देखाएको कफिन्डेन्ड असामान्य छ ।
यसरी फरक जनरामा कन्फिडेन्ट राख्ने मेकरहरू बजारकै यथावत धारमा फर्किएको उदाहरण पनि टन्नै छन् । अब प्रियंकाको हकमा के होला ? भदौ ५ पछिको बक्स अफिस रिपोर्टले यसको जवाफ दिने नै छ ।












प्रतिक्रिया