बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही ! « Khabarhub

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद चर्किएको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको अवस्थामा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि पार्टीभित्र विवाद बढेको हो।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बुधबार साँझ विज्ञप्ति जारी गर्दै उद्धव थापाले प्रदेश सरकार गठनका लागि दिएको समर्थनलाई ‘अवैधानिक, अराजनीतिक र अनधिकृत’ भनेका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गते बसेको बैठकले प्रदेश सरकारका सम्बन्धमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो। उक्त अधिकार संसदीय दलका नेता उद्धव थापालाई नदिइएको राप्रपाले स्पष्ट पारेको छ।

‘बागमती प्रदेशको सरकार निर्माणको क्रममा राप्रपाको संसदीय दलको तर्फबाट मुख्यमन्त्रीमा एमालेका किरण थापालाई दिइएको भनिएको समर्थन प्रथम दृष्टिमै अवैधानिक, अराजनीतिक र अनधिकृत छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्।

राप्रपाले सरकार निर्माणको गणितीय चलखेलमा सहभागी नहुने केन्द्रीय कार्यसम्पादन समिति र बागमती प्रदेश संसदीय दलकै निर्णयविपरीत उद्धव थापाले समर्थन दिएको आरोप लगाएको छ।

पार्टीले भदौ १ गते नै संसदीय दलका नेतालाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न, पार्टीका सांसदलाई जानकारी गराउन र ह्विप लगाउन निर्देशन दिएको जनाएको छ। उक्त निर्देशनविपरीत भएको गतिविधिलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिएको राप्रपाले जनाएको छ।

यसै विषयमा पार्टीको अनुशासन समितिको बैठकसमेत बुधबार बसेको छ। समितिले सम्बन्धित सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले बागमती प्रदेश प्रमुखसमक्ष समेत आफ्नो पार्टीको समर्थन नरहेको जानकारी गराएको छ। एमालेका किरण थापामगरलाई मुख्यमन्त्री बनाउन राप्रपाका सांसदहरूको समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई बुझाइएको पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध गरिएको पार्टीले जनाएको छ।

राप्रपाले पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकलाई यस विषयमा भ्रममा नपर्नसमेत आग्रह गरेको छ।

उद्धवले १२ सांसदको समर्थन रहेको पत्र बुझाए

यसअघि राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापामगरलाई मुख्यमन्त्री बनाउन राप्रपाका १२ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए।

बुधबार प्रदेश प्रमुखलाई पठाइएको पत्रमा थापाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि एमालेका प्रदेशसभा सदस्य किरण थापामगरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको र राप्रपाका १२ सांसदको समर्थन रहेको उल्लेख गरेका थिए।

त्यसपछि एमालेका किरण थापामगरले एमाले, नेकपा र राप्रपाका सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। उनको दाबीमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको उल्लेख गरिएको थियो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

बहुमतका लागि आवश्यक संख्याभन्दा बढी सांसदको समर्थन रहेको दाबी गर्दै किरण थापामगरले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्। प्रदेश प्रमुखले प्राप्त दाबी र समर्थनको आधारमा संविधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

एमालेभित्रको खेल

बागमतीमा मुख्यमन्त्री परिवर्तनको खेल एमालेभित्र पनि लामो समयदेखि चलिरहेको थियो। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई दलको नेतामै कायम राखेर किरण थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय एमालेले गरेको थियो।

किरण थापामगरलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत सक्रिय रहेको एमालेकै नेताहरू बताउँछन्। २०७३ सालमा राप्रपाबाट एमाले प्रवेश गरेका थापामगर भक्तपुरका प्रदेशसभा सदस्य हुन्।

एमालेभित्रको शक्ति समीकरणसँगै राप्रपाका सांसदको समर्थन जुटाउने प्रयाससमेत भएको थियो। राप्रपाका १२ मध्ये केही सांसद थापामगरको पक्षमा उभिने तयारीमा रहेको दाबी यसअघि नै हुँदै आएको थियो।

यही क्रममा बुधबार राप्रपा संसदीय दलका नेता उद्धव थापाले सबै १२ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएपछि किरण थापामगरले मुख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए।

तर, राप्रपाको केन्द्रीय नेतृत्वले भने संसदीय दलका नेताले दिएको उक्त समर्थनलाई अस्वीकार गर्दै पार्टीको आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बिहीबार दिउँसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। बैठकले बागमती प्रदेशमा देखिएको विवाद र संसदीय दलका नेता उद्धव थापाले दिएको समर्थनबारे थप निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ७ : ०० बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि