रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु-१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न भएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए ।
पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू-१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिएका थिए । उनी आईसीसी महिला यू-१९ क्रिकेटसँग सम्बन्धित प्रशिक्षकका रूपमा समेत आबद्ध छन् ।
नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा सन् २०२७ को जनवरी-फेब्रुअरीमा आयोजना हुने आईसीसी महिला यू-१९ विश्वकपलाई लक्षित गरी खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिए ।
बन्द प्रशिक्षणबाट खेलाडीलाई आगामी अन्तरराष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया