काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
देशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी, भोलि (कात्तिक ३ गते, मङ्गलबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने भए पनि बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।
पर्सि (कात्तिक ४ गते, बुधबार) पनि हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ।
तराईका धेरैजसो भू-भागमा दिउँसो मौसम सफा रहे पनि बिहानको समयमा कुहिरो र हुस्सुका कारण भिजिबिलिटीमा कमी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।














प्रतिक्रिया