काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड र लुटपाटको जिम्मेवारी लिँदै त्यहाँका गृहमन्त्री लरेन्ट नुनेजले दिएको राजीनामालाई राष्ट्रपति इम्मानुएल म्याक्रोंले अस्वीकार गरेका छन् । रेडियो फ्रान्स इन्टरसँग कुरा गर्दै आन्तरिक मामिलामन्त्री नुनेजले घटनाको सबै जिम्मेवारी आफ्नो भएकाले राजीनामा पेस गरेको बताएका थिए ।
देशमा उत्पन्न संकट र आपतकालीन अवस्थामा सुरक्षा निकायको निरन्तर नेतृत्व तथा शान्ति सुरक्षा कायम गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै म्याक्रोंले नुनेजलाई पदमै रहेर प्रहरी प्रशासनको नेतृत्व सम्हाल्न निर्देशन दिएका छन् । राष्ट्रपति कार्यालय (प्याले द लेलिजे) ले जारी गरेको विज्ञप्ति अनुसार म्याक्रोंले गुप्तचर निकायको असफलताबारे पूर्ण पारदर्शीताका साथ छानबिन गर्न निर्देशन समेत दिएका छन् ।
उनले लुटपाट, सडक अवरोध र हिंसा अन्त्य गर्नका लागि नयाँ सुरक्षा रणनीति तत्कालै लागू गर्न समेत आन्तरिक मामिलामन्त्रीलाई निर्देशन दिएका छन् । फ्रान्सभर ६० हजार सुरक्षाकर्मी खटाइएपछि पनि केही शहरहरूमा स्थिति नियन्त्रण बाहिर गएको र ‘अति-वामपन्थी कार्यकर्ता’ तथा उपद्रो मच्चाउने मानिसहरुका कारण सुरक्षा निकायले नियन्त्रण गुमाउनुपरेको स्वीकार गर्दै उनले अब यस्ता घटना दोहोरिन नदिन रणनीतिमा सुधार ल्याइने बताए ।
स्थिति नियन्त्रणमा लिन प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले केही शहरहरूमा आंशिक र स्थानीय कर्फ्यू लागू गर्न निर्देशन दिएका छन् । जीवनयापनको बढ्दो लागत, शिक्षा क्षेत्रको नाजुक अवस्था र कमजोर अर्थतन्त्रको विरोध गर्दै शनिबारदेखि सुरु भएको देशव्यापी प्रदर्शनले आइतबार उग्र रूप लिएको थियो ।
प्रदर्शनका क्रममा पेरिस, लियोन, मार्सेली लगायतका प्रमुख शहरहरूमा उग्र भीडले सडकमा रहेका सवारी साधनमा आगो लगाउनुका साथै व्यावसायिक प्रतिष्ठान, सरकारी कार्यालय, ऐतिहासिक धरोहर, निजी आवास र प्रहरी चौकीहरूमा लुटपाट र तोडफोड गरेका छन् । मध्य फ्रान्सको लिमोज स्थित १९औं शताब्दीको ऐतिहासिक सिटी हलमा आगजनी गरिएपछि त्यसको छाना भत्किएर भवन लगभग नष्ट भएको छ ।
पेरिसको चर्चित प्लेस भेन्डोम क्षेत्रका विलासी सामान बेच्ने पसलहरू, मार्सेलीको प्रसिद्ध मुख्य सडकमा रहेको ‘ओलम्पिक डि मार्से’ फुटबल क्लबको आधिकारिक स्टोरमा समेत तोडफोड र लुटपाट भएको छ । पेरिस चेम्बर अफ कमर्सका अनुसार पेरिसमा मात्रै ३०० देखि ४०० वटा व्यवसायहरू प्रभावित भएका छन्।
हिंसात्मक प्रदर्शन र लुटपाटमा संलग्न रहेको आरोपमा देशभरीबाट करिब २,४०० जना पक्राउ परेका छन् भने पेरिस सरकारी वकिलको कार्यालयका अनुसार ७०० भन्दा बढी व्यक्ति प्रहरी हिरासतमा रहेका छन्। फ्रान्सको प्रमुख शहरका मेयरहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षा निकायले सम्भावित हिंसात्मक परिस्थितिको मूल्याङ्कन गरी पूर्वतयारी गर्न असफल भएको आरोप लगाउँदै आफ्ना शहरहरू असुरक्षित छाडिएको जनाएका छन् ।
आफ्नो मुलुकमा यति ठूलो हिंसात्मक प्रदर्शन, राजनीतिक अशान्ति र आर्थिक संकट चुलिएकै समयमा राष्ट्रपति इम्मानुएल म्याक्रों भने खाडी क्षेत्रको भ्रमणमा निस्केका छन् । हाल उनी कुवेतमा छन् ।
फ्रान्समा बढ्दो इन्धनको मूल्य कम गर्नका लागि थप पेट्रोल र डिजेलको आपूर्ति सुरक्षित गर्ने उद्देश्यले म्याक्रों भ्रमणमा निस्किएको फ्रान्सेली सञ्चार माध्यमले जनाएका छन् । आगामी राष्ट्रपति निर्वाचनको छ महिना अघि भएको यस हिंसात्मक घटनाले म्याक्रों सरकारमाथि थप राजनीतिक दबाब बढाएको छ ।













प्रतिक्रिया