काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका समस्या समाधानका लागि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताएका छन्।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनसरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गरे।
उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि हुने सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिए। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
उपाध्यक्ष थापाले केन्द्रीय समितिले विगतका निर्वाचनको गम्भीर समीक्षा गरी सही निष्कर्ष निकालेको उल्लेख गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए।
भेलामा तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन्। स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।
भेला सम्पन्न भएलगत्तै बुधबार साँझ पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।














प्रतिक्रिया