जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन ।
कुनै पनि दलको स्पष्ट बहुमत नरहेको मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि कम्तीमा तीनदेखि चार दलबीच सहकार्य आवश्यक देखिएको छ । तर, कुन दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति नहुँदा नयाँ राजनीतिक समीकरण अन्योलमा परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएका छन् ।
निर्धारित समयसीमा नजिकिँदै गर्दा पनि दलहरूबीच सहमति बन्न नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए । उनका अनुसार सरकार गठनका विषयमा विभिन्न दलसँग छलफल भइरहे पनि नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लागेको छैन ।
‘विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ । कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन,’ उनले भने ।
उनले नयाँ सरकार गठनका लागि आफ्नो पार्टी सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको पनि बताए ।
नयाँ सरकार गठनको प्रक्रियामा मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालको भूमिका निर्णायक देखिएको छ । एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेका भए पनि उक्त दलले अहिलेसम्म औपचारिक निर्णय गर्न सकेको छैन ।
यसअघि पटकपटक सरकार परिवर्तन भएको र आगामी निर्वाचनसमेत नजिकिएकाले जसपा नेपालका नेताहरू प्रदेश सरकारको नेतृत्व लिन इच्छुक नरहेको बताइएको छ । जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको जानकारी दिए ।
यसैबीच, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले केही दिनअघि आफ्नो पार्टी मधेस प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका थिए । जनमत सरकारमा सहभागी नहुने भएपछि नयाँ गठबन्धन निर्माण थप चुनौतीपूर्ण बनेको छ ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक सदस्य छन् ।
प्रदेशसभामा बहुमतका लागि ५४ सदस्य आवश्यक पर्ने भएकाले कुनै पनि दलले एक्लै सरकार गठन गर्न सक्ने अवस्था छैन । दलहरूबीच सत्ता नेतृत्वको विषयमा सहमति नजुटेमा प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया थप जटिल बन्ने देखिएको छ ।














प्रतिक्रिया