माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा « Khabarhub

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उनको परिवारको पहिचान मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष बनेको छ ।

भद्रपुर–६ मोतियावारी माता मन्दिर छेउमा विगत तीन दशकयता माटाका मूर्ति बनाएर जीवन धान्दै आएका राजवंशी दोस्रो पुस्ताका मूर्तिकार हुन् । पिताबाट आर्जेको सीपलाई पेसामा रूपान्तरण गर्दै उनले दुई सन्तानको शिक्षादीक्षा र चार जनाको परिवार यही मूर्तिकलामा नै निर्भर हुँदै आएको छ । तर पछिल्लो समय उनको यो परम्परागत पेसा आर्थिक सङ्कटमा फस्दै गएको छ ।

राजवंशीका अनुसार लगनशीलता र मेहनतमा कुनै कमी छैन, तर बजारमा बढ्दै गएको अतिक्रमणले उनको उत्पादन बिक्न छाडेको छ । ‘अभिषेक मूर्ति उद्योग’ नाममा कानुनी रूपमा सञ्चालनमा रहेको उनको उद्योग भारतीय बजारबाट अवैध रूपमा भित्रिने सस्ता मूर्तिका कारण व्यवसायमा गम्भीर असरमा परेको छ ।

‘अवैध रूपमा भारतबाट आउने मूर्ति नरोकिने हो भने हामीजस्ता स्वदेशी माटोमा पसिना बगाएर खाने कलाकार भोकै मर्नुपर्ने दिन टाढा छैन,’ उनी पीडा पोख्छन् । कुनै समय चर्चित रहेको उनको उद्योगले नेपालभर पहिचान बनाएको थियो । अहिले ती दिन सम्झिँदा आफ्नै व्यवसाय बनावटी कथा जस्तै लाग्न थालेको राजवंशी बताउँछन् । हिन्दू संस्कृतिका दसैँ, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्मा पूजा, देवी पूजालगायत पर्वका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा उनी सक्रिय छन् । साथै आदिवासी जनजातिको मौलिक संस्कार र संस्कृतिको झलक दिने विभिन्न प्रकारका मूर्ति बनाउँदै आएका छन् ।

भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवतीलगायत जुनसुकै देवीदेवताका मूर्ति माटो र सिमेन्ट दुवै माध्यमबाट बनाउन सक्ने सीप उनीसँग छ । तर ‘भारतमा सस्तो मूर्ति पाइन्छ’ भन्ने हल्लाले ग्राहक सीमापारि जाने वा भारतीय व्यापारी गाउँगाउँमै पुगेर मूर्ति बेच्न थालेपछि समस्या थपिएको राजवंशी बताउँछन् ।

उनका अनुसार भारतीय बजारभन्दा आफ्ना मूर्ति सस्ता हुँदाहुँदै पनि प्रचारप्रसारको अभावले ग्राहकले थाहा नपाउने अवस्था बनेको छ ।

मूर्तिको व्यावसायबाट नै घरपरिवार चलाउँदै आउनुभएका राजवंशी सामाजिक सेवामासमेत सक्रिय हुनुहुन्छ । उनी स्वदेशी श्रम र सीपको सम्मान गर्ने सामाजिक अगुवासमेत हुन् ।

भ्रष्टाचार समाज विचलनको मुख्य कारण भएको ठहर गर्दै राजवंशीले भद्रपुर नगरलाई ‘भ्रष्टाचार शून्य नगर’ बनाउने अभियानसमेत चलाइरहेका छन् । सघन सहरी विकास कार्यक्रमअन्तर्गत भइरहेका सडक विस्तार र स्तरिकरणका काम कमिशनका कारण गुणस्तरहीन भएको भन्दै आवाज उठाइरहने राजवंशी सामान्य लेखपढ गरेको भए पनि सचेत नागरिकका रूपमा परिचित छन् ।

युवापुस्तालाई स्वदेशमै श्रम र सीपको महत्व बुझाउनुपर्ने उनको जोड छ । लोकतन्त्रमा इमानदार र सक्षम शासक आवश्यक रहेको बताउने राजवंशी पैसा र पहुँचका आधारमा राज्य सञ्चालन भइरहेसम्म गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने उनको बुझाइ छ ।

चार जनाको परिवार पाल्दै समाजमा केही देन दिन सफल भएको अनुभव सुनाउने राजवंशी आफ्ना सीप अरूलाई पनि सिकाउन तयार छन् । तर मूर्तिकला सिक्न कोही नआएकोमा उनी चिन्तित देखिन्छन् । पछिल्लो समय ग्राहक अभावका कारण पेसा नै सङ्कटमा परेको उनको गुनासो छ ।

माटोलाई माया गर्ने विष्णु राजवंशी आज पनि भद्रपुरको आदिवासी क्षेत्र महेशपुरमा मूर्तिसँगै रमाइरहेका छन् । तर अवैध आयात, राज्यको उपेक्षा र संरक्षणको अभावले उनको कला मात्रै होइन, पुस्तौँदेखि चलेको परम्परा नै हराउने खतरा बढ्दै गएको छ । (रासस)

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ५९ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र