काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको छ ।
माघ १ बाट प्रदर्शनमा आएका ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’सहित ७ फिल्म हलमा छन् । माघ १ बाट प्रदर्शनमा आएका तीनै फिल्मका व्यापार न्यून छ ।
प्रदर्शनरत फिल्महरुमा ‘परान’बाहेक अरु सबै नेपाली फिल्महरुको व्यापार कमजोर बन्दा बक्स अफिस चिसिएको छ ।
चलचित्र विकास बोर्डको साप्ताहिक बक्स अफिस रिपोर्टअनुसार अहिलेका चल्तीका स्टार प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ पनि फ्लप बनेको छ ।
पुस १७ बाट प्रदर्शनमा आएको यो फिल्मले माघ ३ गतेसम्म ४६ लाख ९५ हजार ग्रस कलेक्सन गरेको छ । यसका लागि जम्मा १४ हजार २५५ वटा टिकट बिक्री भएको छ ।
त्यस्तै, पुस ४ बाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ पनि फ्लप भएको छ । यो फिल्मले गत शनिबारसम्म १ करोड २० लाख मात्रै ग्रस कलेक्सन गरेको छ ।
नेता उज्वल थापाको जीवनीमा आधारित फिल्म ‘दिमाग घोच्ने मान्छे’ले ३ लाख १२ हजार ग्रस कलेक्सन गरेको छ ।
बोर्डका अनुसार ‘परान’ले १७ करोड ७७ लाख ग्रस कलेक्सन गरेको छ ।
कात्तिक १४ यता प्रदर्शनमा आएको एक मात्रै हिट फिल्म ‘परान’ हो । नेपाली फिल्महरुले दर्शकलाई हलसम्म तान्न नसक्दा बक्स अफिसलाई चिसो लागेको छ ।












प्रतिक्रिया