खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा « Khabarhub

खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यहाँस्थित जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा अमिताब ठाकुरले जानकारी दिए । ‘म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ । पाठेघरसम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब त्यो बाध्यताको अन्त्य भएको छ’, उनले भने, ‘हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ ।’

अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रो पटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरू उपचारमा आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्ला अस्पतालको आफ्नै स्रोत साधन उपयोग गरेर गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए । 

‘जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा धेरै महिला रोग लुकाएर तथा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यतामा थिए । यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएका छौँ’, उनले भने, ‘यो जिल्लाका लागि खुशीको कुरा हो । अब कुनै पनि महिलाले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने छैन ।’

दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म पाठेघरको समस्या भएका महिलाको शल्यक्रिया सेवा उपलब्ध नहुँदा अन्य जिल्ला पठाउने गरिएको थियो । अस्पताल जाने/आउने, उपचार गर्ने, खाने र बस्ने खर्च सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेगरी राजधानी लगायतका सुविधायुक्त अस्पतालमा पठाउने गरिएको थियो । 

हालैमात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले त्यस्ता समस्या भएका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो ।

दुवै नगरपालिकाले गाडी रिजर्भ गरेर १८/१८ जना महिला तथा एक/एक जना कुरुवालाई बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ११ : ५१ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल