एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता « Khabarhub

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ल्याएको घोषणापत्रमा परराष्ट्र नीति नेपालको सार्वभौमिकता, स्वाधीनता र समृद्धिबारे ब्याख्या गरेको छ ।

एमालेले ‘देश पहिला’ को मूल मन्त्रमा आधारित रहेर ल्याएको घोषणा पत्रमा छिमेकी राष्ट्रहरूसँग मित्रवत् सम्बन्ध, विश्व शान्ति र आर्थिक कूटनीतिलाई प्राथमिकता दिइएको छ।

घोषणापत्रको खण्ड-ख मा ‘मैत्रीपूर्ण विदेश सम्बन्ध’ (पृष्ठ २४) र समृद्धिका २५ स्तम्भहरूमा स्तम्भ २४ ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ (पृष्ठ ७७) तथा स्तम्भ २५ ‘नेपालका सङ्ग्राव दूत, एनआरएनको सम्मान’ (पृष्ठ ७८) ले परराष्ट्र नीतिको ब्याख्या गरेको छ।

प्रमुख सिद्धान्त

एमालेको परराष्ट्र नीति नेपालको भूराजनीतिक जटिलता (भारत र चीनबीचको अवस्था) लाई ध्यानमा राखेर तटस्थ र सन्तुलित बनाउने कोसिस गरिएको छ।

यसले नेपाललाई ‘सार्वभौम सम्पन्न स्वाधीन राष्ट्र’का रूपमा स्थापित गर्दै युद्ध, हस्तक्षेप र सैन्य गठबन्धनलाई अस्वीकार गरेको छ ।

प्रमुख नीति

१. असंलग्नता र तटस्थता :

एमालेको यो नीति असंलग्न वैदेशिक नीतिमा आधारित छ, जसमा विश्व न्याय, शान्ति र स्वतन्त्रताको पक्षधरता छ।

घोषणापत्रमा भनिएको छ, ‘हामी कुनै पनि प्रकारको सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिका निम्ति योगदान गर्न सक्ने ठान्दैनौं।’

यो पञ्चशील सिद्धान्त (शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप, पारस्परिक समझदारी) मा आधारित रहेको घोषणा पत्रमा उल्लेख छ ।

सार्वभौम समानता :

सबै राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्ने प्रतिबद्धता एमालेले गरेको छ। कुनै राष्ट्रको स्वनिर्णय वा अखण्डतामाथि हस्तक्षेप अस्वीकार्य रहने एमालेको अडान छ। यो सिद्धान्तले नेपाललाई शक्ति सन्तुलनमा राखेर ठूला शक्तिहरूसँगको सम्बन्धलाई सन्तुलित बनाउने एमालेले जनाएको छ।

२. विश्व शान्ति र संवाद :

एमालेले युद्धको विपक्षमा उभिएर विश्व शान्तिको पक्षधरका रुपमा आफूलाई उभ्याएको छ।

संयुक्त राष्ट्रसंघको वडापत्रलाई आधार मानेर संवाद र सद्भावमा सहभागी हुने वाचा पनि एमालेले गरेको छ।

एमालेले यो नीति नेपालको सानो आकार र भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर रक्षात्मक रहँदै ल्याएको हो । यो नीतिअनुसार आक्रमण वा पक्षधरता नभएर सहयोगलाई जोड दिएको छ।

छिमेकीसँगको सम्बन्ध

घोषणापत्रमा छिमेकीहरू (भारत र चीन) लाई विशेष जोड दिइएको छ। ‘छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझै मजबुत एवम् सौहार्द्र बनाउन र पारस्परिक सहयोग अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौँ’, घोषणा पत्रमा भनिएको छ।

मित्रता र विश्वास :

एमालेले छिमेकीसँग इमानदारीपूर्ण मित्रता राख्ने प्रतिबद्धता जनाएको छ। कुनै छिमेकीको अहित नचिताउने र अहित हुने काम नगर्ने वाचा एमालेको छ।

नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर सन्तुलन नीतिका रूपमा एमालेले आफूलाई उभ्याएको छ । यसले भारत-चीनबीचको तनावमा नेपाललाई तटस्थ राख्ने देखिन्छ।

एमालेले यो दृष्टिकोण विगतका नाकाबन्दी र सीमा विवाद) बाट सिकेर ल्याएको हो । एमालेले विगतका सरकारहरूमा छिमेकीसँगको सम्बन्धलाई मजबुत बनाएको दाबी गर्दै आगामी लागि ‘सबैसँग मित्रता’लाई आधारभूत नीति बनाएको छ। तर, सीमा विवाद (लिपुलेक, लिम्पियाधुरा र कालापानी ) जस्ता मुद्दामा स्पष्ट समाधान उल्लेख नगरी सैद्धान्तिक कुरा बढी ब्याख्या गरिएको छ ।

३. वैश्विक दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्य

एमालेको नीतिले नेपाललाई विश्व मञ्चमा ‘शान्ति दूत’ को रूपमा प्रस्तुत गरेको छ।

अन्तर्राष्ट्रिय संघ-संगठन : संयुक्त राष्ट्रसंघ, क्षेत्रीय संघहरू (सार्क, बिमस्टेक) सँग सहकार्य गर्ने प्रतिबद्धता एमालेको छ। विश्वव्यापी मुद्दाहरू (जलवायु परिवर्तन, व्यापार) मा विवेकपूर्ण योगदान गर्ने वाचा पनि एमालेले गरेको छ।

नेपालको गौरव : एमालेले ‘नेपाल र नेपालीको गौरव वृद्धि हाम्रो अभिष्ट हो’ भन्दै राष्ट्रिय छवि मजबुत बनाउने कुरामा जोड दिएको छ ।

४. आर्थिक कूटनीति र श्रम कूटनीति

एमालेले परराष्ट्र नीतिलाई आर्थिक समृद्धिसँग जोडेर हेरेको छ । यसलाई दलहरूको घोषणापत्रमा नवीन अभ्यास मानिएको छ।

आर्थिक कूटनीति : विदेशस्थित नेपाली नियोगहरूको क्षमता विकास गरी उत्पादन क्षेत्रमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रवर्द्धन गर्ने योजना एमालेको छ । नेपालको क्रेडिट रेटिङलाई उपयोग गरेर लगानी आकर्षित गर्ने योजना पनि एमालेको छ ।

श्रम कूटनीति : श्रम गन्तव्य देशहरूसँग सामाजिक सुरक्षासहित द्विपक्षीय सम्झौता गर्ने योजना एमालेको छ। राज्यका सेवाहरू विदेशमा रहेका नेपालीसम्म विस्तार गर्ने पनि एमालेको योजनामा छ ।

५. प्रवासी नेपाली (एनआरएन)

एमालेले स्तम्भ २५ मा एनआरएनलाई ‘सद्भावना दूत’का रूपमा सम्मान गर्दै उनीहरूलाई राष्ट्र निर्माणमा जोड्ने घोषणा गरेको छ।

नीति निर्माण, लगानी, व्यवसाय प्रवर्द्धनमा प्रतिनिधित्व गराउने पनि एमालेको योजना छ। वार्षिक १ खर्बको ‘डायस्पोरा बन्ड’ जारी गरी पूर्वाधार र निर्यात उद्योगमा लगानी गर्ने वाचा एमालेको छ। सम्पत्ति संरक्षण, मुनाफा फिर्ता, कर छुट जस्ता सुविधा प्रवासी नेपालीले पाउनेछन् ।

सेवा विस्तार : मुद्दाममिला द्रूत गतिमा हेर्ने, राजस्व भुक्तानी विदेशबाट, एकल बिन्दू सेवा सुरू गर्ने पनि एमालेले जनाएको छ।

एमालेको यो घोषणा नेपालको रेमिट्यान्स निर्भर अर्थतन्त्रलाई मजबुत बनाउने रणनीतिमा आधारित छ । एनआरएनलाई ‘सुप्रिम अर्गानिक इन्भेष्टर’ भन्दै लगानी आकर्षित गर्ने नवीन प्रयास एमालेले गरेको हो । वार्षिक जीडीपीको २० प्रतिशत योगदान दिने रेमिट्यान्सलाई उत्पादनशील बनाउने योजना पनि एमालेले बनाएको । तर एनआरएनको दोहोरो नागरिकता जस्ता मुद्दामा एमाले मौन छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : २५ बजे

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

एजेन्सी– क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका नौ