काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा दिए । आफ्नो नेतृत्वमा निर्वाचनमा होमिएको पार्टीको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्मनाक हार भएपछि नैतिकता प्रदर्शन गर्दै उनले राजीनामा दिएको बताइएको छ ।
सभापति थापा निर्वाचनको डेढ महिना अघि मात्रै पुसको अन्तिम साता विशेष महाधिवेशनमार्फत पार्टी सभापतिमा निर्वाचित भएका थिए । उनको नेतृत्वको कांग्रेस निर्वाचनमा ‘बद्लियो कांग्रेस बदल्छौँ देश’ र ‘अबकी बार गगन सरकार’ जस्ता नारा दिएर होमिएको थियो ।
थापा र कांग्रेसले अघि सारेको नारा र प्रतिबद्धतालाई भने मतदाताले अस्वीकृत गरिदिए । तर, जम्मा डेढ महिना अवधि पार्टी नेतृत्व गरेका सभापति थापाले भने नैतिकता प्रदर्शन गर्दै सभापति पदबाट राजीनामा दिए ।
विशेषगरी कांग्रेसभित्र थापा पक्षका नेता तथा कार्यकर्ताले उनको राजीनामालाई स्वाभाविक रूपमा लिएका छैनन् । उनीहरूले निर्वाचनमार्फत कांग्रेसको पक्षमा आएको नतिजा पनि विशेष महाधिवेशनको कारणले आएको दाबी गरेका छन् ।
ओली–प्रचण्डले प्रदर्शन गर्छन् नैतिकता ?
निर्वाचनअघिको आकारका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल थियो । फागुन २१ गतेको निर्वाचनपश्चात पनि अबको संसदमा कांग्रेस दोस्रो ठूलो दल बन्न सफल भएको छ । अर्थात् कांग्रेस अबको संसदमा प्रमुख प्रतिपक्ष दल हुनेछ ।
जबकि ०७९ मंसिरमा भएको निर्वाचनमा नेकपा (एमाले)ले समानुपातिकतर्फ सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको थियो । तर, यो निर्वाचनमा भने कांग्रेसले एमालेलाई ३ लाख बढी लोकप्रिय मतले उछिनेको छ ।
यस निर्वाचनमा एमालेले झण्डै ५० प्रतिशत समानुपातिक मत गुमाएको छ भने तत्कालीन माओवादी, एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेकपाले पनि झण्डै ५० प्रतिशत मत गुमाएको छ ।
तर, ती पार्टीमा लामो समयदेखि नेतृत्व गर्दै आएका नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने संसदीय राजनीतिमा आफ्नै नेतृत्वमा सर्मनाक हार हुँदा समेत कुनैपनि स्तरको नैतिकता प्रदर्शन गर्न नचाहेको स्पष्ट देखाएका छन् ।
यतिबेला एमालेका अध्यक्ष ओली आफ्नै बाबुको मृत्युपछि काजक्रियाको क्रममा छन् । बाबुको मृत्युपछि भोलिपल्ट नै उनले पार्टी सचिवालयको बैठक आफ्नै निवासमा राखेर समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्यको सूची टुंगो लगाए ।
तर, अध्यक्ष ओलीले निर्वाचनबाट जनमतबाट भएको हारलाई सहज स्वीकार गर्न तयार देखिएका छैनन् । उनले बुधबार मात्रै प्रेस चौतारीको एक समूहसँगको भेटको क्रममा निर्वाचन मत परिणामले समाज विचलनतर्फ जानसक्ने प्रतिक्रिया दिएका थिए ।
साथै, एमालेभित्र निर्वाचनपछि विशेषगरी पार्टीका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराईले हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने सार्वजनिक बहस छेड्दा ओली निकट रहेका महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत लगायतले भने प्रतिवाद गर्दै आएका छन् ।
अझ गगन थापाले नैतिकता प्रदर्शन गर्दै राजीनामा दिएपछि एमाले ओली निकटको टिममा दबाब पैदा भएको देखिएको छ । गगन थापाले दिएको राजीनामालाई सहज स्वीकार गर्न नसकेर ओली निकटका नेता सूर्य थापाले ‘यो भद्दा मजाक प्रदर्शन’ हो भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
निर्वाचनपछि एमालेमा देखिएको ध्रुवीकरणले बरु वारपार लडाइँ लड्न तयार भएको तर, नयाँ नेतृत्व निर्माणका लागि ओली मार्गप्रशस्त गर्न तयार नभएको स्पष्ट देखाएको छ ।
त्यस्तै, चार दशकदेखि पार्टीको नेतृत्व गर्दै आएका प्रचण्ड ०६४ को निर्वाचनयता निरन्तर खुम्चिँदै आउँदा पनि आफूमाथि समीक्षा गर्न तयार देखिएका छैनन् । बरु उनी पार्टीको अर्को उम्मेदवारले जित्न सक्ने निर्वाचनमा गएर जित हासिल गरेपछि आफूलाई बहादुर जस्तै प्रस्तुत गर्न पुगेका छन् ।
निर्वाचन परिणामपछि प्रचण्डले विभिन्न ढंगले सार्वजनिक अभिव्यक्ति दिए तर, उनले पार्टीमा नेतृत्व पुस्तान्तरण वा हस्तान्तरणको विषयमा भने कुनै चासो दिएको पाइँदैन । धेरै समूह मिलेर स्पष्ट आकार समेत नलिएको सो पार्टीमा पार्टी नेतृत्व हस्तान्तरणको प्रश्न पनि कसैले व्यवस्थित ढंगले उठाउने साहस गरेको देखिएको छैन ।
नेकपाका नेता देवप्रसाद गुरुङले नेकपाभित्र निर्वाचनबाट आएको मत परिणामको आधारलाई लिएर नेतृत्वको विषयमा बहस गर्नुपर्ने अवस्था नरहेको र सम्पूर्ण पार्टी एकताबद्ध रहेको बताए । उनको भनाइले पनि संसदीय राजनीतिमा सर्मनाक हार व्यहोरेको नेकपाले आफ्नो नतिजाको कारणका बारेमा निर्मम समीक्षा गर्न तयार नरहेको स्पष्ट देखाएको छ ।













प्रतिक्रिया