रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ? « Khabarhub

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि विवादको केन्द्रमा छिन्।

यस पटक विवादको कारण उनको अभिव्यक्ति, भाषण वा फोहोर मैलाविरुद्धको अभियान होइन, बरु एक साधारण देखिने चश्मा हो, जसलाई धेरैले ‘स्पाई क्यामेरा चश्मा’ भनेर चिन्छन्।

झट्ट हेर्दा यो चश्मा सामान्य सनग्लास जस्तो देखिन्छ। तर नजिकबाट हेरेमात्रै यसको दुवै किनारमा साना लेन्स जडान गरेको देखिन्छ, जसले संकेत गर्छ-यो केवल चश्मा मात्रै होइन, प्रविधियुक्त स्मार्ट डिभाइस पनि हो।

यस्तो चश्माले प्रयोगकर्तालाई फोटो वा भिडियो अरूले थाहा नै नपाई खिच्न सक्छ । आशिकाले यही चश्मा लगाएर रास्वपाको दुई दिने गोप्य अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाइन्।

यो कार्यक्रम पार्टीका सांसदहरूलाई अनुशासन, रणनीति र आन्तरिक नीतिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको थियो । यसमा सहभागीलाई मोबाइल फोन वा कुनै रेकर्डिङ उपकरण ल्याउन पूर्णरूपमा निषेध गरिएको थियो।

तर पार्टीको यो कडा अनुशासनको नियमबीच आशिका उक्त चश्मा लगाएर बैठकमा पुगिन् । यसले स्वभाविक प्रश्न उठाउँछ- के आशिकाले वास्तवमै गोप्य कार्यक्रममा केही रेकर्ड गरिरहेकी थिइन् ? वा, केवल चश्माकै रुपमा प्रयोग गरेकी थिइन्? अहिलेसम्म यसको प्रमाण सार्वजनिक भएको छैन। तर पार्टीको निर्देशनविपरीत गरेको आशिकाको यो हर्कतले गोपनीयता र अनुशासनमा प्रश्न उठाएको छ।

विवादित चश्मा प्रयोगको घटनामा आशिका जोडिएको पहिलो प्रकरण होइन यो। यसअघि पनि उनले यस्तै ‘स्पाई क्यामेरा’ चश्मा प्रयोग गरेर विभिन्न भिडियो खिचेको भेटिएको छ।

तीमध्ये केही भिडियोहरू सामाजिक सञ्जालमा अझै उपलब्ध छन्। एकपटक प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा त्यही चश्माबाट खिचिएको भिडियो भाइरल भयो। त्यस्तै, काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा सरकारी नम्बर प्लेट भएको मोटरसाइकल चलाउने एक कर्मचारीसँग संवाद गर्दा खिचिएको भिडियो पनि यही क्यामेराबाट खिचिएको भेटिएको छ।

सामान्यत: यस्तो ‘हिडन क्यामेरा’ विशेष उद्देश्यका लागि प्रयोग हुन्छ। गुप्तचर निकाय, अनुसन्धानकर्ता, पत्रकार वा अधिकारप्राप्त निकायहरूले संदिग्ध गतिविधि वा गैरकानुनी कार्यको प्रमाण संकलन गर्न यस्ता उपकरण प्रयोग गर्छन्। तर सार्वजनिक पद धारण गरेका सांसदले पार्टीको गोप्य बैठकमा यस्तो उपकरण प्रयोग गर्नु कति उपयुक्त भन्ने प्रश्न अहिले उठेको छ।

चश्माको कथा

आशिकाले प्रयोग गरेको चश्मा मेटा प्लेटफर्म्स (फेसबुक को मातृ कम्पनी) र रे-बन को सहकार्यमा बनेको स्मार्ट ग्लास हो। मेटाले पहिलोपटक यो चश्मा सन् २०२३ सेप्टेम्बर २७ मा सार्वजनिक गरेको थियो।

प्रारम्भिक संस्करणमा १२ मेगापिक्सेल क्यामेरा थियो, जसले ६० सेकेन्डसम्म भिडियो खिच्न सक्थ्यो। सन् २०२४ मा सार्वजनिक गरिएको नयाँ संस्करणमा थप उन्नत सुविधा जोडिएका छन् ।

यसबाट लाइभ भिडियो स्ट्रिमिङ, मेटा एआई इन्टिग्रेसन, म्यासेन्जर र व्हाट्सएपमार्फत् डाइरेक्ट भिडियो कल र भ्वाइस कमाण्ड (हे मेटा, टेक ए भिडियो) मार्फत स्वतः भिडियो खिच्ने सुविधा उपयोग गर्न सकिन्छ।। नयाँ संस्करणले तीन मिनेटसम्म भिडियो खिच्न सक्ने क्षमता राख्छ। यसको अर्थ प्रयोगकर्ताले ह्यान्ड्स–फ्री रुपमै सजिलै भिडियो खिच्न सक्छ।

आशिका पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बनेकी छन्। सार्वजनिक ठाउँकााअनियमितता वा अशोभनीय व्यवहारविरुद्ध उनले कडा प्रतिक्रिया जनाउँदै आएकी छिन्।

उनका केही भिडियोहरू भाइरल भइसकेका छन्, जसले उनलाई विवादास्पद र लोकप्रिय दुवै रुपमा चिनाएको छ। उनै विवावित पात्र आशिकालाई धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाले उम्मेदवार बनाएको थियो।

उनले चुनाव जितेर संसद्को यात्रा तय गरिसकेकी छन्। तर उनको चुनावी अभियान पनि विवादरहित थिएन। एक कार्यक्रममा बोल्दा गल्तीवश ‘भ्रष्टाचार गर्न चाहन्छु’ भन्ने अभिव्यक्ति दिएपछि उनी आलोचनाको केन्द्रमा परिन् ।

रास्वपा आफैं अनुशासन र पारदर्शिताका लागि कडा पार्टीका रूपमा प्रस्तुत हुँदै आएको छ। तर आफ्नै सांसदले पार्टीको गोप्य बैठकमा यस्तो प्रविधि प्रयोग गर्दा अनुशासनको प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।

आशिकाले अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि आफूलाई ‘फेरि स्कुल पढ्न पाएको जस्तो अनुभव’ भएको प्रतिक्रिया दिएकी थिइन्। यसले देखाउँछ उनी प्रशिक्षणप्रति सकारात्मक छिन्। तर चश्मा प्रयोगको विवादले त्यस सन्देशलाई कमजोर बनाएको छ।

नेपालमा गोप्य रूपमा भिडियो वा अडियो रेकर्ड गर्नु संवेदनशील कानुनी विषय हो। अनुमतिबिना निजी वा गोप्य कुराकानी रेकर्ड गर्दा गोपनीयता उल्लङ्घनको ठहर हुन सक्छ। सार्वजनिक स्थानमा रेकर्डिङ गर्न केही हदसम्म छुट भए पनि पार्टीको आन्तरिक बैठक जस्तो ‘कन्ट्रोल्ड इनभाइरन्मेन्ट’ मा यस्तो उपकरण प्रयोग गर्नु नैतिक दृष्टिले उचित हुँदैन ।

मुख्य प्रश्न —आशिकाले बैठकमा वास्तवमै रेकर्ड गरिरहेकी थिइन् वा स्पाई चश्मा मात्रै लगाएकी थिइन् ? यसको उत्तर अझै बाँकी छ। तर यस घटनाले प्रविधि प्रयोग र दुरुपयोगबीचको सीमारेखा कहाँ छ भन्ने बहस सुरू भइसकेको छ। सार्वजनिक पदमा रहेकाले प्रविधि प्रयोग गर्दा कस्तो जिम्मेवारी लिनुपर्छ भन्ने प्रश्न उठेको छ।

रास्वपाले कागजमा मात्रै होइन, व्यवहारमा पनि अनुशासन लागू गरिरहेको छ कि छैन भन्ने अवस्था सिर्जना भएको छ। प्रविधि जति उन्नत हुँदै गयो, त्यसको प्रयोगसँगै नैतिक जिम्मेवारी पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। आशिका तामाङको यो प्रकरणले यही सन्देश सबैका लागि पठाएको छ। सांसद भएर पनि व्यक्तिगत शैली र प्रविधि प्रयोगको जिम्मेवारी सार्वजनिक हित र गोपनीयतासँग सन्तुलित हुनुपर्छ।

यस घटनाले एउटा महत्वपूर्ण बहस सुरू गरेको छ- कुन सीमाभित्र प्रविधिको प्रयोग सुरक्षित छ, कहिले दुरुपयोग हुन सक्छ। सांसद, नेता र सार्वजनिक पदका सबैले प्रविधिको हरेक कदममा जिम्मेवारीपूर्वक विचार गर्नुपर्ने आवश्यकतालाई यसले उजागर गरेको छ। आशिकाको चश्मा प्रकरणले केवल पार्टीभित्रको गोपनीयतालाई मात्रै होइन, सम्पूर्ण समाजमा प्रविधि र नैतिकताको सन्तुलनसम्बन्धी बहसलाई पनि तातो बनाएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ५ : ०० बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्