जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी « Khabarhub

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार कृष्ण उदाशी । ४१ वटा कविता समेटिएको यस सङ्ग्रहमा जीवन, प्रकृति, मानवीय संवेदना र देशको राजनैतिक विचलनजस्ता विविध आयामलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

पाँचथर जिल्लामा जन्मिएका उदाशी २०५५ सालदेखि साहित्यिक सिर्जनामा सक्रिय रहँदै आएका छन् । उनले २०५७ सालमा ‘शायरी’ प्रकाशन गर्दै आफ्नो औपचारिक साहित्यिक यात्रा प्रारम्भ गरेका थिए । उपन्यास, गजल, गीत, कथा र कविताजस्ता विविध विधामा समान दक्षता राख्ने उदाशीका ‘दाइजो’ (उपन्यास, २०६४), ‘दोभानपारि बाबरी’ (गजलसङ्ग्रह, २०६७) तथा बबिता घिमिरेसँग संयुक्त रूपमा लेखिएको ‘म हराएको साँझ’ (कथासङ्ग्रह, २०७०) प्रकाशित कृतिहरू हुन् ।

उर्लाबारी गजल मञ्चका संस्थापक सचिव, उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापक अध्यक्षसमेत रहेका उदासी विभिन्न साहित्यिक संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय छन् । उनले ‘प्रारम्भ’ साहित्यिक भित्तेपत्रिका, ‘सिर्जनाको बगैँचा’ संयुक्त साहित्य सङ्ग्रह तथा ‘सम्बन्ध’ द्वैमासिक साहित्यिक पत्रिकाका साथै विभिन्न व्यक्तिहरूका दर्जनौँ व्यक्तिगत कृतिहरूको पनि सम्पादन गरिसकेका छन् । उनले लामो समयसम्म रेडियो कार्यक्रम ‘गजलमाला’ र ‘सिर्जनको बगैँचा’ उत्पादन र प्रसारण पनि गरेका थिए ।

गीत–सङ्गीत क्षेत्रमा पनि उनको उल्लेखनीय उपस्थिति रहेको छ । उनका पाँच दर्जनभन्दा धेरै गीत रेकर्ड भइसकेका छन् । उनले रचेको ‘म घुम्टो उघार्छु’ बोलको गीतले २०८० सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो । प्रस्तुत छ उनै साहित्यकार कृष्ण उदाशीसँग गरिएको पुस्तक वार्ता :

पछिल्लोपटक पढेर सकाएको पुस्तक कुन हो ? अहिले के पढ्दै हुनुहुन्छ ?
पछिल्लो पटक पढेको पुस्तक सीमा आभासको ‘महायुग’ हो । यो बीचमा प्रकाश भट्टराईको गीत सङ्ग्रह ‘गुनासो’ पनि पढिसकेँ । दीपा दाहालको ‘विजयनी’ का २–३ वटा कथा पढिसकेको छु । यो बिचमा सम्पादनको काम पनि गर्नुपर्ने भएकाले केही पाण्डुलिपिमाथि काम भइरहेको छ । सबभन्दा धेरै त तिनीहरू पढ्नुपर्छ । सम्पादनकै कामले पनि सयौँ बालकथाहरू पढेको छु । थुप्रै पुस्तक लाममा छन् ।

तपाईँलाई मनपर्ने विधा ? अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न ।
म त साहित्यका सबै विधा मन पराउँछु । म आफैँ पनि उपन्यास लेखेर कृतिगत रूपमा पदार्पण गरेको हुँ । गजल, कथा र कविताका पुस्तक आइसकेका छन् । गीत पनि रेकर्ड भएका छन् । कविता, कथा, उपन्यासका पुस्तकहरू सम्पादन पनि गरेको छु । त्यसले गर्दा म जुन विधामा काम गरिरहेको हुन्छु, मलाई त्यही विधा राम्रो लाग्छ ।

पढ्ने समय, स्थान र वातावरणको कुरामा चाहीँ घरमा पढ्न, सम्पादन गर्न, लेख्नका लागि मेरो एउटा छुट्टै कोठा छ । म त्यही कोठामा सम्पादनको काम पनि गर्छु । फुर्सद र आवश्यकता अनुसार जुनसुकै बेला पनि पढ्छु । लेखपढ गरिरहेका बेला हल्ला भइदिएन भने त्यो वातावरण खेलपढका लागि मलाई असाध्यै अनुकूल लाग्छ ।

अध्ययनका लागि दैनिक कति समय छुट्याउनु हुन्छ ?
अचेल मेरो काम नै पुस्तक सम्पादन गर्ने भएकाले छुट्टै समय नै निकाल्दिनँ । सबै त पढिरहनु नै पर्छ । त्यसैले दैनिक गर्ने अरू कामबाहेक धेरैजसो मेरो काम पढ्ने नै हुन्छ ।

तपाईँका प्रिय तीन पुस्तकका नाम र ती पुस्तक मन पर्नुको कारण ?
पहिलो चाहिँ म रामायण र गुणरत्नमालालाई लिन्छु । ती पुस्तकहरूले मेरो मस्तिष्कमा अक्षर रोपिनुभन्दा पहिला नै सिर्जना र कल्पनाशीलताको भावना रोपिदिए ।

दोस्रो- जेके याक्थुम्बाको ‘अन्तिम इच्छा’ उपन्यास । त्यो मैले पहिलो पल्ट पढेको उपन्यास हो । जसको कारण मैले उपन्यास लेख्ने प्रेरणा पाएको थिएँ ।

तेस्रो- सरुभक्तको ‘पागलवस्ती’ उपन्यास । मैले जीवनमा साह्रै धेरैपल्ट दोहोर्‍याएर पढेको उपन्यास हो यो । यो उपन्यासमा सरुभक्तले जून स्तरको कल्पनाशीलता प्रयोग गर्नु भएको छ, त्यो स्तरको कल्पनाशीलतामा त्यही स्तरको सुन्दरता पनि पाउन असाध्यै दुर्लभ हुन्छ ।

अरु थुप्रै पुस्तक छन्, जसले मलाई धेरै पटक परिवर्तन गरेका छन् । कविताका लागि मनु मञ्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून’, मिश्र वैजयन्तीको ‘पार्श्व आवाज’ लाई पनि मैले सम्झिनुपर्छ ।

पुस्तकले तपाईँको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठुलो परिवर्तन के हो ?
यो महत्वपूर्ण प्रश्न हो । म अक्षर चिन्नुभन्दा पहिलादेखि नै पुस्तकसँगको सङ्गतमा थिएँ । हरेक बेलुका घरमा बुबा कुप्पी बालेर रामायण, महाभारत, देवीभागवत, गुणरत्नमाला आदि पुढ्नुहुन्थ्यो । खेतबारीको काम गर्दा बुबा खेतालालाई पनि र हामीलाई पनि विभिन्न लोक कथा, अकबर वीरबलका कथा सुनाउनु हुन्थ्यो । मैले ‘वीरबलको खिचडी’ शीर्षकको कथा अक्षर चिन्नु भन्दा पहिला नै कण्ठ गरेको थिएँ । त्यही आदतले अक्षर चिन्ने बित्तिकैदेखि कथा, कविताहरू खोजीखोजी पढ्ने बानी भयो । त्यसैले म आज जे छु, जेजस्तो अवस्थामा छु अक्षरकै कारण मात्रै छु । अब मैले ‘पुस्तकका कारण ममा के परिवर्तन आयो ?’ भनेर खोज्नु नै पर्दैन जस्तो लाग्छ ।

पुस्तक किन पढ्ने ?
विचार, शैली, समय र जीवनप्रतिको बुझाइमा नवीकरण गर्न । मेरो हकमा त हातमा पुस्तक भएको बेला मभित्रको आत्मविश्वासमै फरक पर्छ । त्यसमा पनि लेखकहरूका लागि पहिलो र अन्तिम सर्त नै पढ्नु हो । राम्रो पाठक लेखक नहुन पनि सक्छ तर नपढी कुनै पनि लेखक, लेखक बन्नै सक्दैन ।

डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला ?

डिजिटलमै सही, मान्छेले पढ्छ भने त भइहाल्यो । तर मान्छेलाई जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ मान्छेले पढ्नैपर्छ । हो, समयअनुसार पढ्ने शैली फरक पर्ला । हाम्रा बुबाहरू रामायण, महाभारत पढ्दा पुस्तक भित्र ठुलाठुला अक्षर भएका हरफ हुन्थे । बिस्तारै सानासाना अक्षर भएका पुस्तक आउन थाले । साधा आवरण भएका, दुई रङको आवरण भएका, रङ्गीन आवरण भएका हुँदै अहिले थ्रिडी आवरण र ‘वेटलेस’ कागजमा छापिएका किताब पढ्न पाइन्छन् । यहाँबाट मोबाइलमा हातहातै पढ्न, हेर्न र सुन्नका लागि मिल्ने सामग्री आएका छन् । यसको पनि निश्चित आयु छ । यो पनि चाँडै परिवर्तन हुनेवाला छ । मान्छे बुख्याँचा बन्न चाहँदैन । त्यसैले पढाइको मात्रा धेरै र थोरै होला मान्छेले पढ्नैपर्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ०८ बजे

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको