रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ? « Khabarhub

रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ?



काठमाडौं- गत शुक्रबार अबेर सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा निर्णय सुनायो । १४ औँ महाधिवेशन कार्यसमिति ब्युँताउन दायर रिट सर्वोच्चले खारेज गरिदिएपछि विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापासहित उनी नेतृत्वको कार्यसमिति नै वैध ठहरियो ।

निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले पनि अदालतको निर्णय स्वीकार गरिसकेको बताएको छ । अब सोही हैसियतमा कुनै निर्णय नगर्ने खड्का समूहले प्रष्ट पारेको छ । विशेष महाधिवेशनको नेतृत्वलाई नै अवैध मानेका खड्काले अदालतको निर्णय कुर्दै गर्दा तीन पटकसम्म कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ती निकालेका थिए ।

१४ चैतमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्दा खड्काले पार्टीको आधिकारिक लेटरप्याडमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए । त्यसमा थापा पक्ष मौन बस्यो ।

चैत १७ गते पुनः खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक डाके । यसबारे १८ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्यो । उक्त बैठकले खड्कालाई पार्टीको लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य ननिकाल्न सचेत गराएको थियो । तर उनले टेरेनन् ।

वैशाख २ गते तेस्रो पटक कार्यवाहक सभापतिकै हैसियतमा उनले फेरि विज्ञप्ती निकाले । त्यसपछि भने समितिले उनलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो । ‘नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा गएिको प्रेस विज्ञप्ति पार्टीको विधान विपरीत देखिएकोले विधानको २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ,’ समितिको निर्णयमा उल्लेख छ ।

अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्तिलाई पार्टीको विधान र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको समेत बताइएको छ । समितिको निर्णयलाई निरर्थक र हास्यास्पद भनेका उनले हालसम्म स्पष्टीकरण दिएका छैनन् । यतिसम्म कि थापा पक्षसँग औपचारिक रुपमा उनको वार्ता नै भएको छैन ।

यसैबारे निर्क्यौल गर्न खड्का समूहले आज धुम्बाराहीको एक होटलमा बैठक डाक्यो । बैठकले नै पार्टी एकताको भूमिका सानेपाले नै खेल्नुपर्ने निष्कर्ष निकालेको छ । सोही क्रममा पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला पक्षधर नेताहरु र १४ औँ महाधिवेशनका उपसभापति धनराज गुरुङले समेत अब आफूहरु थापालाई नै सभापति स्वीकार गरेर अघि बढ्ने र खड्का समूहको बैठकमा सहभागी नहुने बताइसकेका छन् ।

यति हुँदै गर्दा खड्कालाई सुशासन समितिले स्पष्टीकरण सोधेको बारे के होला ? ‘उहाँलाई समितिले स्पष्टीकरण सोधेर प्रक्रिया अघि बढाइसकेको छ । उहाँले म पूर्व भएँ भनिसक्नुभएको छ । परिस्थिति नै फरक बनिसकेको अवस्थामा अब छिट्टै यी सबै विषय केलाएर मात्रै निर्णय गरिन्छ,’ समितिका सचिव दिनेश थापाले खबरहबसँग भने ।

अब १/२ दिनमै समितिको बैठक बस्ने उनले जानकारी दिए । उक्त समितिमा संयोजकको भूमिकामा केन्द्रीय सदस्य तारामान गुरुङ छन् भने सदस्यमा धना खतिवडा र सुवास पोखरेल रहेका छन् । खड्कालाई सचेत गराउने बेलादेखि नै विधानसम्मत प्रक्रिया सुरु भइसकेकाले विधान अनुरूप नै यसलाई टुङ्गोमा पुर्‍याएर छाड्ने पार्टीका केन्द्रीय सदस्य तथा समिति संयोजक गुरुङ बताउँछन् ।

‘हामीले विधान अनुरूप नै सचेत गराउने निर्णय गरेका थियौँ । त्यो नमानेपछि स्पष्टीकरण सोधियो । अब त्यसलाई हामीले रोक्न मिल्दैन,’ उनले भने । स्पष्टीकरण बुझाएको वा विधानअनुरुप केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिएको खण्डमा भने अर्को निर्णय हुनसक्ने उनले बताए । समितिकै अर्की सदस्य धना खतिवडा भने समय अनुसार विकास हुने घटनाक्रमसँग यसबारे थप प्रष्ट हुँदै जाने बताउँछिन् ।

‘समय बाँकी नै छ, अहिले यसबारे बोलिहाल्ने समय भएको छैन । जे हुन्छ विधान अनुरुप नै हुन्छ तर यो फरक माहोलमा माथिबाट केही निर्णय भएमा पार्टी एकताको पक्षमा सबै जुट्नुपर्छ,’ उनले भनिन् । यस्तै, उनले १ महिने जरा अभियानका क्रममा कोहीले पार्टीको मूल्य मान्यता विपरित मत नहाल्ने वा नहाल्न प्रेरित गरेको भए कारबाहीको भागिदार हुनैपर्ने चेतावनी दिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : ४५ बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।