नवलपरासी – दुर्लभ एकसिङ्गे गैँडा संरक्षणको सन्देश दिनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ‘राइनो संरक्षण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही वैशाख १२ देखि २३ गतेसम्म मध्यविन्दु नगरपालिका–२, स्थित राइनो रङ्गशालामा सञ्चालन हुने छ ।
आयोजक राइनो क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीका अनुसार आठौँ संस्करणका रूपमा आयोजना हुन लागेको सो प्रतियोगितामा विभागीय क्लबसहित देशभरबाट ११ तथा भारतको कोलकत्ताबाट एउटा क्लबको सहभागिता रहने छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विगतदेखि नै गैँडालगायत वन्यजन्तु संरक्षणका अभियान सञ्चालन हुँदै आएका सन्दर्भमा खेलकुदमार्फत पनि संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
‘खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु तथा वातावरण संरक्षणप्रति चेतनाको विकासमा सहयोग पुग्ने साथै पर्यापर्यटन, जलपर्यटन र खेलकुद पर्यटनमार्फत यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ,’अध्यक्ष भण्डारीले भने, ‘वन्यजन्तुको चोरी सिकारविरुद्ध सबैलाई सङ्गठित र मर्यादित रूपमा अघि बढ्न प्रेरित गर्ने तथा वन, वन्यजन्तु र वातावरण संरक्षणमा प्रतियोगिताबाट थप सहयोग पुग्ने छ ।’
खेलमार्फत वन्यजन्तु तथा वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यसहित आयोजना हुन लागेको ‘राइनो संरक्षण गोल्डकप’ सकारात्मक पहल भएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले बताए । प्रतियोगितामा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई अझ प्रभावकारी बनाउँदै आगामी पाँच वर्षभित्र एकसिङ्गे गैँडा पाइने दक्षिण एसियाली राष्ट्रहरुबीच प्रतिस्पर्धा गराई ‘दक्षिण एसियाली राइनो संरक्षण एसिएन कप’ तथा १० वर्षभित्र एकसिङ्गे र दुईसिङ्गे गैँडा पाइने देशहरूबीच ‘राइनो संरक्षण मैत्रीपूर्ण वल्र्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको प्रतियोगिताका प्रचारप्रसार संयोजक विष्णुप्रसाद शर्माले बताए ।













प्रतिक्रिया