भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना « Khabarhub

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका पाडापाडीको लस्कर छ । कतारको मरुभूमिमा ११ वर्ष पसिना बगाएर फर्किएका उनी अहिले स्वदेशमै सफल उद्यमीका रूपमा चिनिएका छन् । 

सुखद भविष्य खोज्दै २२ वर्षको उमेरमा कतार पुगेका अर्जुन घर फर्कँदा उनका बुबाले अब विदेश नजान सुझाव दिएका थिए । ‘घरबाट छुट्टिएपछि बुबाले दुई बिघा जग्गा गरिखान भनेर दिनुभयो’, उनी सम्झिन्छन्, ‘अब विदेश नजा, भैँसी पालिस भने तेरो भविष्य राम्रो हुन्छ भन्नुभयो । अनि बुबाकै आज्ञापालन गरेर म भैँसीपालन व्यवसायमा लागेको हुँ ।’ 

विसं २०७६ मा मुलुक कोरोना महामारीको चपेटामा रहेका बेला उनले आँट गरेर यो व्यवसाय सुरु गरेका थिए । गाउँभरिका युवा कि विदेश गइरहेको कि घुमेरै समय बिताइरहेका बेला अर्जुनले विदेशबाट अनुभवसहित फर्केर फरक बाटो रोजेका थिए । 

उनले पशुपालन गर्ने दृढ सोचका साथ ‘सुवेदी कृषि फार्म’ दर्ता गराए । कृषि विकास बैंकबाट ५७ लाख ऋण लिएर ६४ वटा मुर्रा जातको पाडापाडीबाट सुरु भएको यो व्यावसायिक यात्रा अहिले विशाल रूपमा फैलिएको छ । भैँसीसँगै उनले बाख्रापालन र तरकारीखेतीलाई पनि अगाडि बढाएका छन् ।

अर्जुनको यो व्यवसायमा परिवारको दर्बिलो साथ छ । पत्नी दुर्गा सुवेदी र १६ वर्षीय छोरा बिहान सुवेदीले गोठको काममा उनलाई सघाउँदै आएका छन् ।

उनकी पत्नी दुर्गा चार वर्ष वैदेशिक रोजगारीको क्रममा कतार बसेकी थिइन् । दुर्गालाई पनि परिवारमै बसेर रमाउँदै स्वदेशमै उद्यम गर्न तीव्र इच्छा थियो । 

बुबाको व्यवसायलाई प्राविधिक रूपमा सघाउन छोरा बिहान भेटेरिनरी विज्ञान अध्ययन गरिरहेका छन् । छोरी विनीता उच्च शिक्षाका लागि जापानमा छिन् । छोरीलाई विदेशमा पढाउने खर्चको जोहो गर्न पनि यही भैँसीपालनबाट टेवा पुगेको अर्जुन सुबेदी बताउँछन्।

भद्रपुर–१ पृथ्वीनगरस्थित आफ्नै घरमा १५० वटा भैँसी अट्ने आधुनिक स्थायी गोठ छ । गोठ निर्माणमा रु २६ लाख लगानी भएको उनले जानकारी दिए । 

उनको व्यवसायले स्थानीयलाई रोजगारीसमेत दिएको छ । बगर खेतमा लगाएको आलु, काउली र मकैखेतीले उनको आम्दानीमा थप टेवा पुर्‍याएको छ । 

भैँसीसँगै उनले २५ माउ बाख्रा पनि पालेका छन् । भैँसीपालनमा मात्रै लगभग रु ७० लाख लगानी भइसकेको उनले जानकारी दिए । 

उनको गाउँतिर थ्रेसरमा धान दाइँ गरेपछि पराल खेतमै छाड्ने र डढाउने चलन छ । उनले त्यसरी खेतमा फालिएका पराल सङ्कलन गरेर राख्ने गरे, जसले भैँसीलाई हरियो घाँसमा मिसाएर पराल खुवाउन सहज भयो । उनका बुबा आसाम र इलाममा छँदा भैँसीपालन गरेकाले भैँसीपालन गरेरै बुबाले पनि झापामा जग्गा जोडेको उनले बताए  ।

भैँसी पाल्दा चरन र घाँस उत्पादनका लागि उनले १३ बिघा बगर खेत भाडामा लिएका छन् । चरनमै अस्थायी गोठ बनाएका छन् । भैँसीलाई चरनमा गोठालो गर्न कामदारहरू राखेका छन् । भैँसी र बाख्रापालनबाट प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् । कतारमा रहँदा उनी मासिक डेढ लाख रुपैयाँ कमाइ गर्छन् । उनी भन्छन्, ‘स्वदेशमै बसेर भैँसी पाल्दा पनि त्योभन्दा चाहिँ कम कमाइ छैन ।’

सिराहा र सप्तरीबाट साना पाडापाडी किनेर ल्याउने र बढीमा तीन वर्ष पालेपछि बिक्री गर्दै आएको उनी बत्ताउँछन् । उनले दूध उत्पादनका लागि भैँसी पालेका होइनन् ।

मासुका लागि राँगा किन्न गोठमै व्यापारी आउने गरेको उनले बताए । राँगा मात्रै होइन, ब्याउने भइसकेका पाडी धेरै दाममा बिक्री हुने गरेको छ ।

उनले पालेका ११० वटा भैँसीका पाडा र २३० वटा बाख्राका पाठी कचनकबल गाउँपालिकाले एकै खेपमा किनेर लगे । उनीसँग किनिएका पाडा र पाठीहरू गाउँपालिकाले आफ्नो पालिकाका किसानहरूलाई वितरण गरेको थियो । कनकाई नगरपालिकाले पनि १३० वटा बाख्राका पाठी किनेर लगेको र किसानलाई वितरण गरेको उनले जानकारी दिए ।

सुरुका वर्षहरूमा धेरै सङ्ख्यामा भैँसीका पाडापाडी र बाख्रा पालेतापनि अहिले बाख्राको सङ्ख्या घटाएका छन् । भैँसी चाहिँ हुर्काउँदै बेच्दै गरेका छन् । भैँसीपालनबाट खरिदको तुलनामा तेब्बरसम्म मुनाफा हुने गरेको उनले बताए ।

उनले लहानतिर एउटा पाडा वा पाडी रु २० हजारमा किन्छन् । तीन वर्ष पालेपछि ती पाडापाडी ८० हजारदेखि  डेढ लाख रुपैयाँसम्ममा गोठबाटै बिक्री हुने गरेको उनी बताउँछन् । ब्याउने पाडी डेढ लाख रुपैयाँसम्ममा र मासुका लागि पालिएको पाडा ८० हजार रुपैयाँदेखि एक लाखसम्ममा बिक्री हुने गरेको रहेछ । 

‘दसैँ र रमदान चाडका बेला एकैखेपमा धेरै पाडा बिक्री हुन्छन्’, उनले भने, ‘मासुका लागि भैँसीका पाडाको बजारमा उच्च माग छ । भद्रपुर वरपरकै मासु व्यवसायीको माग नै धान्न सकिएको छैन । बिक्रीको अहिले कुनै समस्या छैन ।’

भद्रपुर नगरपालिका–३ का हेमकुमार कार्कीले सञ्चालन गरेको मासु पसलमा हप्तैपिच्छे चार वटा पाडा जाने गरेको उनले बताए । बिहे, उत्सव र चाडहरूमा भैँसीको पाडा किन्न गाउँबाट आउनेहरू धेरै हुने गरेका छन् । 

उनले भैँसीपालनसँगै बीउका लागि चार वटा साँढेगोरु पनि पालेका छन् । साँढेगोरुबाट मासिक रु ५० हजार आम्दानी हुने गरेको बताए । गोबर मल प्रतिट्याक्टर रु पाँच हजारका दरले बिक्री हुने गरेको छ । चिया बगानका सञ्चालकहरुले गोबर मल किनेर लैजाने गरेका छन् ।

चरन र घाँसका लागि भाडामा लिएको १३ बिघा खेतको केही हिस्सामा तरकारी र अन्न बाली लगाउँदा आम्दानी बढ्ने गरेको छ । यसपालि पाँच बिघा जमिनमा आलुखेती र तीन बिघा खेतमा बन्दाकोपी खेती गरेर मनग्य आम्दानी लिएको उनले बताए । 

भैँसीपालनबाट घर व्यवहार राम्रो चलेको र छोराछोरीको पढाइमा सहयोग पुगेको उनले बताए । भैँसीपालन सुरु गर्दा चिनेजानेका साथी र आफन्तले पनि नाक खुम्च्याउने गरेको तर अहिले प्रगति देखेर सोधखोज गर्ने गरेको सुवेदीले बताए । 

गाउँमा यति ठूलो क्रान्तिकारी व्यवसाय सञ्चालन गर्दै आए तापनि हालसम्म उनले सरकारी प्रोत्साहन भने पाएका छैनन् । तीनै तहको सरकारबाट कुनै पनि अनुदान नपाएको उनले बताए ।

व्यक्तिगत पहलमा यति ठूलो कृषि व्यवसाय सञ्चालन गरिरहे तापनि उनको फर्ममा हेर्न सरकारी निकायका पदाधिकारीहरू पुग्ने गरेका छैनन् ।

आधुनिक तरिकाले कृषि व्यवसाय गर्ने हो भने विदेशतिर लर्को लागिरहेको युवा शक्तिलाई स्वदेशमै टिकाउन सकिने उनी बताउँछन् । धेरै आम्दानी गर्न सकिन्छ भनेर बुझाउनु नसक्दा युवाहरू विदेश पलायन भइरहेको उनको भनाइ छ । 

‘महिनाको ५० हजार रुपैयाँ कमाउन विदेशमा कडा परिश्रम गर्न गइरहनु पर्दैन’, उनी भन्छन्, ‘बाबुबाजेले पालेकोजस्तो निर्वाहमुखी कृषिबाट चाहिँ हुँदैन । तर आधुनिक ढङ्गले व्यावसायिक बन्ने हो भने भैँसी पालेरै मासिक डेढ दुई लाख कमाइ गर्न कुनै गाह्रो छैन ।’

उनी भैँसीपालन व्यवसायलाई निरन्तरता दिने पक्षमा छन् । सरकारी अनुदान र प्रोत्साहन नपाए तापनि आफ्नो कुनै गुनासो नरहेको उनले बताए । सुरुको ऋण घटाएको र भविष्यमा चुक्ता गरेर आफ्नै पुँजीमा व्यवसाय विस्तार गर्ने सोच रहेको उनले बताए । 

उनी भन्छन्, ‘स्वरोजगार बन्ने र स्वदेशमै उद्यम गर्ने सोचले मलाई भैँसीपालनमा डोहोर्‍याएको हो । आजका युवाहरूमा यही सोचको अभाव देखेको छु ।’ रासस

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : ५५ बजे

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा