झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका पाडापाडीको लस्कर छ । कतारको मरुभूमिमा ११ वर्ष पसिना बगाएर फर्किएका उनी अहिले स्वदेशमै सफल उद्यमीका रूपमा चिनिएका छन् ।
सुखद भविष्य खोज्दै २२ वर्षको उमेरमा कतार पुगेका अर्जुन घर फर्कँदा उनका बुबाले अब विदेश नजान सुझाव दिएका थिए । ‘घरबाट छुट्टिएपछि बुबाले दुई बिघा जग्गा गरिखान भनेर दिनुभयो’, उनी सम्झिन्छन्, ‘अब विदेश नजा, भैँसी पालिस भने तेरो भविष्य राम्रो हुन्छ भन्नुभयो । अनि बुबाकै आज्ञापालन गरेर म भैँसीपालन व्यवसायमा लागेको हुँ ।’
विसं २०७६ मा मुलुक कोरोना महामारीको चपेटामा रहेका बेला उनले आँट गरेर यो व्यवसाय सुरु गरेका थिए । गाउँभरिका युवा कि विदेश गइरहेको कि घुमेरै समय बिताइरहेका बेला अर्जुनले विदेशबाट अनुभवसहित फर्केर फरक बाटो रोजेका थिए ।
उनले पशुपालन गर्ने दृढ सोचका साथ ‘सुवेदी कृषि फार्म’ दर्ता गराए । कृषि विकास बैंकबाट ५७ लाख ऋण लिएर ६४ वटा मुर्रा जातको पाडापाडीबाट सुरु भएको यो व्यावसायिक यात्रा अहिले विशाल रूपमा फैलिएको छ । भैँसीसँगै उनले बाख्रापालन र तरकारीखेतीलाई पनि अगाडि बढाएका छन् ।
अर्जुनको यो व्यवसायमा परिवारको दर्बिलो साथ छ । पत्नी दुर्गा सुवेदी र १६ वर्षीय छोरा बिहान सुवेदीले गोठको काममा उनलाई सघाउँदै आएका छन् ।
उनकी पत्नी दुर्गा चार वर्ष वैदेशिक रोजगारीको क्रममा कतार बसेकी थिइन् । दुर्गालाई पनि परिवारमै बसेर रमाउँदै स्वदेशमै उद्यम गर्न तीव्र इच्छा थियो ।
बुबाको व्यवसायलाई प्राविधिक रूपमा सघाउन छोरा बिहान भेटेरिनरी विज्ञान अध्ययन गरिरहेका छन् । छोरी विनीता उच्च शिक्षाका लागि जापानमा छिन् । छोरीलाई विदेशमा पढाउने खर्चको जोहो गर्न पनि यही भैँसीपालनबाट टेवा पुगेको अर्जुन सुबेदी बताउँछन्।
भद्रपुर–१ पृथ्वीनगरस्थित आफ्नै घरमा १५० वटा भैँसी अट्ने आधुनिक स्थायी गोठ छ । गोठ निर्माणमा रु २६ लाख लगानी भएको उनले जानकारी दिए ।
उनको व्यवसायले स्थानीयलाई रोजगारीसमेत दिएको छ । बगर खेतमा लगाएको आलु, काउली र मकैखेतीले उनको आम्दानीमा थप टेवा पुर्याएको छ ।
भैँसीसँगै उनले २५ माउ बाख्रा पनि पालेका छन् । भैँसीपालनमा मात्रै लगभग रु ७० लाख लगानी भइसकेको उनले जानकारी दिए ।
उनको गाउँतिर थ्रेसरमा धान दाइँ गरेपछि पराल खेतमै छाड्ने र डढाउने चलन छ । उनले त्यसरी खेतमा फालिएका पराल सङ्कलन गरेर राख्ने गरे, जसले भैँसीलाई हरियो घाँसमा मिसाएर पराल खुवाउन सहज भयो । उनका बुबा आसाम र इलाममा छँदा भैँसीपालन गरेकाले भैँसीपालन गरेरै बुबाले पनि झापामा जग्गा जोडेको उनले बताए ।
भैँसी पाल्दा चरन र घाँस उत्पादनका लागि उनले १३ बिघा बगर खेत भाडामा लिएका छन् । चरनमै अस्थायी गोठ बनाएका छन् । भैँसीलाई चरनमा गोठालो गर्न कामदारहरू राखेका छन् । भैँसी र बाख्रापालनबाट प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् । कतारमा रहँदा उनी मासिक डेढ लाख रुपैयाँ कमाइ गर्छन् । उनी भन्छन्, ‘स्वदेशमै बसेर भैँसी पाल्दा पनि त्योभन्दा चाहिँ कम कमाइ छैन ।’
सिराहा र सप्तरीबाट साना पाडापाडी किनेर ल्याउने र बढीमा तीन वर्ष पालेपछि बिक्री गर्दै आएको उनी बत्ताउँछन् । उनले दूध उत्पादनका लागि भैँसी पालेका होइनन् ।
मासुका लागि राँगा किन्न गोठमै व्यापारी आउने गरेको उनले बताए । राँगा मात्रै होइन, ब्याउने भइसकेका पाडी धेरै दाममा बिक्री हुने गरेको छ ।
उनले पालेका ११० वटा भैँसीका पाडा र २३० वटा बाख्राका पाठी कचनकबल गाउँपालिकाले एकै खेपमा किनेर लगे । उनीसँग किनिएका पाडा र पाठीहरू गाउँपालिकाले आफ्नो पालिकाका किसानहरूलाई वितरण गरेको थियो । कनकाई नगरपालिकाले पनि १३० वटा बाख्राका पाठी किनेर लगेको र किसानलाई वितरण गरेको उनले जानकारी दिए ।
सुरुका वर्षहरूमा धेरै सङ्ख्यामा भैँसीका पाडापाडी र बाख्रा पालेतापनि अहिले बाख्राको सङ्ख्या घटाएका छन् । भैँसी चाहिँ हुर्काउँदै बेच्दै गरेका छन् । भैँसीपालनबाट खरिदको तुलनामा तेब्बरसम्म मुनाफा हुने गरेको उनले बताए ।
उनले लहानतिर एउटा पाडा वा पाडी रु २० हजारमा किन्छन् । तीन वर्ष पालेपछि ती पाडापाडी ८० हजारदेखि डेढ लाख रुपैयाँसम्ममा गोठबाटै बिक्री हुने गरेको उनी बताउँछन् । ब्याउने पाडी डेढ लाख रुपैयाँसम्ममा र मासुका लागि पालिएको पाडा ८० हजार रुपैयाँदेखि एक लाखसम्ममा बिक्री हुने गरेको रहेछ ।
‘दसैँ र रमदान चाडका बेला एकैखेपमा धेरै पाडा बिक्री हुन्छन्’, उनले भने, ‘मासुका लागि भैँसीका पाडाको बजारमा उच्च माग छ । भद्रपुर वरपरकै मासु व्यवसायीको माग नै धान्न सकिएको छैन । बिक्रीको अहिले कुनै समस्या छैन ।’
भद्रपुर नगरपालिका–३ का हेमकुमार कार्कीले सञ्चालन गरेको मासु पसलमा हप्तैपिच्छे चार वटा पाडा जाने गरेको उनले बताए । बिहे, उत्सव र चाडहरूमा भैँसीको पाडा किन्न गाउँबाट आउनेहरू धेरै हुने गरेका छन् ।
उनले भैँसीपालनसँगै बीउका लागि चार वटा साँढेगोरु पनि पालेका छन् । साँढेगोरुबाट मासिक रु ५० हजार आम्दानी हुने गरेको बताए । गोबर मल प्रतिट्याक्टर रु पाँच हजारका दरले बिक्री हुने गरेको छ । चिया बगानका सञ्चालकहरुले गोबर मल किनेर लैजाने गरेका छन् ।
चरन र घाँसका लागि भाडामा लिएको १३ बिघा खेतको केही हिस्सामा तरकारी र अन्न बाली लगाउँदा आम्दानी बढ्ने गरेको छ । यसपालि पाँच बिघा जमिनमा आलुखेती र तीन बिघा खेतमा बन्दाकोपी खेती गरेर मनग्य आम्दानी लिएको उनले बताए ।
भैँसीपालनबाट घर व्यवहार राम्रो चलेको र छोराछोरीको पढाइमा सहयोग पुगेको उनले बताए । भैँसीपालन सुरु गर्दा चिनेजानेका साथी र आफन्तले पनि नाक खुम्च्याउने गरेको तर अहिले प्रगति देखेर सोधखोज गर्ने गरेको सुवेदीले बताए ।
गाउँमा यति ठूलो क्रान्तिकारी व्यवसाय सञ्चालन गर्दै आए तापनि हालसम्म उनले सरकारी प्रोत्साहन भने पाएका छैनन् । तीनै तहको सरकारबाट कुनै पनि अनुदान नपाएको उनले बताए ।
व्यक्तिगत पहलमा यति ठूलो कृषि व्यवसाय सञ्चालन गरिरहे तापनि उनको फर्ममा हेर्न सरकारी निकायका पदाधिकारीहरू पुग्ने गरेका छैनन् ।
आधुनिक तरिकाले कृषि व्यवसाय गर्ने हो भने विदेशतिर लर्को लागिरहेको युवा शक्तिलाई स्वदेशमै टिकाउन सकिने उनी बताउँछन् । धेरै आम्दानी गर्न सकिन्छ भनेर बुझाउनु नसक्दा युवाहरू विदेश पलायन भइरहेको उनको भनाइ छ ।
‘महिनाको ५० हजार रुपैयाँ कमाउन विदेशमा कडा परिश्रम गर्न गइरहनु पर्दैन’, उनी भन्छन्, ‘बाबुबाजेले पालेकोजस्तो निर्वाहमुखी कृषिबाट चाहिँ हुँदैन । तर आधुनिक ढङ्गले व्यावसायिक बन्ने हो भने भैँसी पालेरै मासिक डेढ दुई लाख कमाइ गर्न कुनै गाह्रो छैन ।’
उनी भैँसीपालन व्यवसायलाई निरन्तरता दिने पक्षमा छन् । सरकारी अनुदान र प्रोत्साहन नपाए तापनि आफ्नो कुनै गुनासो नरहेको उनले बताए । सुरुको ऋण घटाएको र भविष्यमा चुक्ता गरेर आफ्नै पुँजीमा व्यवसाय विस्तार गर्ने सोच रहेको उनले बताए ।
उनी भन्छन्, ‘स्वरोजगार बन्ने र स्वदेशमै उद्यम गर्ने सोचले मलाई भैँसीपालनमा डोहोर्याएको हो । आजका युवाहरूमा यही सोचको अभाव देखेको छु ।’ रासस














प्रतिक्रिया