ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ « Khabarhub

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्कनुभएका दुई दाजुभाइले सुरु गरेको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो ।

भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो समय जापान बस्दै आएका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हंकङ, बेलायतको व्यापार व्यवसाय त्यागेर नेपाल फर्किएका लच्छीन गुरुङले सो फार्म सुरु गरेका थिए । उनीहरूबीच एउटा साझा सोच मिल्यो, ‘विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्ने ।’

आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किनु भएका उहाँहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे । 

अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ र अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखेपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय सुरु गरेका थिए । 

दुईवटा पोखरीबाट सुरु गरिएको गण्डकी ट्राउट फार्म आज विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेका छन् । तत्कालीन गण्डकी अञ्चलमै पहिलोपटक सुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । यो प्रयास अहिले सबैका लागि उदाहरणीय बनेको छ । विदेशमा अवसर खोज्ने युवाका लागि यो त झनै फार्मले प्रेरणा दिएको छ ।

विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ, जसमा नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुनुका साथै जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यही कारणले गर्दा यो ट्राउट फार्म पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ । दैनिक चार सय बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो सङ्ख्या एक हजार ५०० नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङ बताउँछन् ।

 फार्ममा एक केजी माछा पकाएको एक हजार ७०० लिने गरेको उनले बताए। 

गुरुङले भने, ‘रेष्टुरेन्टसँगै आरामदायी कटेज पनि व्यवस्था गरिएको छ । रातमा बस्ने पाहुना थपिए भने पालको समेत व्यवस्था गरिन्छ, जसले पर्यटक थप आकर्षित हुने गरेका छन् ।’

वार्षिक तीन करोड रुपैयाँबराबरको २५ टन माछा उत्पादन हुने गरेको उनले बताए। उमेरले ६६ वर्षीय लच्छीन भन्छन्, ‘फार्ममा अहिलेसम्म सात करोड लगानी भइसकेको छ । चौबीस जनाले दैनिक र १० जनाले अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन् ।’

माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र अपुग हुने हुँदा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरेको उनको भनाइ छ । यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा भुरा उत्पादनका लागि ह्याचरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

अमृत भने ६५ वर्षको भए। उनीहरुको यो व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको अमृतले बताए। उनका अनुसार नेपाल सरकार र विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।

पोखरा आउने दुई प्रतिशत पर्यटक सो क्षेत्रमा पुर्याउन सकेमात्र पनि पर्यटकको एक दिनको बसाइ लम्ब्याउन र थप रोजगार सृजना गर्न सकिने उनले बताए। सो स्थानसम्म पुग्न पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर अकला, पुरन्चौर हुँदै लगभग १७ किलोमिटर दूरी छ ।

प्रकृतिसँग रमाउँदै स्वादिलो ट्राउट माछा चाख्न पाइने यो स्थान अहिले केवल व्यवसायमात्र होइन, आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको सो फार्ममा पुग्ने जोकोही बताउँछन् । 

यहाँ परम्परागत लिङ्गे, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । जसका कारण टिकटकलगायत सामाजिक सञ्जालमा रमाउनेहरू पनि यहाँ आउने गर्छन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : ३४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित