यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन « Khabarhub

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना केन्द्रीय सदस्य र १८ देखि १९ जना पदाधिकारी चयन हुने भएका छन् । पार्टी स्थापनाको चार वर्षपछि आइतबारदेखि चितवनमा हुन लागेको पार्टीको पहिलो महाधिवेशनले २८ देखि ३० जनासम्मको सचिवालय निर्माण गर्ने भएको छ ।

सचिवालय र पदाधिकारी चयन गर्दा पार्टी सभापति रवि लामिछानेलाई धेरै पदपूर्ति गर्ने अधिकार दिने किसिमको विधान आउन लागेको जानकार नेताहरु बताउँछन् । महाधिवेशनमा ५१ जना केन्द्रीय सदस्य पार्टी सभापति रवि लामिछानेले सोझै चुन्नेछन् भने सात जना प्रदेश सभापतिहरुलाई पनि केन्द्रीय सदस्यमा समेटिने छ । बाँकी रहेका एक सय जनाको भने निर्वाचन हुनेछ ।

पार्टीका १८२ जना सांसद स्वत केन्द्रीय सदस्य बन्ने प्रस्ताव पनि आएको थियो । तर केन्द्रीय सदस्य र सांसदहरूको भूमिका एउटै व्यक्तिलाई दिँदा कार्यसम्पादनमा जटिलता आउने भएकाले फरक-फरक ढङ्गले दिनुपर्ने आवाज उठेको छ । विधान मस्यौदा कार्यदलका सदस्य प्रदीपचन्द्र परियारका अनुसार सांसद भएको व्यक्ति पनि केन्द्रीय सदस्य र सचिवालयमा चयन हुनसक्नेछन् । सांसद भएको व्यक्तिलाई स्वतः केन्द्रीय सदस्य बनाउने प्रावधान मात्रै नराख्न खोजिएको उनको प्रष्टीकरण छ ।

देशको सबैभन्दा ठूलो पार्टीको पहिलो महाधिवेशनलाई अरु दलहरूले समेत चासोका रुपमा हेरेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा मुख्य दलहरूलाई निमन्त्रणा दिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार महाधिवेशनले एकताको सन्देश दिनेछ । ‘एकताको सन्देश दिने किसिमको महाधिवेशन हुन्छ । तर, कसैले इच्छा गर्दैछ भने तँ नउठ भनेर रोक्ने अवस्था पनि छैन । सकेसम्म सहमतिको प्रयासहरु पनि हुन्छन् तर करकाप हुँदैन ।’ बुर्लाकोटी भन्छन्, ‘केन्द्रीय सदस्यमा धेरै जना साथीहरुले ठूलो पार्टी भएको नाताले इच्छा राख्नु स्वभाविकै हो । हाम्रो केन्द्रीय सदस्य विधानमै कम बनाउने व्यवस्था हुन्छ हाम्रा पार्टीका सांसदहरु नै १८२ हुनुहुन्छ । अरु थुप्रै नेता गणहरुलाई समेट्नुपर्ने छ । त्यसकारण मिलेसम्म एकताको सन्देश दिने किसिमको महाधिवेशन हुन्छ ।’

सचिवालयमा को को सुरक्षित ?

महाधिवेशन अगावै केही व्यक्तिहरूको पद सुरक्षित रहने देखिन्छ । वरिष्ठ नेतामा वालेन्द्र शाहलाई सीधै पार्टी सभापति रवि लामिछानेले मनोनित गर्नेछन् । उनले निर्वाचन लड्नुपर्ने छैन । यस्तै, पार्टी सभापतिमा रवि लामिछानेविरुद्ध कसैले पनि उम्मेदवारी नदिने संकेत देखिएकाले उनी पनि निर्विरोध हुनेछन् । सभापतिका लागि रविले केन्द्रीय सदस्यको निर्वाचन भने फेस गर्नुपर्ने छ तर उनी केन्द्रीय सदस्यमा बहुमत मत ल्याएर निर्वाचित हुने अवस्था छ ।

यस्तै, उपसभापतिमा डा स्वर्णिम वाग्लेको पनि पद सुरक्षित देखिन्छ । उपसभापति बन्नका लागि वाग्लेले केन्द्रीय समितिको निर्वाचन भने फेस गर्नुपर्ने हुन्छ तर उनी केन्द्रीय सदस्यको निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुने अवस्था रहेको बताइन्छ । तीन उपसभापतिमध्ये एक उपसभापति रवि लामिछानेले चुन्ने छन् । लामिछानेले एक उपसभापति चुन्दा गणेश पराजुलीलाई रोज्न सक्ने देखिन्छ ।

तर बालेनले आफ्नो पक्षका उपसभापति बनाउनुपर्ने माग राखेमा रविले सुनिल लम्साललाई रोज्नुपर्ने हुन्छ । एक उपसभापति गणेश या सुनिल बनेको खण्डमा अर्को उपसभापति महिला हुनुपर्नेछ । महिला उपसभापतिका लागि निर्वाचन हुने अवस्थामा धेरै जना आकांक्षी छन् । तर सर्वसम्मतिको प्रयास हुने अवस्थामा लिमा अधिकारीले महिला उपसभापति पाउने लगभग सम्भावना देखिन्छ । उपसभापतिका दाबेदार समीक्षा बास्कोटा कानुन तथा न्याय संसदीय समितिकी सभापति भएकाले उनलाई अर्को पद दिने अवस्था देखिँदैन ।

यस्तै, सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावल र कानुनमन्त्री सोबिता गौतम उपसभापतिका दाबेदार हुन् । उनीहरू पनि मन्त्री भएकाले अहिले कोषाध्यक्ष लिमा अधिकारीलाई स्वत रूपमा उपसभापति पद दिने अवस्था देखिन्छ । उपसभापतिका लागि रञ्जु दर्शनालाई केही नेताहरूले अगाडि सार्नुपर्ने मत राखे पनि उनले सचिवालयमा आउने संकेत नगरेपछि लिमा नै उपसभापति हुने लगभग पक्का भएको बताइन्छ ।

यस्तै पार्टीको एक महामन्त्रीमा भूपदेव शाह बन्ने लगभग निश्चित छ । सभापतिले चुन्ने महामन्त्रीमा विपिन आचार्य, अहिलेका प्रवक्ता मनिष झा आउने सम्भावना छ । पाँच जना सहममन्त्रीमध्ये दुई जना सभापतिले चुन्नेछन् । सभापतिले चुन्नेबाहेक एक खुलामा सहमन्त्रीमा प्रदीपचन्द्र परियार आउने लगभग निश्चित छ । निर्वाचनबाट आउने अरु दुई महामन्त्रीमा प्रदेशगत रूपमा मिलाएर अगाडि बढ्ने तयारी गरिएको छ । सहममन्त्रीकै लागि तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, शिशिर खनाल लगायतलाई पनि समेट्न सकिने अवस्था देखिन्छ । सहममन्त्रीमै बालेन पक्षबाट पनि एक दुई जना नेताहरू राख्न सकिने स्थिति छ ।

एक प्रवक्ताका लागि अहिले पार्टीमा प्रमोद न्यौपाने या दीपक बोहराको नाम पनि उत्तिकै चर्चामा छ । रविले प्रमोद या दीपकलाई पार्टी प्रवक्तामा रोज्ने छन् । मनिष नै पुन पार्टी प्रवक्तामा दोहोरिने सम्भावना पनि छ । सर्वसम्मतिको प्रयास हुँदा मनिषलाई कोषाध्यक्षको जिम्मेवारी समेत दिइने अवस्था देखिन्छ । दुई जना सहकोषाध्यक्ष र तीन सहप्रवक्ता पनि रवि लामिछानेले आफैँ चुन्नेछन् । पार्टी सहममन्त्रीका लागि महिलामा इन्दिरा राना मगरले पनि दाबी गरेको देखिन्छ ।

पार्टी पदाधिकारीकै लागि बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नाम पनि चर्चामा छ । धेरैले उनलाई बालेन पक्षबाट उपसभापति बनाउनेमा पनि नाम लिन थालेका छन् । पदाधिकारीकै लागि यज्ञमणि न्यौपानेको नाम पनि अगाडि छ । उनलाई सहमहामन्त्री या सहप्रवक्ताको जिम्मेवारी दिने बताइन्छ ।

सहप्रवक्ता र सहकोषाध्यक्षका लागि निशा डाँगी, लक्ष्मण थारु, रिमा विश्वकर्मा, खगेन्द्र सुनुवार लगायतको नाम पनि अगाडि छ । अरु नेताहरू पार्टी सचिवालयमा रविले चुन्ने हुँदा समावेशी समानुपातिक सिद्धान्तलाई अगाडि बढाएर चुन्न सक्ने देखिन्छ । पार्टीले मन्त्री बनेका व्यक्तिहरूलाई सकेसम्म सचिवालयमा पद नदिने अवस्था रहेपनि मन्त्री बनेका अहिलेका सचिवालयका नेताहरुलाई सचिवालय सदस्यको रूपमा भने पछि रविले राख्न सक्नेछन् । अहिलेका सचिवालयमा रहेका नेताहरू शिशिर खनाल, विराजभक्त श्रेष्ठ, बसुमाया तामाङ, सागर ढकाल लगायतका नेताहरू पदाधिकारीमा नआएको खण्डमा सचिवालय सदस्य रहनेछन् ।

बालेन पक्षबाट पनि सुनिल लम्साल, सस्मित पोखरेल, सुदन गुरुङ लगायतका नेताहरूलाई पनि सचिवालयमा राख्न सकिने देखिन्छ । रविले मनोनित गर्ने सचिवालय सदस्यमा भने रञ्जु दर्शना, आशिका तामाङ लगायतका नेतृहरूको नाम पनि देखिन्छ ।

पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारीमा लगभग सर्वसम्मतिकै प्रयत्न भइरहेको नेताहरूले जानकारी दिएका छन् । पदाधिकारी पनि बहुसङ्ख्यक पदमा पार्टी सभापति रवि लामिछानेलाई नै चुन्न पाउने अधिकार विधानले दिन लागेकाले बाँकी रहेका पदहरूमा पनि सर्वसम्मति गर्न लागेको जनाइएको छ ।

धेरै पार्टीबाट आएका व्यक्तिहरूलाई समेट्नुपर्ने बाध्यता रहेकाले पहिलो महाधिवेशनलाई एकताको सन्देश दिन सर्वसम्मतिको प्रयास गर्ने नेताहरू बताउँछन् । ‘हाम्रो पार्टीमा विभिन्न समूह र पार्टीबाट एकीकरण भएर आउनुभएका नेताहरू हुनुहुन्छ, उहाँहरु सबैलाई समेट्नुपर्ने भएकाले मिलेका पदहरूमा सर्वसम्मतिको प्रयास भने रहन्छ । नमिलेका र जटिल रहेका विषयहरूमा निर्वाचन पनि हुन सक्छ,’ पार्टी सहममन्त्री पीन विपिन आचार्य भन्छन्, ‘सहमति हुने भनिएका विषयमा एक मन एक चित्त र एक ढुक्कका साथ हुन्छ । केन्द्रीय कमिटीमा साथीहरुले लड्न पनि पाउनुहुन्छ ।’

भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनका लागि घामपानी छेक्ने जर्मनी प्रविधिबाट बनेको जर्मन ह्याङ्गर भित्र कार्यक्रम गर्न लागिएको छ । बन्द सत्र भने भरतपुरको चितवन उद्योग सङ्घको प्रदर्शनी हलमा हुनेछ । पाँच हजार भन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको र कुर्सीबिना पनि बस्न पण्डाल निर्माण गरिने आयोजकले जानकारी दिएको छ । महाधिवेशनमा २५०० भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी रहनेछन् । ती प्रतिनिधिलाई पार्टीले खान र खाजाको व्यवस्था गर्नेछ भने होटलहरूमा बस्ने व्यवस्थाको शुल्क आफैँ तिर्नुपर्नेछ ।

महाधिवेशनमा आउने प्रतिनिधिका लागि १६०० भन्दा बढी होटलका कोठाहरूमा आयोजक कमिटीले सम्पर्क गरिसकेको छ । महाधिवेशनमा आउने प्रतिनिधिले होटलका कोठा आयोजकले भनेको स्थानमा बस्नुपर्ने छ । खान र खाजाको शुल्क भने लाग्ने छैन । रास्वपाले महाधिवेशनमा निर्वाचन विद्युतीय भोटिङमार्फत गर्ने बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : ३२ बजे

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने