काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा मन्त्रालयलाई स्थापित गर्न चाहेको बताए । उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘गृह मन्त्रालय हरेक चेलीको लागि माइती हो भनी सोच्नुपर्छ । हरेक नारीका लागि हामी परिवार भएर उभिन चाहान्छौँ । हामी हरेक नागरिकको सुरक्षा र सेवाको लागि काम गर्छौँ । पहिलाभन्दा अहिले प्रहरी पनि प्रभावकारी रुपमा काम गरिरहेको छ ।’
तर उनको अभिव्यक्ति सामाजिक सञ्जालमा आलोचित बनिरहेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले अब आउँदै गरेको तीजको दर गृह मन्त्रालयले खुवाउँछ कि खुवाउँदैन भन्ने जिज्ञासा राखेका छन् । पत्रकार गीता चिमोरियाले व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यसपाली त तीजको दर खान गृह मन्त्रालयले बोलाउँछ होला । माइती जो पर्यो ।’
चिमोरियाकै व्यङग्यमा समर्थन जनाउँदै पत्रकार ईश्वर अर्यालले तिहारको टीका लगाउन महिला मन्त्रालय जाने योजना बनाएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘हामी नि भाइटीका लगाउन कानून, महिला बालबालिका, सहकारी, स्वास्थ्य तिर छिर्ने प्लान बनाइराछ्म् ।’
त्यस्तै, लेखक सीमा आभासले गृहमन्त्रीले लिङ्गविभेदी अभिव्यक्ति दिएको टिप्पणी छिन् । हिंसामा परेकी महिलाले माइतीमा गुहार नपाउँदा ज्यान गुमाउनु परेको अवस्थालाई चित्रित गर्दै माइतीले दक्षिणा होइन महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन् ।
उनले लेखेकी छिन्-
हो यहि भाष्य गलत छ । माइतीले चेलीलाई थर, गोत्र, वंश, अंश, कुल… दिँदैन । केवल तीजमा दर खुवाउँछ, पुजा र सराद्देमा खिर, रोटी खुवाएर दक्षिणा दिन्छ । मात्र त्यति हो । हामी क्षेत्री बाहुनका माइतीले त कन्यादान दिएका चेलीको कुनै जिम्मा पनि लिँदैनन् । घरेलु हिंसामा परेर मारिएका कतिपय चेलीहरूले माइतीसँग गुहार माग्दा कुटुम्बको बिषय हो भनेर सहयोग नगरेर पनि मारिएमा छन् । यस्ता थुप्रै उदाहरण छन् ।
गृहमन्त्रालयबाट पुरूषले जेजे पाउँछन् ती ती अधिकार महिलाले पाउनुपर्छ । लिंग विभेदी अभिव्यक्ति संविधान विपरित हो । विभेदबिरूद्ध लड्ने कि विभेदलाई निरन्तरता दिने !
माननीय सुधन गुरुङ माइती–चेलीको सम्बन्धको चलन हिजोका दिनमा ठिक थियो । अब यस्ता लिंगविभेदी चलन अन्त्य गर्नुपर्छ । सन्तानको नागरिकता बनाउन नपाएका आमाहरूलाई न्याय दिनुस् ! एक्लै सन्तान जन्माएर हुर्काएका आमाहरूले दुःख पाएका छन् । संविधानमा छोरीलाई अंश र वंशको हक हुनेछ भनिएको छ । कसकसका छोरीले अंश लिन सकेका छन् उदाहरण दिनुस् ।
माइतीघर मण्डलामा यतिबेला धेरै महिलाहरु न्याय माग्दै धर्नामा बसेका छन् । बिहे गर्ने आश्वासन दिएर नेताद्वारा नै शारीरिक शोषण गरेको भन्दै केही महिला धर्नामा छन् । गर्भवती बनाएर अलपत्र छोडेको भन्दै सडकमै बच्चाको जन्म दिएर बसेकी पीडित छिन् ।

उनीहरु सबैलाई गृहमन्त्रीले माइतीघर मण्डला पुगेरै भेट्ने गरेका छन् । पीडितहरुलाई थपथप्याएर उनीहरुको पीडामा मल्हम लगाउने काम गरेका छन् । गत वैशाख १० गते चितवन ‘रत्ननगर बकुलहर हस्पिटल’ मा उपचारका क्रममा २७ वर्षीया सुत्केरी अस्मिता तामाङको मृत्यु भयो । अस्पतालको लापरवाहीका कारण श्रीमती मृत्यु भएको भन्दै श्रीमान् सुजन विक १६ दिनको नवजात शिशु बोकेर माइतीघरमा धर्ना दिन पुगे ।
गृहमन्त्री गुरुङले एक हजार रुपैयाँ तिरेर सुजनको बच्चाको मुख हेरे । त्यतिमात्रै होइन, उनले गृहमन्त्रालयमै बोलाएर उक्त बच्चा काखमै खेलाएर फोटो खिचाए । त्यतिबेला सुजन र सुजनकी आमा भक्कानिए । अब भने न्याय पाइयो भन्ने अनुभूति भएको उनीहरुले मिडियालाई बताएका थिए । गृहमन्त्रीले न्याय दिलाउने आश्वासन लिएर उनीहरु चितवनतिर फर्किएका छन् ।
गृहमन्त्री गुरुङले पहिलो कार्यकाल सुरु गर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकजस्ता उच्च प्रोफाइका व्यक्तिहरु पक्राउ परे । त्यसबेला उनले २४ सै घण्टा काम गरेको देखाउन गृह मन्त्रालयकै सोफामै सुतेको फोटो सार्वजनिक गरेका थिए ।
सुरुमा उनको यो शैलीलाई लिएर खुबै वाहीवाही भयो । तर पक्राउ परेका धेरै व्यक्तिहरू अदालतबाट छुट्दै गए । त्यसपछि उनी आफैँ व्यक्तिगत सम्पत्तिको अपारदर्शीता र विवादस्पद व्यक्तिहरूसँगको आर्थिक साझेदारीको विषयमा मुछिए । तर उनले फेरि पनि ‘गरिब बनेर मर्नु चाहिँ पाप’ हो भन्दै आफूलाई कर्मशील पुष्टि गर्न खोजे । नागरिकस्तरबाटै प्रश्न उठेपछि वैशाख ९ गते उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

सरकारले घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्यो । समितिले उनलाई सफाइ दिएको बताइन्छ । यद्यपि प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन ।
त्यसपछि गत जेठ २६ गते पुनः गृहमन्त्रीमा नियुक्त भए । दोस्रो पटक गृह मन्त्रालयको पदभार ग्रहणपछि उनले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो निर्णय गरेका थिए ।
उनको निर्णयलाई लिएर नागरिकहरुले देशको महङ्गी, सीमा समस्या विषयान्तर गर्न खोजिएको आरोप लगाएका छन् । दोस्रो पटक गृहमन्त्रीको पद सम्हाल्दै गर्दा केही परिपक्व बन्ने कोसिस गरेको देखिन्छ । तर पनि उनको शैली खासै फेरिएको भने देखिँदैन । प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर उनी आफूले आफैँलाई ‘मलाई पानी बाड्ने केटो’ भन्दै मजाक उडाए ।
राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता महादिप पोखरेलले पछिल्लो समय नेताहरुको अभिव्यक्ति उदेकलाग्दो लागेको बताएका छन् ।
उनले भनेका छन्, ‘सार्वजनिक मञ्चमा उभिएर नेताहरु जिस्किने, मस्किने र सन्किने गरेका छन् । यस्तो देख्दा लाज लागेको छ । तर यहि जिस्कने र मस्किने भित्र भयंकर कुटनिती लुकेको हामीले थाहा नपाएका हौ कि ? त्यो अत्यन्त बौद्धिक कुरा पो होकि ? कतै हामीले नयाँहरुको नयाँ तरिका बुझ्न नसकिरहेका त छौनौँ ?’












प्रतिक्रिया