काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताएका छन् ।
आइतबार इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई बिर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन व्यवहार र आचरणमा अवलम्बन गर्न सकेमात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुने बताए ।
राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिएमात्र आर्थिक समृद्धि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे ।
उनले दक्ष युवा रोजगारी र अवसरको खोजीमा बिदेसिनेक्रम देशका लागि चिन्ताको विषय रहेको भन्दै युवा इन्जिनियर/आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रसँग आग्रह गरे ।












प्रतिक्रिया