ह्यारी–मेघन बेलायत फर्कने तयारीमा « Khabarhub

ह्यारी–मेघन बेलायत फर्कने तयारीमा


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

लन्डन- बेलायती राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको करिब छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्कने तयारीमा छन्।

बेलायती सञ्चारमाध्यमका अनुसार ह्यारी–मेघनले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाएका छन्। ‘द टेलिग्राफ’का अनुसार उनीहरूले नयाँ घरसमेत छनोट गरिसकेका छन्।

बीबीसीलगायत सञ्चारमाध्यमले ह्यारी–मेघनका सात वर्षीय छोरा आर्ची र पाँच वर्षीया छोरी लिलिबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायतका विद्यालयमा भर्ना गरिएको जनाएका छन्।

ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारका वरिष्ठ सदस्यका रूपमा आफ्नो आधिकारिक जिम्मेवारी त्यागेर अमेरिका बस्न थालेका थिए। पारिवारिक विवादका बीच बेलायत छाडेका उनीहरूको शाही परिवारसँगको सम्बन्ध ह्यारीको संस्मरण ‘स्पेयर’ तथा अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि थप तनावपूर्ण बनेको थियो।

प्रेस एसोसिएसनका अनुसार दम्पतीले बेलायत फर्किएर बस्ने आफ्नो योजनाबारे राजा चार्ल्स तृतीयलाई जानकारी गराइसकेका छन्। राजाले परिवारका सदस्यसँग भेटघाट गर्ने अवसरलाई स्वागत गर्ने भए पनि ह्यारी र मेघनको शाही हैसियतमा कुनै परिवर्तन हुने छैन। उनीहरूले राजपरिवारको आधिकारिक जिम्मेवारीसमेत सम्हाल्ने छैनन्।

यसअघि ह्यारीले बेलायतमा परिवारसहित फर्किएर बस्न आफूले सुरक्षित महसुस नगरेको बताएका थिए। सरकारी खर्चमा उपलब्ध हुने प्रहरी सुरक्षासम्बन्धी कानुनी विवादमा पराजित भएपछि उनले परिवारलाई सुरक्षित रूपमा बेलायत ल्याउन कठिन हुने बताएका थिए। बेलायती गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था आवश्यकताअनुसार पर्याप्त र उपयुक्त रहेको जनाएको छ।

ह्यारी–मेघनको पछिल्लो बेलायत भ्रमण जुलाईको सुरुआतमा भएको थियो। त्यस क्रममा उनीहरूले राजा चार्ल्ससँग निजी भेट गरेका थिए। राजा चार्ल्सलाई दुई वर्षअघि क्यान्सर भएको पत्ता लागेपछि उपचार गराउँदै आएका छन्।

ह्यारीका दाजु तथा बेलायती सिंहासनका उत्तराधिकारी राजकुमार विलियम र उनकी पत्नी क्याथरिनलाई दम्पतीको बेलायत फर्किने योजनाबारे जानकारी दिइएको थियो वा थिएन भन्ने स्पष्ट छैन। ह्यारी र विलियमबीच लामो समयदेखि दूरी रहेको बताइन्छ।

राजपरिवारसम्बन्धी टिप्पणीकार रिचर्ड फिट्जविलियम्सले ह्यारी–मेघनको सम्भावित पुनरागमनलाई ‘असाधारण विकास’ भनेका छन्। उनका अनुसार दम्पतीले अमेरिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको देखिन्छ। सन् २०२० मा नेटफ्लिक्ससँग करिब १० करोड अमेरिकी डलरको सम्झौता गरे पनि उनीहरूका केही परियोजनाले अपेक्षाअनुसार दर्शक आकर्षित गर्न नसकेको बताइएको छ।

‘द सन’का अनुसार ह्यारी–मेघनले क्यालिफोर्नियाको मोन्टेसिटोस्थित आफ्नो घरसँगै पोर्चुगलमा रहेको घरसमेत कायम राख्नेछन्।

यसैबीच, ह्यारीकी दिवंगत आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले डायनाको जीवनबारे ‘स्वान सङः डायना, माई सिस्टर’ नामक पुस्तक प्रकाशन गर्ने घोषणा गरेका छन्। पुस्तक सेप्टेम्बर २२ मा १२ भाषामा प्रकाशित हुने बताइएको छ।

जुलाईको सुरुआतमा ह्यारी, मेघन र उनीहरूका सन्तानले मध्य इङ्ल्यान्डस्थित अल्थर्पमा रहेको स्पेन्सर परिवारको पैतृक घर भ्रमण गरेका थिए। त्यस क्रममा उनीहरूले डायनाको समाधिस्थलमा श्रद्धाञ्जलिसमेत अर्पण गरेको बताइएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ०९ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला