इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी « Khabarhub

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला उनले तेहरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने नयाँ अभियान घोषणा गरेका हुन्।

ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराएमा कडा आर्थिक कारबाही भोग्नुपर्ने बताएका छन्।

उनले पछिल्लो कदमलाई इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अभूतपूर्व स्तरमा आर्थिक दबाब र इरानको अन्तर्राष्ट्रिय अलगाव अघि बढाउने घोषणा गरेका हुन्। यद्यपि, इरानबाहेक कुन देश वा संस्थामाथि कस्तो कारबाही गरिनेछ भन्ने उनले स्पष्ट पारेका छैनन्।

ट्रम्पले इरानसँग सम्बन्धित तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानले प्रयोग गर्ने अग्रपंक्तिका कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि गत साता अमेरिकी नौसेनाको नाकाबन्दीसँगै इरानलाई आर्थिक रूपमा अलग्याउने अभियान थप तीव्र पारिने बताएका थिए। उनले त्यसलाई विश्वले यसअघि नदेखेको स्तरको आर्थिक अलगावको प्रयासका रूपमा व्याख्या गरेका थिए।

अमेरिकी अर्थ मन्त्रालयले केही महिनादेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ नामक अभियान सञ्चालन गर्दै लक्षित प्रतिबन्धमार्फत इरानको आर्थिक स्रोत सीमित गर्ने प्रयास गरिरहेको छ।

यसैबीच, अमेरिकी सैन्य कारबाहीको महिनौँ सामना गरिरहेको इरानले पनि कडा प्रतिकार गर्दै आएको छ। अमेरिकी सञ्चारमाध्यमले युद्धका कारण अमेरिकी हतियार भण्डारमा उल्लेखनीय कमी आएको दाबी गरे पनि पेन्टागनले त्यसलाई अस्वीकार गरेको छ।

द्वन्द्व फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो। त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। इरानी आक्रमणको जोखिमका कारण विश्वकै महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्गमध्ये एक हर्मुज जलघाँटी हुँदै हुने जहाज आवागमनमा ठूलो कमी आएको थियो।

जलघाँटी पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउन अमेरिका र इरानबीच भएको सम्झौताको प्रयाससमेत सफल हुन सकेको छैन। यद्यपि, ट्रम्पले बुधबार हर्मुज हुँदै जहाज सञ्चालनमा सहयोग गर्न अमेरिकी सेनाले गरिरहेको प्रयासको बचाउ गर्दै अहिले धेरै जहाज आवतजावत गरिरहेको दाबी गरेका छन्।

डिजिटल सञ्चारमाध्यम ‘एक्सियोस’का अनुसार अमेरिकी सेनाले पछिल्ला सातामा दैनिक करिब १५ देखि २० वटा जहाजलाई हर्मुज जलघाँटीभित्र र बाहिर आवतजावत गर्न सहज बनाइरहेको छ। ती जहाजले युद्धअघि हुने गरेको तुलनामा करिब आधा परिमाणमा तेल ढुवानी गरिरहेको जनाइएको छ।

अमेरिका र इरानबीच पछिल्ला दिनमा सन्देश आदानप्रदान भइरहेको बताइए पनि ट्रम्पले मंगलबार वार्ता रोकिएको दाबी गरेका थिए। उनले हर्मुज जलघाँटीलाई अमेरिकाको नयाँ क्षेत्रका रूपमा स्थापित गर्न सकिने सङ्केतसमेत गरेका थिए ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलबार इरानले आफ्ना क्षेत्रमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै तेहरानसँगका सबै आर्थिक सम्झौता स्थगित गर्ने घोषणा गरेको थियो। युएई र इरानबीच लामो समयदेखि सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहे पनि युद्धअघि युएई अमेरिकी प्रतिबन्धमा रहेको इरानको प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो। युएईमा ठूलो इरानी समुदायसमेत बसोबास गर्दै आएको छ।

ट्रम्पले इरानको खतरा अलग्याउन र पराजित गर्न अमेरिकाका सबै सहयोगीले अमेरिकालाई साथ दिनुपर्ने बताए। उनको पछिल्लो घोषणाले इरानमाथि मात्र नभई इरानसँग आर्थिक कारोबार गर्ने देश तथा संस्थामाथि समेत अमेरिकी दबाब बढ्ने सङ्केत गरेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १ : ४५ बजे

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

काठमाडौं– नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन

नौ सुकुम्वासीले गुमाए ज्यान, सडकबाट सरकारलाई खबरदारी (तस्बिरहरू)

काठमाडौं– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौँमा

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियारलाई पूर्ण

नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रममा विवाद, दुई संघठनले निकाले छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाडौं– कुमारी बैंक लिमिटेडले हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) सँग