अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो « Khabarhub

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो।

बढ्दो सरकारी खर्च, ऋणको ब्याज भुक्तानी तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी सरकारी ऋण नयाँ कीर्तिमानमा पुगेको बताइएको छ। ऋणको तीव्र वृद्धिले मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता थप बढाएको छ।

यो रकम कङ्ग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म अमेरिकी कुल ऋण ३९४ खर्ब डलर पुग्ने गरेको पूर्वानुमानभन्दा समेत बढी हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियानका क्रममा सरकारी खर्च घटाउने प्रतिबद्धता जनाउनुभएको थियो। तर सामाजिक सुरक्षा र स्वास्थ्य सेवासम्बन्धी दीर्घकालीन दायित्व, ऋणको ब्याज भुक्तानी तथा रक्षा खर्च उच्च रहेकाले सरकारी ऋण घट्न सकेको छैन।

मध्यपूर्वमा जारी युद्धले समेत अमेरिकी सरकारमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ। युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र करिब तीन खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको जनाइएको छ।

यसैबीच, अमेरिकी प्रतिनिधिसभाले जुलाईमा पेन्टागनका लागि ११ खर्ब ५० अर्ब डलरसम्मको रक्षा बजेट व्यवस्था गर्न सकिने वार्षिक रक्षा नीति विधेयक पारित गरेको थियो। ट्रम्प प्रशासनले सरकारी खर्च घटाउने उद्देश्यले गठन गरेको सरकारी दक्षता विभागले दुई खर्ब १५ अर्ब डलर खर्च कटौती गरेको दाबी गरेको छ। यद्यपि, स्वतन्त्र पर्यवेक्षकहरूले उक्त दाबीको तथ्याङ्कमाथि प्रश्न उठाएका छन्।

अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघेपछि दुवै प्रमुख राजनीतिक दलका सांसदले सरकारको बढ्दो खर्चप्रति चिन्ता व्यक्त गरेका छन्। रिपब्लिकन सिनेटर रिक स्कटले सरकारी खर्च नियन्त्रण गरी बजेट सन्तुलित बनाउन कङ्ग्रेसलाई आग्रह गरेका छन्। डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प प्रशासनको आर्थिक नीतिको आलोचना गर्दै आएका छन्।

बढ्दो ऋण र युद्ध खर्चको प्रभाव अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलमा समेत देखिएको छ। १० वर्षभन्दा लामो अवधिका ट्रेजरी बन्डको प्रतिफल मंगलबार सन् २००७ यताकै उच्च तहमा पुगेको थियो। यसले अमेरिकी सरकारले विगतको तुलनामा महँगो ब्याजदरमा ऋण पुनर्वित्त गर्नुपर्ने जोखिम बढाएको छ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी बजेट तथा कर विज्ञ जेसिका रिडलका अनुसार अमेरिकी सरकारले पछिल्ला केही वर्षदेखि आर्थिक विस्तारको अवस्थामा समेत वार्षिक करिब २० खर्ब डलर बराबरको बजेट घाटा व्यहोर्दै आएको छ। कुल गार्हस्थ्य उत्पादनको तीनदेखि चार प्रतिशत आसपास रहेको बजेट घाटा अहिले छदेखि सात प्रतिशतको नजिक पुगेकाले वित्तीय बजारमा चिन्ता बढेको उनले बताए ।

विश्लेषकहरूका अनुसार ४०० खर्ब डलरको ऋण आफैँमा तत्काल आर्थिक सङ्कटको निश्चित सूचक भने होइन। तर यो वित्तीय बजारका लागि महत्वपूर्ण मनोवैज्ञानिक सीमा बनेको छ। अत्यधिक सरकारी ऋणले भविष्यमा अमेरिकी सरकारसँगै उपभोक्ता र व्यवसायका लागि समेत ऋणको लागत बढाउन सक्ने र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ।

अमेरिकी अर्थ मन्त्रालयले सङ्घीय बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादनको करिब तीन प्रतिशतमा झार्ने लक्ष्य अघि सारेको छ। तर रक्षा खर्च, सामाजिक सुरक्षासम्बन्धी दायित्व तथा ऋणको बढ्दो ब्याज भुक्तानीका कारण उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ३ : ३१ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव