टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा सहरस्थित शिन–कानुमा स्टेसनमा रेलमार्ग वरपरको झारपात हटाउने क्रममा कर्मचारीहरूलाई एक्सप्रेस रेलले ठक्कर दिएको हो।
अग्नि नियन्त्रक विभागका अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार दुर्घटनामा घाइते भएका चारै कर्मचारीको मृत्यु भएको पुष्टि भएको छ। आपतकालीन सेवा टोली घटनास्थलमा पुग्दा तीन जना कर्मचारी रेलमुनि च्यापिएको अवस्थामा भेटिएका थिए भने एक जना रेलमार्गमा लडेको अवस्थामा थिए।
जिजी प्रेसका अनुसार मृतक चारै जना पुरुष हुन् र उनीहरू ५० देखि ६० वर्ष उमेर समूहका थिए।
दुर्घटनामा रेलमा सवार करिब ५० यात्रुमध्ये कसैलाई पनि चोटपटक नलागेको बताइएको छ। छवटा डिब्बा भएको उक्त रेल ‘टोबु निक्को लाइन’मा सञ्चालन हुने ‘स्पेसिया एक्स’ एक्सप्रेस रेल थियो। उक्त रेलले टोकियोलाई तोचिगी क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य निक्कोसँग जोड्छ।
रेल सञ्चालकलाई उद्धृत गर्दै जापानी समाचार संस्था एनएचकेले जनाएअनुसार टोकियोतर्फ गइरहेको रेल शिन–कानुमा स्टेसनमा रोकिने क्रममा दुर्घटनामा परेको थियो।
रेलमा सवार यात्रुहरूले ठूलो गडगडाहटको आवाज सुनेपछि रेल अचानक रोकिएको बताएका छन्। केही यात्रुले रेलभित्र उभिनसमेत कठिन हुने गरी झट्का महसुस गरेको बताएका छन्। दुर्घटनापछि केही समयसम्म यात्रुलाई रेलबाट बाहिर निस्कन दिइएको थिएन।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेका कर्मचारीहरू रेलमार्ग वरपरको झारपात हटाउने सात सदस्यीय टोलीका सदस्य थिए। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।
उच्चस्तरीय मर्मतसम्भार, नियमित तालिम तथा अत्याधुनिक प्रविधिको प्रयोगका कारण जापानको रेल सेवा विश्वकै सुरक्षितमध्ये मानिन्छ। रेलसम्बन्धी प्राविधिक खराबीका कारण हुने घातक दुर्घटना जापानमा तुलनात्मक रूपमा दुर्लभ छन्।
यस शताब्दीमा जापानमा भएको सबैभन्दा घातक रेल दुर्घटना सन् २००५ मा भएको थियो। त्यसबेला व्यस्त समयमा यात्रुवाहक रेल लिकबाट बाहिरिएर पश्चिमी जापानको अमागासाकीस्थित एक अपार्टमेन्ट भवनमा ठोक्किँदा १०७ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए।
यसअघि सन् १९६३ मा लिकबाट खसेको मालवाहक रेल र दुई यात्रुवाहक रेलबीच भएको दुर्घटनामा १६१ जनाको मृत्यु भएको थियो।
सन् १९६४ मा सेवा सुरु भएयता जापानको ‘सिन्कान्सेन’ बुलेट रेल सञ्जालमा रेल लिकबाट खस्ने वा आपसमा ठोक्किने घटनामा कुनै यात्रुको मृत्यु भएको छैन।












प्रतिक्रिया