काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित देखिएको देखिएको छ । अहिलेसम्म सार्वजनिक भएका तथ्यांकहरूले अघिल्लो आवको तुलनामा बैंकिङ क्षेत्र र जलविद्युत् क्षेत्रको अवस्था सकारात्मक देखिएको छ भने होटेल र बीमाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन ।
त्यस्तै, गत आवमा उत्पादन तथा प्रशोधनमूलक उद्योगमा अधिकांश कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएपनि अधिकांश उद्योगको नाफामा भने सुधार हुन सकेको देखिँदैन ।
बैंकिङ क्षेत्र नाफामा
अघिल्लो आव ०८१/८२ को तुलनामा गत आव ०८२/८३ मा बैंकिङ क्षेत्रको वित्तीय अवस्था सकारात्मक देखिएको छ । अघिल्लो आवको तुलनामा सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंक, विकास बैंक र लघुवित्त संस्था नाफामा गएका छन् । तर, गत आवमा फाइनान्स कम्पनीहरूको अवस्था भने मिश्रित देखिएको छ ।
गत आवमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले ६९ अर्ब ८६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरे । जुन नाफा अघिल्लो आवको तुलनामा ३२ प्रतिशतले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरूले ५२ अर्ब ८१ करोड बढी खुद नाफा आर्जन गरेका थिए । तर, गत आवमा प्रभु बैंक भने खुद घाटामा गएको छ भने अन्य ४ वटा बैंकको नाफा पनि केही घटेको छ ।
त्यस्तै, गत आवमा विकास बैंकको खुद नाफामा पनि उछाल आएको छ । सञ्चालनमा रहेका १६ वटा विकास बैंकको अघिल्लो आवको तुलनामा गत आवमा खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । बैंकहरूको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरूले गत आवमा ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी अघिल्लो आवमा विकास बैंकहरूले ५ अर्ब ६७ करोड नाफा आर्जन गरेका थिए ।
गत आवमा फाइनान्स कम्पनीहरूको औसत खुद नाफामा पनि वृद्धि भएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये १४ वटा कम्पनीको अपरिस्कृत वित्तीय विवरण हेर्दा अघिल्लो आवको तुलनामा गत आवमा फाइनान्स कम्पनीको खुद नाफामा १४४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा गुड फाइनान्सले २६६४.७८ प्रतिशतसम्म खुद नाफा वृद्धि गरेको छ भने केही कम्पनीको नाफामा भने गिरावट आएको छ ।
साथै, गत आवमा सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरूको औसत खुद नाफा पनि वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्त संस्थाहरूले आफ्नो खुद नाफामा १२४.९० प्रतिशतले वृद्धि गरेका छन् । अघिल्लो आव ०८१/८२ मा सञ्चालनमा रहेका ५० वटा लघुवित्त संस्थामध्ये ३९ वटा संस्था नाफामा गएका छन् भने ११ संस्था मात्रै घाटामा छन् ।
जीवन बीमा र निर्जीवनको नाफामा गिरावट
अघिल्लो आवको तुलनामा गत आवमा जीवन बीमा र निर्जीवन बीमा कम्पनीको खुद नाफामा भने केही गिरावट आएको छ ।
सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा १४ वटा जीवन बीमा कम्पनीको खुद नाफामा १०.५२ प्रतिशतले गिरावट आएको हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले ६ अर्ब ८ करोड ६० लाख ६० हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा सो नाफामा गिरावट आएर ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँमा सीमित भएका छन् ।
त्यस्तै, समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीको खुद नाफामा भने ठूलो गिरावट आएको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीको अघिल्लो आवको तुलनामा गत आवमा औसत खुद नाफमा ३९.२१ प्रतिशतले गिरावट आएको देखिएको हो ।
अघिल्लो आवमा खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ आर्जन गरेका कम्पनीहरू गत आवमा जम्मा २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भए ।
उत्पादन तथा प्रशोधन क्षेत्रको औसत खुद नाफामा सुधार
अघिल्लो आवको तुलनामा गत आवमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएका उत्पादन तथा प्रशोधन कम्पनीहरूको खुद औसत नाफामा सुधार भएको छ । सूचीकृत १८ मध्ये १७ वटा कम्पनी तथा उद्योगले गत आवमा ६ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन नाफा अघिल्लो आवको तुलनामा ७४.१८ प्रतिशतले बढी हो ।
गत आवमा युनिलिभरले सबैभन्दा खुद नाफामा सबैभन्दा धेरै वृद्धि गरेको छ । तर, अघिल्लो आवको तुलनामा गत आवमा धेरै उत्पादन तथा प्रशोधन समूहको औसत खुद नाफा बढेपनि धेरै उद्योगको खुद नाफामा भने केही गिरावट आएको तथ्यांकले देखाएको छ ।
सूचीकृत होटेल तथा पर्यटन क्षेत्र घाटामा
गत आर्थिक वर्षमा नेप्सेमा सूचीकृत होटेल तथा पर्यटन क्षेत्र भने घाटामा रहेको देखिएको छ । प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा खुद नाफा १ अर्ब २ करोड रहेका ८ वटा कम्पनीको खुद नाफा गत आवमा खुम्चिएर २५ करोड ऋणात्मक बन्न पुगेको हो ।
गत आवमा सोल्टी होटेल कालिञ्चोक दर्शनले खुद नाफा बढाएका छन् भने तारागाउँ रिजेन्सी होटेल, र्याडिसन, हायात सेन्ट्रिक र होटेल फरेस्ट इनको खुद नाफा नकारात्मक बन्न पुगेको छ । साथै, गत आवमा चन्द्रागिरि हिल्स र बन्दिपुर केबलकारको खुद नाफामा पनि गिरावट आएको तथ्यांकले देखाएको छ ।












प्रतिक्रिया