ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण « Khabarhub

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट्ने योजना रहेको बताएको केही घण्टामै उत्तर कोरियाले छोटो दूरीका १० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले बिहीबार साँझ करिब ५ बजे प्योङयाङ वरपरबाट पूर्वी समुन्द्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। ती क्षेप्यास्त्र करिब ३०० किलोमिटर उडेका थिए ।

उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षण दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यासका क्रममा भएको हो । यसपटक अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशअनुसार सैन्य अभ्यासलाई योजनाभन्दा छोटो बनाइएको छ ।

उत्तर कोरियाले लामो समयदेखि दक्षिण कोरिया र अमेरिकाबीच हुने संयुक्त सैन्य अभ्यासलाई आफूविरुद्धको आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ। यस्ता अभ्यासका क्रममा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

यसअघि बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले यसै वर्ष नेता किमसँग भेट्ने योजना बनाएको बताएका थिए । उनले उत्तर कोरियाका नेतासँग राम्रो सम्बन्ध कायम गर्नु महत्वपूर्ण रहेकाे बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग अहिले करिब ५७ वटा शक्तिशाली आणविक हतियार रहेको अमेरिकी बुझाइ रहेको बताएका थिए । तर, दक्षिण कोरियाली अनुमानअनुसार उत्तर कोरियासँग ८० देखि १२० वटासम्म आणविक हतियार हुन सक्ने उल्लेख गरिएको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले आपत्कालीन सुरक्षा बैठक बोलाएको थियो। सियोलले उत्तर कोरियाको पछिल्लो गतिविधिको निन्दा गर्दै यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भएको बताएको छ। साथै, सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ ।

राष्ट्रपति ट्रम्पले फेरि नेता किमलाई प्राथमिकता दिन थालेको र दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास छोटो बनाइएको विषयले अमेरिकाका एसियाली सहयोगीहरूमा भने चिन्ता बढाएको छ। साथै, इरानसँगको युद्ध रोकिएको अवस्थामा राष्ट्रपति ट्रम्पले विदेश नीतिमा नयाँ सफलता हासिल गर्ने प्रयास गरिरहेको हुन सक्ने अनुमान पनि गरिएको छ।

नेता किमकी बहिनी किम यो जोङले पनि बुधबार दुई नेताबीचको सम्बन्धबारे प्रतिक्रिया दिएका थिए । उनले आफ्ना दाजु किमलाई राष्ट्रपति ट्रम्पसँगका राम्रा सम्झना रहेको र दुई नेताबीचको सम्बन्ध अझै उत्कृष्ट रहेको बताएका थिए । तर, हाल दुई नेताबीच प्रत्यक्ष सञ्चार भइरहेको आफूलाई जानकारी नभएको उनले बताएका थिए ।

यसैबीच, दक्षिण कोरियाले ‘उल्ची फ्रिडम शिल्ड’ सैन्य अभ्यास शुक्रबार नै समाप्त हुने जनाएको छ। अमेरिकी पक्षको सुझावअनुसार अभ्यासलाई योजनाभन्दा करिब एक साताअघि नै समाप्त गर्न लागिएको हो। पेन्टागनले भने अभ्यास छोटो बनाइए पनि अमेरिकी सैन्य प्रशिक्षणको उद्देश्यमा कुनै असर नपर्ने जनाएको छ।

‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य तयारीका रूपमा सञ्चालन हुँदै आएको छ। अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक शान्ति सन्धिबिना युद्धविराममा रोकिएको थियो। त्यसयता उत्तर र दक्षिण कोरियाबीचको तनाव कायम रहँदै आएको छ।

दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु–ब्याकले सियोलले उत्तर कोरियालाई आधिकारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा मान्यता नदिने बताएका थिए । अमेरिकाले उत्तर कोरियाको आणविक निरस्त्रीकरणको लक्ष्य त्यागेको हो कि भन्ने प्रश्नमा उनले त्यस्तो नभएको विश्वास व्यक्त गरेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि घरेलु रक्षा क्षमता बलियो बनाउँदै अमेरिकामाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिँदै आएका छन् । उनले राष्ट्रपति ट्रम्पको उत्तर कोरियासँग शान्ति कायम गर्ने प्रयासलाई सहयोग गर्न आफूले दक्षिण कोरियाको राष्ट्रपति र देशको नेतृत्वका रूपमा सक्दो प्रयास गर्ने बताएका छन् ।

ट्रम्पले किमसँग पुनः भेटवार्ता गर्ने इच्छा व्यक्त गरेको केही घण्टामै भएको उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणले भने कोरियाली प्रायद्वीपमा शान्ति प्रयास र सैन्य तनावबीचको जटिल अवस्थालाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ८ : २२ बजे

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित