इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ ।
इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिए। सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजारको लागतमा जडान गरिएको बेलिब्रिजको आज सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले उद्घाटन गरे ।
बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको रहेको इन्जिनियर घिमिरेले जानकारी दिए । बेलिब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष २०८२/८३ मा नै तयार भइसकेको भए पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान गर्न ढिलो भएको हो । प्राविधिक टोली भारतबाट नै आएर बेलीब्रिज जडानको काम गरेको थियो ।
बेलिब्रिज जडानपछि यहाँका बासिन्दा खुसी भएका छन् । बेलिब्रिज जडान भएपछि सो सडक मेची राजमार्गको वैकल्पिक सडक बनेको इलाम नगरपालिका–११ का तिलक श्रेष्ठले बताए । सो स्थानमा आव २०८१/८२ मा सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो । बेलिब्रिज बगाएपछि घाम लागेको समयमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालन गरिदैँ आएको थियो ।
इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा ९मेची करिडोर० सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गको विकल्प खुलेको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ ।












प्रतिक्रिया