संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।
नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको यो ‘लाइफलाइन’ सडक गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहित पहिरो खसेपछि पूर्ण रूपमा ठप्प बनेको थियो ।
किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट १४१ किलोमिटर दूरीमा रहेको छुम्सुरको पहिरो हटाउन उत्तर-दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्ट र श्री इन्द्रदल गुल्मको सैनिक टोली परिचालन भएको आयोजनाले जनाएको छ ।
सामान्य उपकरणले ठूला चट्टान हटाउन सम्भव नभएपछि सैनिक टोलीले विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गरेर चट्टान फुटाएको थियो । त्यसपछि आयोजनाले गेग्रान र लेदो हटाएर सडक सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । “भौगोलिक अवस्थाका कारण पहिरो पन्छाउन अत्यन्त कठिन थियो,” गुरुङले भने, “चुनौतीपूर्ण परिस्थितिमा सेनाले ठूलो योगदान पुर्यायो ।”
रसुवागढी, तातोपानी र कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण प्रभावित भइरहेका बेला किमाथाङ्का सडक खुल्दा उत्तरी सीमासँगको पारवहन र आवागमन सहज हुने अपेक्षा गरिएको छ । सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयको दैनिक आवागमन र खाद्यान्न ढुवानीमा सास्ती हुँदै आएको थियो ।
नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो जोगबनी–किमाथाङ्का सडक खण्डअन्तर्गत कडा चट्टानयुक्त १०.८ किलोमिटर ट्र्याक सेनाले नै हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर तयार पारेको थियो । गत वैशाखमा हस्तान्तरण गरिएको यो सडक सञ्चालनमा आएसँगै संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।














प्रतिक्रिया