काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।
मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ।
महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ।
यस दिन सवारीसाधन र औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने तथा व्यवसायमा प्रगति हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तिहरूले महानवमीमा आफ्ना सवारीसाधन र औजारको पूजा गर्ने गर्छन्।
पूजा गर्न आउने भक्तजनको चहलपहल बढेसँगै भद्रकाली मन्दिर आसपासका क्षेत्रमा बिहानैदेखि सवारीसाधनको आवागमनसमेत बाक्लिएको छ।














प्रतिक्रिया