टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुवातबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन्।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट मङ्गलबार बिहान जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। प्रक्षेपण भएको एक घण्टाभन्दा बढी समयपछि अन्तरिक्ष यान रकेटबाट सफलतापूर्वक छुट्टिएको थियो।
अभियोजनाअनुसार अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा मङ्गल ग्रहको नजिक पुग्नेछ। त्यसपछि यानले फोबोसको परिक्रमा गर्दै त्यहाँको सतहबाट कम्तीमा १० ग्राम नमूना सङ्कलन गर्नेछ। अभियानमा सहभागी फ्रान्सेली–जर्मन रोभर ‘इडफिक्स’ ले पनि फोबोसको सतहको अध्ययन गर्दै सुरक्षित अवतरणको प्रयास गर्नेछ।
जाक्साका अनुसार यस अभियानले मङ्गल ग्रह र यसका दुई चन्द्रमा फोबोस तथा डिमोसको उत्पत्तिबारे महत्त्वपूर्ण जानकारी उपलब्ध गराउनेछ। वैज्ञानिकहरूका अनुसार चन्द्रमाहरू कसरी बने भन्ने विषयमा दुई प्रमुख सिद्धान्त छन्। एउटा सिद्धान्तले मङ्गल ग्रह र अर्को खगोलीय पिण्डबीच भएको ठक्करबाट चन्द्रमाहरू बनेको मान्छ भने अर्कोले ती चन्द्रमा मङ्गलको गुरुत्वाकर्षणले तानेका क्षुद्रग्रह भएको ठान्छ।
यीमध्ये कुन सिद्धान्त सही हो भन्ने पत्ता लागेमा चट्टानी ग्रहमा जीवन अनुकूल वातावरण कसरी विकसित भयो भन्ने बुझ्न सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाको विज्ञान अभियान निर्देशनालयकी प्रशासक निकी फक्सले फोबोसबाट ल्याइने नमूनाको अध्ययनले भविष्यमा मङ्गल ग्रहमा मानव पठाउने तयारीमा समेत सहयोग पुग्ने बताएका छन्। यस अभियानमा अमेरिका, युरोपेली अन्तरिक्ष एजेन्सी, विभिन्न विश्वविद्यालय र प्रविधि कम्पनीहरूले पनि सहकार्य गरेका छन्।
यसैबीच, अमेरिका र चीन मङ्गल ग्रहबाट चट्टानका नमूना पृथ्वीमा ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन्। नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि मङ्गल ग्रहमा नमूना सङ्कलन गरिरहेको छ। तर, अमेरिकी प्रशासनले ती नमूना पृथ्वीमा फर्काउने अभियान रद्द गरेको थियो।
चीनले भने सन् २०२८ तिर तियानवेन–३ अभियान प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहबाट नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ।














प्रतिक्रिया