आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला « Khabarhub

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ ।

करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् । गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको उपस्थितिले मेलास्थलमा छुट्टै रौनक छाउने गर्दछ ।

लड्केश्वर धाम परिसरमा स्थापित १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस क्षेत्रको धार्मिक तथा आध्यात्मिक महिमा थप बढाएको छ । यी धार्मिक संरचनाले धामको विशिष्टता थप बढाउनुका साथै भक्तजनलाई आकर्षित गर्दै आएका छन् । 

धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यस क्षेत्रमा मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ ।

स्थानीय सागर आचार्यका अनुसार मेलाका अवसरमा भक्तजनले महादेवको पूजाआजा गर्नुका साथै भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ । धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए  । 

हरिबोधिनी एकादशी भगवान् विष्णुको चातुर्मास शयन समाप्त भई जागरण हुने पवित्र दिनका रूपमा लिइन्छ । यस दिन तुलसी विवाह, व्रत, पूजाआराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने सनातन परम्परा रहिआएको छ ।

मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदासमेत दिँदै आएको छ । नगरप्रमुख रामशरण भण्डारीले संस्कृति संरक्षण गर्नु सबैको दायित्व भएको बताए । ‘संस्कृति संरक्षण गर्नु हामी सबैको दायित्व हो । स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ’, उनले भने ।

नगरप्रमुख भण्डारीले यस वर्षको मेलामा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको बताए । धार्मिक विश्वास, ऐतिहासिक महत्त्व र प्राकृतिक सुन्दरताले भरिपूर्ण लड्केश्वर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए ।

पुस्तौँदेखि चल्दै आएको यस मेलाले धार्मिक आस्थालाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्दै आएको छ । रासस

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ६ : ३१ बजे

हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ?

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल)

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी

कार्तिक शुक्ल एकादशी : तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

काठमाडौँ– कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको

दोहामा नेपालको आज कठिन परीक्षा, पहिलो खेलमा भारतसँग भिड्दै

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ