विश्वका १०० महान् फिल्म स्टारको सूचीमा शाहरुख खान « Khabarhub

विश्वका १०० महान् फिल्म स्टारको सूचीमा शाहरुख खान

एक्ला भारतीय अभिनेता बनेर बनाए नयाँ कीर्तिमान


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खानले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव प्रमाणित गरेका छन् । रोमान्टिक अभिनेतादेखि एक्सन स्टारसम्मको यात्रा तय गरेका उनी विश्वका १०० महान् फिल्म स्टारको सूचीमा परेका छन् । 

अमेरिकी मनोरञ्जन म्यागजिन ‘भेराइटी’ले सार्वजनिक गरेको ‘१०० ग्रेटेस्ट मुभी स्टार्स अफ अल टाइम’ सूचीमा शाहरुख ९२औँ स्थानमा अटाएका हुन् । रोचक कुरा त के छ भने, यस सूचीमा स्थान बनाउने उनी एक्ला भारतीय अभिनेता हुन् ।

चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय शाहरुखले आफ्नो अभिनयमार्फत विश्वभरका दर्शकको मन जित्दै आएका छन् । भेराइटीले पनि उनलाई लामो समयदेखि भारतीय सिनेमामा प्रभाव जमाउँदै आएका अभिनेताका रूपमा प्रस्तुत गरेको छ । उनको अभिनय शैली, आकर्षक व्यक्तित्व र हास्यचेतलाई दर्शकमाझ लोकप्रिय हुनुका प्रमुख कारणका रूपमा म्यागजिनले उल्लेख गरेको छ ।

९० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका शाहरुखको करियर पनि निकै रोचक छ। सन् १९९३ मा प्रदर्शन भएका ‘बाजीगर’ र ‘डर’ जस्ता फिल्मबाट नकारात्मक भूमिकामा चर्चा कमाएका उनले पछि रोमान्टिक अभिनेताका रूपमा छुट्टै पहिचान बनाए ।

‘दिलवाले दुल्हनिया ले जायेंगे’, ‘दिल से’, ‘कुछ कुछ होता है’ र ‘देवदास’ जस्ता फिल्मले उनलाई भारतमा मात्र नभई विश्वभर लोकप्रिय बनाए ।

विशेषगरी रोमान्टिक भूमिकामा उनको लोकप्रियता यति व्यापक भयो कि दर्शकले उनलाई ‘किङ खान’को उपनाम दिए। तर, शाहरुखले आफूलाई रोमान्टिक अभिनेतामा मात्र सीमित राखेनन् । कमेडी, गम्भीर चरित्र र एक्सन भूमिकामार्फत पनि उनले आफ्नो अभिनय क्षमता प्रमाणित गर्दै आएका छन् ।

भेराइटीको सूचीमा पहिलो स्थानमा हलिउड अभिनेत्री मर्लिन मुनरो रहेकी छन् । दोस्रोमा हम्फ्रे बोगार्ट र तेस्रोमा चार्ली च्याप्लिन छन् । यस्तै, ज्याक निकोल्सन, क्याथरिन हेपबर्न, सिड्नी पोइटियर, मार्लन ब्रान्डो र टम क्रुजजस्ता चर्चित कलाकार पनि सूचीको शीर्ष स्थानमा छन् ।

सूचीमा शाहरुखभन्दा अगाडि रोबर्ट डाउनी जुनियर ७४औँ, रायन गोसलिङ ७७औँ, रोबर्ट प्याटिन्सन ८३औँ र टिमोथी चालमेट ८६औँ स्थानमा छन् । त्यस्तै, शाहरुखभन्दा पछाडि जोकिन फिनिक्स ९३औँ, एम्मा स्टोन ९४औँ र जेन्डाया ९८औँ स्थानमा परेका छन् ।

एक समय टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेका शाहरुखले आज विश्वकै चर्चित फिल्म स्टारहरूसँग एउटै सूचीमा स्थान बनाउनु उनको लामो फिल्मी यात्राको उपलब्धिका रूपमा हेरिएको छ । भारतीय फिल्म उद्योगको प्रतिनिधित्व गर्दै उनले बनाएको यो पहिचानले उनको अन्तर्राष्ट्रिय लोकप्रियतालाई पनि थप उजागर गरेको छ ।

यसैबीच, शाहरुख आगामी फिल्म ‘किङ’मार्फत दर्शकमाझ आउने तयारीमा छन् । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको एक्सन थ्रिलर फिल्म डिसेम्बर २४ देखि विश्वव्यापी प्रदर्शनमा आउने तय भएको छ । रोमान्टिक छविबाट एक्सन स्टारसम्मको यात्रा तय गरेका शाहरुखलाई यसपटक नयाँ अवतारमा हेर्न दर्शक उत्साहित छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : ०० बजे

विश्वका १०० महान् फिल्म स्टारको सूचीमा शाहरुख खान

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खानले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत भएको छ ।

भोटेकोशी बाढीपीडित १४२ परिवारलाई नगद राहत

रसुवा– भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड

जुवातास खेलिरहेका २५ जना पक्राउ

काठमाडौँ- म्याग्दी र धनकुटामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २५

स्थानीय निर्वाचनको तयारीबारे शीर्ष नेताहरूसँग आयोगको छलफल

काठमाडौँ – स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनबारे निर्वाचन आयोगले