गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् ।
तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना जारी गर्दै त्यसको तयारीमा जुटेका हुन् । उम्मेदवार छनोटका लागि सोमबार दिनभर नै आन्तरिक छलफल गरी दलहरूले उम्मेदवारी तय गरेका हुन् ।
दलहरूले कास्की क्षेत्र नम्बर १ मा पशुपन्छी अनुसन्धान, विकास तथा परीक्षण केन्द्र रामघाटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नेछन् भने क्षेत्र नम्बर २ का लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइडमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै क्षेत्र नम्बर ३ का लागि कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।
उम्मेदवारी मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार दलहरूले उम्मेदवारी दर्ता गर्न आउने समयबारे पनि जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान १० देखि ११ बजेसम्म, नेकपा एमालेले १ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि आउने जानकारी गराएको र अन्य दलबाट जानकारी आउने क्रममा रहेको उनले बताए ।
जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका छन् । कास्की क्षेत्र नम्बर १ मा एक लाख १६ हजार ८७८, क्षेत्र नम्बर २ मा ८४ हजार १३४ मतदाता रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ३ मा एक लाख सात हजार ५६० मतदाता रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।













प्रतिक्रिया