काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि सभाको निर्वाचन यही फागुन २१ गते हुँदैछ । यो निर्वाचनको प्रत्यक्षतर्फ राजीतिक दल र स्वतन्त्र उम्मेदवारले मंगलबार देशभर मनोनयन दर्ता गराएका छन् ।
०७९ सालको प्रतिनिधि सभामा निर्वाचनमा लोकप्रिय मतका साथ विजयी उम्मेदवारहरू यस पटक चुनवी प्रतिस्पर्धामा सहभागी भएका छन् ।
भदौ २३–२४ को आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले भने अघिल्लो पटक लोकप्रिय मत पाएर विजयी केहीले फागुन २१ को चुनावी प्रतिस्पर्धामा उम्मेदवारका रुपमा सहभागी नहुने भएका छन् ।
लोकप्रिय मत पाउने कहाँबाट लड्दैछन् ?
रवि लामिछाने : चितवन ३ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सबैभन्दा भारी मतान्तरले विजयी भएका थिए ।
०७९ को निर्वाचनमा उनले आफ्नो निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३.४ गुणा मतले जितेका थिए ।
लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए ।
लामिछानेको नागरिकता काण्डले चितवन ३ उपनिर्वाचनमा होमियो । त्यसबेला रविले निकटतम् प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठलाई लामिछानेले ४.८३ गुणा मतान्तरले पछि पारे । दोस्रो पटकको निर्वाचनमा उनी सबैभन्दा बढी मतान्तरले संसद्मा पुगे ।
दोस्रो निर्वाचनमा लामिछाने ५४ हजार १७६ र श्रेष्ठले ११ हजार २१४ मत पाएका थिए । यसपालि पनि सभापति लामिछाने यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा जाँदैछन् ।
प्रेम सुवाल : नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि लोकप्रिय मतले विजेता भनेका दोस्रो उम्मेदवार हुन् ।
भक्तपुर १ बाट दोस्रो बढी मत ल्याउने एमालेका नवराज गेललालाई सुवालले ३.५ गुणा बढी मतले जितेका थिए ।
भक्तपुर १ का ४२ हजार ७६१ जनताले सुवाललाई मत हाल्दा एमालेका गेलालको पक्षमा ११ हजार ९६८ मात्रै देखिए ।
भक्तपुर १ सुवाल आवद्ध नेमकिपाको गढ मानिन्छ ।

रुकुमपूर्व
गत निर्वाचनमा रुमुकपूर्वबाट तत्कालीन माओवादी (केन्द्र)का उम्मेदवार जर्नादन शर्मा भारी मतले विजयी भएका थिए ।
दोस्रो बढी मत पाउने एमालेका नन्दनराम देवकोटाको भन्दा उनी २.७ गुणाले अघि बढ्दै सांसद बने । त्यसबेला जनार्दनले ३५ हजार ५४९ र देवकोटाले १२ हजार ९६१ मत पाएका थिए ।
यसपटक यो क्षेत्रबाट तत्कालीन माओवादी अध्यक्षसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उठेका छन् ।
रुकुमपूर्व माओवादीको गढ मानिन्छ । जनार्दन अहिले रुकुमपूश्चिम सरेका छन् । रुकुम पश्चिम कर्णाली प्रदेशमा पर्छ भने रुकुमपूर्व लुम्बिनी प्रदेशमा पर्छ ।
माओवादीबाट अलग भएर जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका छन् । उनी यस पटक त्यही दलबाट चुनावी मैदानमा छन् ।
रोल्पाका वर्षमान
माओवादीको गढ मानिने रोल्पामा यो वर्ष पनि वर्षमान पुन चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् ।
प्रचण्ड संयोजक रहेको माओवादीले समाहित नेपाल कम्युनिस्ट पार्टीबाट उनी उम्मेदवार बनेका हुन् ।
गत पुन एमालेका पूर्णबहादुर बूढामगर भन्दा साढे दुई गुण बढी मत ल्याएर विजयी भएका थिए ।
त्यसबेला पुनले ४१ हजार ७१४ र बूढामगरले १६ हजार ४८५ मात्रै मत ल्याएका थिए ।

ललितपुर ३
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की यो पटक पनि ललितपुर ३ बाटै चुनाव लड्दैछिन् ।
अघिल्लो निर्वाचनमा उनले निकटतम् प्रतिस्पर्धी अमृता खड्को भन्दा २.४ गुण बढी मत ल्याएकी थिइन् ।
कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्का १२ हजार ९६३ मै सीमित भएकी थिइन् । यस पटक कार्की यही क्षेत्रबाट दोहोरिने भएकी छन् ।
सप्तारी २
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यस क्षेत्रमा आफ्ना निकटतम् प्रतिस्पर्धी उपेन्द्र यादवको भन्दा २ गुणा बढी मत ल्याएका थिए ।
राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९७९ मत ल्याएका थिए । यस निर्वाचनमा उनी यही क्षेत्रबाट दोहोरिँदैछन् । उपेन्द्र भने यसपटक अर्को क्षेत्रमा गएका छन् ।
गोरखा २
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निकटतम् प्रतिस्पर्धीभन्दा दुई गुण बढी मतले विजयी भएका थिए ।
प्रचण्डले २६ हजार १०९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १२ हजा ६३९ मत पाएका थिए ।
प्रचण्ड यो पटक रुकुम पूर्व पुगेका छन् । बुर्लाकोटी सोही क्षेत्रमा दोहोरिएका छन् ।
झापा ५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ बाटै लड्दैछन् । गत निर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र अधिकारी थिए । अधिकारीभन्दा ओलीले दुई गुणा बढी मत पाएका थिए ।

यो पटक झापामा ओलीको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग हुने देखिन्छ । बालेन्द्रलाई पार्टीले प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ ।
आफ्ना निकटतम् प्रतिस्पर्धीलाई दुई गुणाभन्दा बढी मतले हराउने यी चर्चित नामहरु हुन् ।
सल्यानबाट नेकपाका प्रकाश ज्वाला, डडेलधुराबाट कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम), मोरङ ३ बाट कांग्रेसका सुनीलकुमार शर्मा र जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही ठूलो मतान्तरले विजयी भएका चर्चित नेता हुन् ।
यी नेताहरूले निकटतम् प्रतिस्पर्धीको १५ हजारभन्दा बढी भोट पाएका थिए । यसपाली कांग्रेसका देउवा, कान्छाराम र नेकपाका ज्वालालाई लागि पार्टीले टिकट दिएन ।













प्रतिक्रिया