विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन र विराटनगर चक्रपथ निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेस विराटनगर वडा नं.६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आवश्यक पहल अघि बढाउने बताए। उनले सुकुम्बासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिंदै आयोगका प्रतिनिधि छिट्टै बस्तीमै आएर स्थानीय समस्याहरू सुन्ने वातावरण बनाइने उल्लेख गरे। उनले भनाए, ‘म तपाईँहरूको पीडा नजिकबाट बुझेको छु। आयोगका सदस्य यहाँ आउँछन् र व्यवस्थापनको काम अघि बढ्छ।’
साथै, उनले विराटनगरको विकासमा महत्वपूर्ण बाधक मानिएको चक्रपथ (रिङ रोड) निर्माणलाई पनि प्राथमिकतामा राख्ने दाबी गरे। उनले भने, ‘चक्रपथ बनेको भए वडा नं. ६ र ४ को स्वरूप नै फरक हुन्थ्यो। व्यापार, आवागमन र पूर्वाधार विकासमा ठूलो परिवर्तन आउँथ्यो।’ निर्वाचनमा विजयी भए चक्रपथ निर्माणका लागि आवश्यक बजेट र समन्वय जुटाउने उनले बताए।
वडा नं। ६ भित्रको कालोपत्रे सडक निर्माणमा भएको ढिलाइबारे उनले ठेक्का लागिसके पनि ठेकेदार फरार हुँदा काम अलपत्र परेको जानकारी दिए। आगामी दिनमा उक्त सडक निर्माणलाई पुनः अघि बढाउने कोइरालाको आश्वासन छ।
त्यस्तै, सुकुम्बासी बस्ती नजिक अस्पताल स्थापना गर्ने योजना पनि अघि बढाइने उनले बताए। करिब दुई वर्षअघि जग्गा छुट्याइएको अस्पताल निर्माणलाई अब कार्यान्वयनको चरणमा ल्याइने र स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको उनले स्पष्ट पारे।
शेखर कोइरालाले सबै योजनाका सफल कार्यान्वयनका लागि मतदातासँग कांग्रेसलाई विजयी गराउन आग्रह गरे।













प्रतिक्रिया