मुख्य याममै सौराहामा पर्यटक घटे « Khabarhub

मुख्य याममै सौराहामा पर्यटक घटे


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । 

मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निराशा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँछन् । गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उनको भनाइ छ । 

अध्यक्ष पाण्डेले भने, ‘एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ ।’ यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ । 

मौसमका हिसाबले पनि गर्मी र जाडो दुबै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताए । 

उनले भने, ‘पर्यटक नआउनुको कारण खोज्नुपर्ने भएको छ ।’ 

सङ्घका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् । निर्वाचनपछि पर्यटक बढ्ने उनले अपेक्षा गरे । 

होटल व्यवसायी सुमन घिमिरे निर्वाचनको मुखमै पर्यटकको आगमनमा कमी आएको बताउँछन् । विशेष अवस्थामा निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय जगतमा यहाँको अवस्था शान्तिपूर्ण छ भन्ने सन्देश पुग्न जरुरी भएको बताए। 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा गत वर्ष यतिबेला दैनिक चार खेप गर्ने हात्तीले अहिले एक खेप मात्र गर्ने गरेको बताउँछन् । पर्यटकको आगमनमा कमी आएपछि व्यावसायिक रुपमा पालिएका हात्तीका सञ्चालक प्रभावित भएका छन् । 

रेष्टुरेन्ट व्यवसायीसमेत रहेका खतिवडाका अनुसार पर्यटक नआएपछि सौराहाका रेष्टुरेन्टमा प्रत्यक्ष प्रभाव परेको छ । मुख्य मौसममा पर्यटक घटेपछि पर्यटकीय गतिविधिमा काम गर्ने समग्र व्यवसाय प्रभावित भएको उनले बताए । 

बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने सौराहामा यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको बताउँछन् । होटल क्षेत्रमा लामो अनुभव सँगालेका उनले पर्यटक आउनेमा आशावादी छन् । 

सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । 

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडीयाल गोहीलगायतका दुर्लभ  वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । 

यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् । रासस
 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  २ : ०२ बजे

बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बाँदरको एउटा बच्चाको भिडियोले यतिबेला विश्वभरको

घट्दै काठमाडौंको प्रदूषण, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं– काठमाडौं उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । आज दिउँसो

शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने

रौतहटमा दुई समुदायबीच तनाव, सेनासहितका ५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं- रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि