बदलिँदो चुनाव प्रचारशैली : पहिलेको जस्तो छापिनै छाडे दलका पर्चा « Khabarhub

बदलिँदो चुनाव प्रचारशैली : पहिलेको जस्तो छापिनै छाडे दलका पर्चा



काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गइरहेको छ । यतिबेला उम्मेदवारलाई चुनावको असार पन्ध्र लागेको छ । उम्मेदवारलाई मतदातासामु पुगेर भोट माग्न भ्याइनभ्याइ छ ।

कतिपय उम्मेदवारले चुनावी प्रचारका लागि परम्परागत शैली अपनाइरहेका छन् । उम्मेदवारले मतदाताको घर गएर तरकारी केलाउन सघाउने, मल बोकिदिने, हलो जोतिदिने, आरा चलाउनेजस्ता स्टन्ट गर्न थालेका छन् ।

तर, चुनावको प्रचारशैलीमा यसपाली व्यापक परिवर्तन देखिएको छ । दलहरुले पछिल्लो समय चुनावी प्रचारका लागि भौतिकभन्दा पनि डिजिटल माध्यम अपनाउन थालेका छन् । चुनावको प्रचारशैलीमा आएको परिवर्तनले पर्चा छपाइमा ९० प्रतिशतले कमी आएको छापाखाना व्यवसायीहरुले बताउँछन् । प्रचारशैली डिजिटल माध्यममा रुपान्तरण भएको र निर्वाचन आयोगको आंचारसंहिताको कारणले छपाइमा कमी आएको उनीहरुको भनाइ छ ।

विशेषगरी आजकल सामाजिक सञ्जाल, अनलाइन समाचार पोर्टल, एसएमएस तथा मोबाइल एपमार्फत प्रचार–प्रसार गर्न सहज भएको छ । फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममार्फत उम्मेदवारहरूले छोटो समयमै हजारौँ मतदातासम्म सन्देश पुर्‍याउनसक्ने भएकाले पर्चाको आवश्यकता कम हुँदै गएको देखिन्छ ।

बागबजारमा विगत आठ वर्षदेखि छापाखानाको काम गर्दै आएका प्रदीप खरेलले विगतमा चुनावी प्रचार सामाग्री छापेर राम्रो आम्दानी गरेपनि पछिल्लो समय अपेक्षाअनुसार छपाईको अर्डर नआएको अनुभव सुनाए । खबरहबसँग कुरा गर्दै उनले भने ‘पहिले जस्तो छ्पाई छैन । निर्वाचन लक्षित कर्मचारी खटाएर काम गर्नुपर्ने हुन्थ्यो । अहिले एक्स्ट्रा कर्मचारी खटाउनै पर्दैन । पहिले एक नेता वा दलले न्यूनतम ४-५ लाखको पर्चा, ब्यानर र झण्डा छपाउँथे । अहिले त्यो ८-१० हजार रुपैयाँमा झरेको छ ।’

अहिले भोट कसरी हाल्ने भने सिकाउनको लागि मतपत्र र उम्मेदवारको फोटोसहितको पर्चा मात्रै छपाई हुने उनको अनुभव छ । यसो हुँदा व्यापारमा कमी आएको खरेलले बताए । पछिल्ला केही वर्षयता चुनाव प्रचार शैलीमा उल्लेखनीय परिवर्तन देखिएको उनी सुनाउँछन् ।

पहिले चुनावमा घर–घरमा पर्चा बाँड्ने र भित्तामा पोस्टर टाँस्ने चलन व्यापक थियो । तर अहिले भने पर्चा पोस्टर छपाई क्रमशः कम हुँदै गएको पाइएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका अनुसार पर्चा र पोस्टर छपाई खर्चिलो, समयसापेक्ष र वातावरणमैत्री नहुने भएकाले यसको प्रयोग घट्दै गएको छ । कागज, छपाई तथा वितरणमा ठूलो रकम खर्चिनुपर्ने भएकाले डिजिटल माध्यम सस्तो र प्रभावकारी विकल्पका रूपमा उभिएको छ ।

त्यसैगरी दुई दशकभन्दा लामो समय छापाखाना र प्रकाशनको काम गर्दै आएका जयराम तिमिल्सिनाले विगतका दुई वटा चुनाव यता चुनावी प्रचार सामाग्रीको छपाईको काम कम हुँदै गएको बताए । उनले भने, ‘२०७४ र ०७९ को चुनाव यता सामाग्री छाप्ने क्रम घट्दै गएको छ । पहिलेको तुलनामा अहिले १० प्रतिशतपनि छापाखानाको काम हुँदैन । निर्वाचन आयोगको आचारसंहिता ७० प्रतिशत र डिजिटल प्रचारको कारणले २० प्रतिशत छपाईमा कमी आएको हो ।’

निर्वाचन आंचारसहिताले एक जुलुसमा १०/२० भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने उल्लेख गरेको छ । त्यसैगरी, साइज पनि सानो मात्रै प्रयोग गर्न भनेको छ । सडकको पोलहरुमा टाँस्ने लगायत विभिन्न ठाउँमा पोस्टर र ब्यानर टाँस्न पाइँदैन । झण्डाहरु टाँसेर झिलिमिली बनाउन पाइँदैन । त्यसैगरी, पार्टीको चिन्ह भएको टोपी र टिसर्ट लगाउन पाइँदैन । प्रचारशैली परिवर्तन हुँदा व्यापारमा कमी आएको छ ।

पर्चा, ब्यानर र झण्डाको छपाईमा कमी भएपनि प्रतिबद्धतापत्र, घोषणापत्र, वाचापत्र लगायत छापिएको तिमिल्सिना बताउँछन् । ‘स्थानीय तहको निर्वाचनका लागि छापिएको स्टक पर्चा, ब्यानर र झण्डाले यसपटकको प्रचार धान्न सक्छ । अहिले नयाँ छपाई भन्दा स्टक सामान नै बिक्री गरिरहेका छौँ,’ उनले भने ।

त्यस्तै, अर्का छापाखाना व्यवसायी चुडामणि शर्मा पनि नेताहरुले झकिझकाउ प्रचार सामाग्री देखाएर भन्दा समान्य रुपमा प्रचार शैली अपनाउँदै गएको बताउँछन् । उनी भन्छन्, ‘पहिले सय जना जुलुमा निस्किए भने नब्बे जनाको हातमा झण्डा हुन्थ्यो । २-३ सयदेखि ८ सयसम्मको टिसर्ट बनाउँथे । त्यसमा एक हजार टिसर्ट बनायो भने पनि राम्रै पैसा खर्च गर्नुपर्ने हुन्छ । अर्को सस्तोमा सस्तो झण्डा १५ देखि २० रुपैयाँ पर्छ । अलिक राम्रो झण्डा ५० रुपैयाँ पर्छ ।’

‘मतदाताको घरघरमा एकएक झण्डा पुर्‍‍याउँदा पनि ठूलो रकम खर्च हुन्छ । चुनावको समयमा एकै व्यक्तिले ४-५ लाखभन्दा धेरै प्रचार सामाग्री बनाउँथे । तर, अहिले त्यो व्यापार १० हजारमा झरेको छ । उम्मेदवारको प्रचार सामाग्री डिजिटल माध्यममा रुपान्तरण भएको छ । त्यस कारण छापाखानाहरुले पनि आफ्नो स्वरुप डिजिटल बनाएर काम गर्नुपर्ने देखिन्छ,’ शर्माले भने ।

यसका साथै वातावरण संरक्षणप्रति बढ्दो सचेतनाले पनि कागजको अत्यधिक प्रयोगलाई निरुत्साहित गरेको जानकारहरु बताउँछन् । चुनावपछि सडक र सार्वजनिक स्थानमा थुप्रिएका पर्चाले फोहोर बढाउने गुनासोसमेत आउने गरेको छ ।

यद्यपि ग्रामीण क्षेत्रमा पर्चा र पोस्टरको प्रयोग पूर्ण रूपमा बन्द भने भएको छैन । इन्टरनेट पहुँच सीमित भएका ठाउँमा परम्परागत प्रचार शैली अझै प्रभावकारी मानिन्छ । यसरी प्रविधिको विकास, खर्च व्यवस्थापन र वातावरणीय चेतनासँगै चुनाव प्रचारमा पर्चा छपाइ क्रमशः घट्दै गएको देखिन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ४२ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२

एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ

काठमाडौं- दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा एमालेको

मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल

बागमती– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिने

रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु)

काठमाडौं- रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा